शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
इजरायल-हमास द्वन्द्व

हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?

शुक्रबार, ०२ कात्तिक २०८१, ०२ : १६
शुक्रबार, ०२ कात्तिक २०८१

जेरूसेलम । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि मानिएको छ । 

सिनवारको मृत्युमा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव मनाइरहेका छन् । 

सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् । त्यस क्षेत्रमा ठूलो स्वरमा संगीत घन्काइएको छ । 

सर्वसाधारणले सिनवारलाई एक आतंककारीकारुपमा लिएको र उनको मृत्युलाई वर्तमान युद्धको अन्त्यको सकेतका रुपमा व्याख्या गरिरहेका बीबीसीले उल्लेख गरेको छ । 

युद्ध रोकिन सक्ने सम्भावनालाई लिएर इजरायली नागरिकमाझ खुसीयाली छाएको छ । 
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि इजरायली सेनाको आक्रमणमा सिनवार मारिएको पुष्टि गरेको थियो । 

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । 

सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ। सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो। 

उक्त आक्रमणका मुख्य योजनाकार रहेका सिनवार नै मारिएपछि इजरायलले यसलाई विजयी उत्सवकोरुपमा लिएको र अब युद्ध नै अन्त्य हुन सक्ने बीबीसीको विश्लेषण छ । तर इजरायली प्रधानमन्त्री नेतान्याहूले भने युद्ध अझै पनि जारी रहेको बताएका छन् । अझैपनि गाजा, प्यालेस्टाइन र लेबनानमा हवाइ आक्रमणहरू रोकिएका छैनन् । 

इजरायली आक्रमणमा मारिएका सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ ।
 
यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवार समेत मारिएपछि हमासलाई निकै ठूलो झट्का लागेको छ । सिनवार पहिलोपटक सन् २०१३ मा हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए। त्यसको चार वर्षपछि उनी गाजा क्षेत्रको नेता भए। 

समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी हमासको प्रमुख समेत भए । त्यसयता उनी इजरायली सुरक्षा अधिकारीको निसानामा थिए । हमासको राजनीतिक प्रमुख भएपनि सिनवारले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप