शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

अमेरिकालाई उसैको घरमा हरायो नेपालले

शुक्रबार, ०२ कात्तिक २०८१, ०९ : २४
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार खेलिएको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा आयोजक अमेरिकालाई १७ रनले हराएको छ ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको योगदान गरे । उनले केवल ३३ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । २२ वर्षीय रोहित केवल एक रनका कारण आठौँ टी–२० अन्तर्राष्ट्रिय अर्धसतक पुरा  गर्नबाट चुके ।

त्यसअघि ओपनर ब्याट्सम्यान अनिल साह र आसिफ शेखले टोलीका लागि ४८ रनको साझेदारी गरेका थिए । अनिल साहले टोलीको खातामा २७ रन थपे । उनले केवल १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले पनि २७ रन बनाए । उनले २७ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि टोलीका लागि २८ रनको योगदान गरे । उनले केवल १७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे ।

gulsan

गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बटुले । अमेरिकी टोलीका बलर सौरव नेत्रवाल्कर, जसदीप सिंह र हर्मित सिंहले दुई–दुई विकेट लिए । जावफी ब्याटिङमा ओर्लिएको अमेरिकाका लागि सायन जहाँगिरले उत्कृष्ट अर्धसतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

उनले अविजित ६० रन बनाए । उनले केवल ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसले पनि टोलीको खातामा ३० रन थपे । मिलिन्द कुमारले २२ रन बनाएका थिए ।

यसैगरी, जसदीप सिंहले १६ रन बटुले । नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । उनले तीन ओभरमा २७ रन खर्चिए । रिजन ढकाल, करण केसी र गुल्सन झाले पनि एक–एक विकेट हात पारेका थिए । खेलमा दीपेन्द्र सिंह ऐरी म्यान अफ दि म्याच घोषित भए । 

लिग–२ सुरु हुनुअघि नेपालले अमेरिकासँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । नेपाल र अमेरिकाबिचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आइतबार बिहान र तेस्रो खेल सोमबार बिहान खेलिने छ । तीनवटै खेल नेपाली समय अनुसार, एउटै समयमा सुरु हुनेछ । अभ्यास खेल टी–२० ढाँचमा खेल्न लागिए पनि लिग–२ प्रतियोगिता भने एकदिवसीय ढाँचामा हुनेछ ।

अमेरिकामा खेलिने लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपाली टोलीबाट सुधारिएको प्रदर्शनको आशा गरिएको छ । लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डको सामना गर्नेछ ।

यी दुवै राष्ट्रसँग नेपालले दुई–दुई खेल खेल्नेछ । शृङ्खलाको पहिलो खेल अक्टोबर २५ तारिखमा अमेरिका र स्कटल्यान्डबिच खेलिने छ । नेपालले भने अक्टोबर २७ तारिखमा आफ्नो पहिलो खेल अमेरिकासँग र अक्टोबर २९ तारिखमा दोस्रो खेल स्कटल्यान्डसँग खेल्नेछ ।

fan

नेपालले तेस्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासँग र चौथो तथा अन्तिम खेल नोभेम्बर ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ शृङ्खला सकिएलगत्तै सहभागी तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । तर, टी–२० अन्तर्राष्ट्रिय शृङ्खला भने लिग–२ को अङ्ग होइन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप