शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

साफ महिला च्याम्पियनसिप : पाँचपटकको उपविजेता नेपाल आज भुट्नसँग भिड्दै

शुक्रबार, ०२ कात्तिक २०८१, ०९ : ५७
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा शुक्रबार समूह ‘बी’ अन्तर्गतको दुई खेल खेलिँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलिने पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो १३ः३० बजे सुरु हुनेछ ।

शुक्रबारको दोस्रो खेलमा भने घरेलु टोली नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबिचको खेल नेपाली समय अनुसार, साँझ १७ः३० बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो ।

नेपाल र भुटान दुवैले सन् २०१० मा बङ्गलादेशको कक्स बजारमा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउँदै आएका छन् । नेपाल र भुटान दुवैले हालसम्म यो प्रतियोगिताको उपाधि भने चुम्न सकेका छैनन् ।

तर, प्रतियोगिताको इतिहासलाई हेर्दा भुटानभन्दा नेपाल निकै बलियो देखिन्छ । नेपाली टोली हालसम्म पाँचपटक प्रतियोगिताको उपविजेता बनिसकेको छ । यसको विपरीत भुटान एकपटक प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको छ ।   

  • श्रीलंकाविरुद्ध माल्दिभ्स (१३ः३० बजे, दशरथ रङ्गशाला)
  • नेपालविरुद्ध भुटान (१७ः३० बजे, दशरथ रङ्गशाला)

नेपाली टोलीको उपाधि यात्रामा हालसम्म चारपटक भारत र एक पटक बङ्गलादेश तगारो बनेको छ । सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो संस्करणको फाइनलमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । त्यतिबेला फाइनलको ६५औँ मिनेटमा भारतले निर्णायक गोल गरेको थियो ।

यसैगरी, सन् २०१२ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले पराजित गरेको थियो । सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो संस्करणमा पनि नेपाल लगातार तेस्रो पटक फाइनलमा पुगेको थियो ।

maila football2

तर, तेस्रो संस्करणको फाइनलमा पनि भारतले नै नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०१६ मा सिलिगुडीमा सम्पन्न चौथो संस्करणमा भने नेपाल सेमिफाइनलमै पराजित भएको थियो ।

साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो । नेपाल र भुटान दुवैले सन् २०१० मा बङ्गलादेशको कक्स बजारमा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएका छन् । नेपाल र भुटान दुवैले हालसम्म यो प्रतियोगिताको उपाधि भने चुम्न सकेका छैनन् । तर, नेपाली टोली हालसम्म पाँचपटक प्रतियोगिताको उपविजेता बनिसकेको छ । यसको विपरीत भुटान एकपटक प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको छ ।

त्यो संस्करणको सेमिफाइनलमा पनि भारतले नै नेपाललाई ३–१ गोलले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा बङ्गलादेशले माल्दिभ्समाथि ६–० गोलको सजिलो जित हात पारेको थियो । त्यो संस्करणको फाइनलमा भने भारतले बंगलादेशलाई ३–१ गोलले हराउँदै लगातार चौथो पटक उपाधि चुमेको थियो ।

प्रतियोगिताको पाँचौँ संस्करण भने सन् २०१९ मा नेपालमै आयोजना भएको थियो । यो संस्करण विराटनगरमा खेलाइएको थियो । यसपटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको थियो । तर, यसपटक पनि नेपालको उपाधि यात्रामा भारत नै तगारो बन्न पुग्यो । फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको थियो ।

प्रतियोगिताको छैटौँ संस्करण पनि सन् २०२२ मा नेपालमै आयोजना भएको थियो । प्रतियोगिताका खेलहरु काठमाडौँको दशरथ रङ्गशालामा खेलाइएको थियो । यो संस्करणमा भने सेमिफाइनल खेलमै भारतलाई १–० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

maila3

अर्को सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोलको विशाल अन्तरले पाखा लगाएको थियो । तर, यसपटक पनि नेपालको उपाधि जित्ने सपना साकार हुन सकेन । प्रतियोगिताको फाइनलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

यस अर्थमा नेपाल साफ महिला च्याम्पियनसिपमा उपाधिको सदाबहार दाबेदारका रुपमा झुल्कँदै आएको छ । तर, हालसम्म उपाधि भने जित्न सकेको छैन । यसपटक लगातार तेस्रो पटक नेपालमा साफ महिला च्याम्पियनसिप आयोजना भएको हो ।

यसपटक पनि नेपाललाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ । प्रतियोगिताको सातौँ संस्करणमा सातवटा राष्ट्र सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा भने साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् ।

पहिलो चरणको समाप्तिपछि दुवै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अक्टोबर २७ तारिखमा खेलिने छ । फाइनल खेल भने अक्टोबर ३० तारिखमा खेलिने छ ।

maila4

जारी साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा एन्जिलाका अतिरिक्त अञ्जना रानामगर र उषा नाथले पनि गोलरक्षकका रुपमा स्थान पाएका छन् । डिफेन्डरका रुपमा गीता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला बिक, हिराकुमारी भुजेल र सजनी थोकरलाई समेटिएको छ । 

यसैगरी, मिडफिल्डरका रुपमा रेणुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी रहेका छन् । टोलीमा अग्रपँक्तिको खेलाडीका रुपमा रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारीले स्थान पाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप