शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
क्रिकेट

पाकिस्तानले लियो इङ्ल्यान्डसँग हारको बदला, दोस्रो टेस्टमा १५२ रनले विजयी

शुक्रबार, ०२ कात्तिक २०८१, १३ : १०
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । पहिलो टेस्टमा लज्जास्पद हार भोगेको पाकिस्तानले दोस्रो खेलमा भने इङ्ल्यान्डलाई पराजयको स्वाद चखाएको छ । घरेलु टोली पाकिस्तानले दोस्रो टेस्टको चौथो दिन शुक्रबार इङ्ल्यान्डलाई एक सय ५२ रनले हराएको हो ।

पाकिस्तानको जितपछि तीन टेस्टको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । यसअघि पहिलो टेस्टमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । शृङ्खला अन्तर्गतको तेस्रो टेस्ट अक्टोबर २४ तारिखमा रावलपिण्डीमा सुरु हुनेछ ।

इङ्ल्यान्डको टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ४४ रन बनाउँदै अलआउट भयो । जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको इङ्ल्यान्डका लागि दोस्रो पालीमा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

इङ्ल्यान्डका दुवै ओपनर ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ज्याक क्रावली तीन र बेन डकेट शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान ओली पपले टोलीको खातामा २२ रन थपे ।

यसैगरी, अनुभवी ब्याट्सम्यान जो रुट पनि १८ रनभन्दा अगाडि बढ्न सकेनन् । ह्यारी ब्रुक १६ रनमै पेभेलियन फर्किए । लामो समयपछि टोलीमा फर्किएका नियमित कप्तान बेन स्टोक्सले ३७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथ ६ रनमै आउट भए । तल्लो क्रमका ब्याट्सम्यान ब्राइडन कार्स २७ रनमा आउट भए । र म्याथ्यू पट्सले अविजित नौ रन बटुले ।

घरेलु टोलीका बलर नोमन अली एक्लैले आठ विकेट लिए । टेस्ट क्रिकेटमा उनको यो उत्कृष्ट प्रदर्शन हो । ३८ वर्षीय नोमन अलीले पहिलो पालीमा पनि तीन विकेट लिएका थिए । दोस्रो पालीमा साजिद खानले पनि दुई विकेट हात पारे । ३१ वर्षीय साजिद खानले पहिलो पालीमा पनि सात विकेट हात पारेका थिए ।

दोस्रो टेस्टको तेस्रो दिनको खेलपछि दुवै टोलीका स्पिनरहरु हाबी भएका थिए । त्यसपछि खेल रोचक मोडमा पुगेको थियो । इङ्ल्यान्डले दुई विकेटको नोक्सानीमा ३६ रनको स्थितिबाट चौथो दिनको खेल अघि बढाएको थियो । तर, इङ्ल्यान्डका ब्याट्सम्यान पनि पाकिस्तानी स्पिनरसामु निरीह बन्न पुगे ।

त्यसअघि मुल्तानमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार पाकिस्तान आफ्नो दोस्रो पालीमा केवल दुई सय २१ रन बनाउँदै अलआउट भएको थियो । पाकिस्तानका अधिकांश ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् ।

दोस्रो पालीमा पाकिस्तानका लागि सलमान अघाले सर्वाधिक ६३ रन बनाएका थिए । उनले ८९ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । ३० वर्षीय सलमान अघाले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धसतक हो ।

साउद सकिलले ३१ रन बनाएका थिए । साजिद खानले टोलीको खातामा २२ रन थपेका थिए । कमरन घुलम २६ रन बनाउँदै आउट भएका थिए । ओपनर सइम अयुब पनि २२ रनभन्दा अगाडि बढ्न सकेका थिएनन् । मोहम्मद रिजवान २३ रनमा पेभेलियन फर्किएका थिए ।

पाकिस्तानी टोलीका कप्तान सान मसुद पनि ११ रनमै आउट भएका थिए । इङ्ल्यान्डका बलर सोएब बसिरले चार विकेट लिएका थिए । ज्याक लिचले पनि तीन विकेट हात पारेका थिए । ब्राइडन कार्सले पनि दुई विकेट कुम्ल्याएका थिए । म्याथ्यू पट्सले एक विकेट लिएका थिए ।  

त्यसअघि, पाकिस्तानले पहिलो पालीमा ७५ रनको अग्रता हासिल गरेको थियो । बिहीबार नै भ्रमणकारी टोली इङ्ल्यान्ड पहिलो पालीमा केवल दुई सय ९१ रन बनाउँदै अलआउट भएको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि ओपनर बेन डकेटले सतकीय योगदान गरेका थिए ।

उनले टोलीको खातामा एक सय १४ रन थपेका थिए । उनले एक सय २९ बलको सामना गरी १६ चौका पनि हिर्काएका थिए । ३० वर्षीय डकेटले टेस्ट क्रिकेटमा बनाएको यो चौथो सतक हो । पहिलो पालीमा पनि इङ्ल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन ।

जो रुट ३४ रन बनाउँदै आउट भएका थिए । ओली पपले २९ रन बनाएका थिए । ओपनर ज्याक क्रावलीले २७ रन बटुलेका थिए । तल्लो क्रमका ब्याट्सम्यान ज्याक लिच २५ रनमा अविजित रहेका थिए । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले २१ रन बटुलेका थिए ।

भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पाकिस्तानका बलर साजिद खान एक्लैले सात विकेट लिएका थिए । ३१ वर्षीय साजिद खानले २६.२ ओभरमा एक सय ११ रन खर्चिएका थिए । नोमन अलीले पनि तीन विकेट हात पारेका थिए ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले आफ्नो पहिलो पालीमा तीन सय ६६ रन बनाएको थियो । पाकिस्तानका लागि कमरन घुलमले एक सय १८ रनको योगदान गरेका थिए । २९ वर्षीय कमरन घुलमले आफ्नो ‘डेब्यू’ टेस्टमै सतक बनाएका हुन् । उनले दुई सय २४ बलमा एक छक्का र ११ चौका प्रहार गरेका थिए ।

पाकिस्तानका लागि ओपनर सइम अयुबले पनि ७७ रनको योगदान गरेका थिए । उनले एक सय ६० बलको सामना गरी सात चौका हिर्काएका थिए । २२ वर्षीय सइम अयुबले टेस्ट क्रिकेटमा बनाएको यो तेस्रो अर्धसतक हो ।

विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले पनि ४१ रन बनाएका थिए । आमेर जमालले ३७ रन र नोमल अलीले ३२ रन र सलमान अघाले ३१ रन बनाएका थिए । पहिलो पालीमा इङ्ल्यान्डका बलर ज्याक लिचले चार विकेट लिए । ब्राइडन कार्सले तीन र म्याथ्यू पट्सले दुई विकेट हात पारे ।

पहिलो टेस्टमा भने इङ्ल्यान्डले पाकिस्तानी टोलीलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । त्यो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले आफ्नो छनोट समिति र टोलीमा व्यापक परिवर्तन गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो टेस्टका लागि घोषित आफ्नो टोलीमा पूर्वकप्तान बाबर आजम, तीव्र गतिका स्टार बलर साहिन शाह अफरिदी र नसिम शाहलगायतका प्रभावशाली खेलाडीलाई समावेश गरेको थिएन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप