शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन् ?

शुक्रबार, ०२ कात्तिक २०८१, ०४ : १०
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए । 

उक्त आक्रमणपछि नै इजरायलले हमासविरुद्ध फायर खोलेको थियो । हमासले गरेको आक्रमणमा कम्तीमा १२ सय इजरायलीको मृत्यु भएको थियो भने त्यसयता इजरायलले ४२ हजारभन्दा धेरैको ज्यान लिने गरी हमला गरिसकेको छ । यही क्रममा हमासका राजनीतिक प्रमुख नै मारिएका हुन् । 

यसअघि हमासको प्रमुख इस्मायल हानिया थिए । गत जुलाईमा उनी मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिएका थिए । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । 

सिनवार चरमपन्थी नेता मानिन्छन् । उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयासहरू असफल भएको बताइन्छ । सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा 'मज्द'का संस्थापक पनि थिए।

सिनवार तीन पटक पक्राउ परेका थिए। सन् १९८२ मा इजरायली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो। सन् २०११ मा इजरायलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो। त्यसमा याह्या सिनवार पनि परेका थिए।

इजरायली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बने। उनको आतंककारी प्रवृत्तिलाई लिएर विश्व समुदाय आतंकित थियो। अमेरिकाले उनलाई सन् २०१५ मा 'अन्तर्राष्ट्रिय आतङ्ककारी' को सूचीमा राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप