शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
बीमा

बाढी पहिरोका कारण बीमा कम्पनीमा ९ अर्ब मागदाबी, कुन कम्पनीमा कति ?

शुक्रबार, ०२ कात्तिक २०८१, १२ : ५७
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै ९ अर्बको मागदाबी परेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूका विभिन्न बीमालेख बापत असोज २९ गतेसम्म सो बराबरको मागदाबी परेको हो ।

बीमा प्राधिकरणमा सम्बन्धित कम्पनीले पठाएको मागदाबीसम्बन्धी विवरण अनुसार यसरी मागदाबी पर्नेमा १४ वटा इन्स्योरेन्स कम्पनी र चारवटा माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् । यो अवधिमा मागदाबी सम्बन्धी तीन हजार २४४ वटा निवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ ।  

  • कुन कम्पनीमा कति दाबी ?

निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै मागदाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा १ अर्ब ९५ करोड २९ लाखको मागदाबी परेको पाइएको छ । त्यस्तै, ओरियन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १ अर्ब ८ करोड ८६ लाख, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख, शिखर इन्स्योरेन्समा ९३ करोड ३६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६६ करोड १३ लाख र नेशनल इन्स्योरेन्समा ५६ करोड ४६ लाख रुपैयाँ बराबरको मागदाबी परेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्ससँग ३४ करोड ७४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३१ करोड ५३ लाख, एनएलजी इन्स्योरेन्समा १९ करोड ८ लाख, सानिमा जीआईसी इन्स्योरेन्समा १७ करोड ७६ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा १० करोड ९८ लाख, राष्ट्रिय बीमा कम्पनीमा १० करोड ६७ लाख, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख रुपैयाँको मागदाबी परेको छ ।

चार माइक्रोइन्स्योरेन्समध्ये स्टार माइक्रोइन्स्योरेन्समा ३५ लाख, ट्रस्ट माइक्रोइन्स्योरेन्समा १५ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा साढे ८ लाख र प्रोएक्टिभ माइक्रो इन्स्योरेन्समा साढे तीन लाख रुपैयाँ मागदाबी परेको छ ।

  • १७ करोड बराबर भुक्तानी

मागदाबी रकममध्ये अहिलेसम्म १७ करोड २८ लाख रुपैयाँ बराबरको ९७ वटा दाबीमा भुक्तानी समेत भइसकेको छ । यसरी दाबी भुक्तानीमध्ये शिखर इन्स्योरेन्सले मात्रै सबैभन्दा धेरै ८९ वटा दाबीमा १७ करोड २४ लाख ७१ हजार रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ ।

सानिमा जीआईसीले २ लाख १६ हजार रुपैयाँको एउटा, नेको इन्स्योरेन्सले ६६ हजार रुपैयाँ बराबरको चारवटा दाबी भुक्तानी दिँदा आईजीआईले ३९ हजार रुपैयाँ, हिमालयन एभरेष्टले २४ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ११ हजार रुपैयाँ बराबरको एक–एक वटा दाबी भुक्तानी दिएका छन् ।

  • क्षेत्रगत रूपमा यस्तो छ मागदाबी

अहिलेसम्म बीमा कम्पनीमा प्राप्त मागदाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गतको क्षतिमा दाबी परेको छ । सो बीमा अन्तर्गत मात्रै ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको दाबी प्राप्त भएको छ जुन करिब ७४ प्रतिशत बराबर हो यसमध्ये ४९ वटा दाबीमा १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

त्यस्तै, इञ्जिनियरिङ बीमा अन्तर्गत १ अर्ब ८४ करोडको मागदाबी हुँदा अहिलेसम्म कुनै पनि दाबी भुक्तानी हुन सकेको छैन । निजी मोटर बीमामा २३ करोड ७२ लाख मागदाबीमध्ये ३५ वटा दाबीमा ७८ लाख रुपैयाँ भुक्तानी भएको छ ।

सार्वजनिक मोटर बीमा अन्तर्गत यो अवधिमा १६ करोड ९४ लाख दाबीमध्ये ३५ लाख ५६ हजार, सामुन्द्रिक बीमामा २ करोड २० लाखमध्ये एउटा दाबीको ९ हजार र पशुपक्षी बीमामा १० करोड ११ लाखमध्ये ७ वटा दाबीमा ४ लाख रुपैयाँ भुक्तानी भएको छ । कृषि बाली बीमामा ११ करोड १२ लाख र अन्य बीमामा ५ करोड ४९ लाखको मागदाबी परेकोमा कुनै पनि भुक्तानी भएको छैन ।

  • उपत्यकामा मात्रै ८७ प्रतिशत दाबी

यसपटकको क्षतिमा परेको मागदाबीमध्ये सङ्ख्याको आधारमा काठमाडौँ उपत्यकामा ८७ प्रतिशत भन्दा धेरै दाबी परेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै २ हजार ५१३ वटा दाबी परेको हो । यसमध्ये काठमाडौँमा १ हजार ७३१ वटा, ललितपुरमा ६४६ वटा र भक्तपुरमा १३६ वटा दाबी परेको उल्लेख गरिएको छ ।

रकमको आधारमा तीन जिल्लामा ६ अर्ब ६७ करोड रुपैयाँ (७४ प्रतिशत) बराबरको मागदाबी रहेकोमा जम्मा १६ करोड २७ लाख रुपैयाँ (९४ प्रतिशत) भुक्तानी भएको छ । यसबाहेक चितवनमा ६४ करोड ५८ लाख, मकवानपुरमा ५१ करोड ७४ लाख, काभ्रेमा ३३ करोड ७५ लाख रुपैयाँ र सङ्खुवासभामा १४ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ । यो अवधिमा सात प्रदेशका ५४ जिल्लाबाट मागदाबी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप