शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : गौशाला विवादको नालीबेलीदेखि सरकार ढल्ने चर्चासम्म

शुक्रबार, ०२ कात्तिक २०८१, ०० : ००
शुक्रबार, ०२ कात्तिक २०८१

पछिल्लो २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातको १२ बजे रातोपाटीको रात्रिकालीन श्रृंखला ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. पशुपति गौशाला विवाद

‘पशुपति गौशाला धर्मशाला’ सञ्चालन तथा व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच असोज २२ मा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएसँगै सुरु भएको विवाद थप चर्किंदै गएको छ ।

पशुपति क्षेत्र विकास कोष परिषदका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेकै अध्यक्षतामा असोज २० गते बसेको ‘कोष सञ्चालक परिषद्’ बैठकको सहमतिअनुसार महानगरपालिकासँग एमओयू भए पनि त्यसको कार्यान्वयनमा अवरोध हुँदा अन्योल सिर्जना भएको हो । यहीबीचमा बिहीबार मन्त्री पाण्डेले सहमति कार्यान्वयन स्थगित गर्न कोषलाई पत्राचार गरेका छन् । यसबारेमा रातोपाटीका विस्तृतमा विशेष समाचारहरु प्रकाशित भएका छन् ।

 

२. विपद् व्यवस्थापन समितिको निर्णय

राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको समितिको बैठक राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

 

३. तीन दलको निर्णय

शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दलबिच समझदारी भएको छ ।

 बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्षसहितका नेताहरूको बैठकले सर्च कमिटीलाई पूर्णता दिने समझदारी गरेको हो । सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले सर्च कमिटीलाई पूर्णता दिनेछ ।

२०८० चैत ३० गते प्रचण्ड नेतृत्वको सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी सर्च कमिटी गठन गरेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएपनि पूर्णता दिन बाँकी रहेको थियो ।

त्यतिबेला समितिको सदस्यमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठन प्रक्रिया अगाडि बढाउने विषयमा दलहरूबिच समझदारी भएको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

 

४. आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने निर्णय गरेको हो ।

 

५. अघि बढ्दै सामाजिक सञ्जाल विधेयक

सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमावलीका लागि आवश्यक विधेयक अघि बढाएको छ ।  सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा करिब एक वर्षदेखि विचाराधीन रहेको ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) विधेयकलाई सरकारले अघि बढाएको हो ।

उक्त विधेयक केही दिनअघि मन्त्रिपरिषद्को विधेयक शाखामा पुगेको छ । मन्त्रिपरिषद्ले पास गरे लगत्तै उक्त विधेयक संसद् सचिवालयमा दर्ता हुनेछ ।  संसद्मा दर्ता भएपछि यसलाई फास्ट ट्र्याकमा अघि बढाउने सरकारको तयारी छ ।

 

६. कोसीको न्युनतम साझा कार्यक्रम

कोशी प्रदेश सरकारका साझेदार दुई पार्टी कांग्रेस र एमालेले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा बिहीबार उक्त कार्यक्रम सार्वजनिक भएको हो ।

कार्यदलले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई संयुक्त रूपमा उक्त नीति तथा कार्यक्रम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्राकृतिक तथा मानव सिर्जित विपदबाट हुनसक्ने क्षतिको रोकथाम र क्षति भएका संरचनाको मर्मत सम्भार तथा पुनःनिर्माण  गर्न दीर्घकालीन प्रकृतिको एक कोष स्थापना गरी व्यवस्थित ढङ्गले कोषको सञ्चालन गर्ने, विपत्तिमा उद्धार, राहत निर्माण पुनः निर्माण मर्मत तथा सम्भार जस्ता उत्पन्न हुने परिस्थिति देखिएमा वा त्यस्तो परिस्थितिबाट धनजन र भौतिक पूर्वाधारको क्षतिको व्यवस्थापनका लागि प्रदेश सरकार चालु आर्थिक वर्षको कतिपय पुँजीगत कार्यक्रमको स्थगन र चालु खर्चमा कटौती गरी त्यसबाट प्राप्त हुने रकमलाई विपद् भौतिक पूर्वाधार निर्माण तथा पुनः निर्माण कोषमा प्रदेश सरकारको तर्फबाट निकासा गरी विपद्बाट भएका क्षतिको निर्माण तथा पुनः निर्माण कार्यलाई अघि बढाइने उल्लेख छ ।

 

७. राजस्व संकलनको अवस्था

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन भएको छ । सरकारले यो अवधिमा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व उठाएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

 

८. सेयर बजार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार सात सय ४५ दशमलव ३६ मा पुगेको छ ।

 

थप आर्थिक समाचार

 

९. पुबुदु बने मेन्टर

नेपालका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई सिरिजका लागि राष्ट्रिय टोलीको मेन्टर नियुक्त भएका छन् ।  दशानायके बिहीबार राष्ट्रिय टोलीको मेन्टर नियुक्त भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

 

१०. विशेष अधिवेशनको सवाल

प्रतिपक्षमा रहेका दलहरू संसद्को विशेष अधिवेशन बोलाउने सम्बन्धमा एकमत छैनन् । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदनको विशेष अधिवेशन बोलाउनुपर्ने पक्षमा छ । रास्वपाले विशेष अधिवेशन माग गर्दै विज्ञप्ति जारी गरेको छ । तर, विशेष अधिवेशनको विषयमा अन्य विपक्षी दलहरू भने अन्योलमा छन् ।

११. भारत र क्यानडाबिचको चर्किँदो द्वन्द्व

भारत र क्यानडाबिचको द्वन्द्व चर्किँदै गइरहेको छ । दुवै देशले एक अर्का देशको कूटनीतिज्ञलाई फिर्ता पठाइरहेका छन् । दुवै देशले अहिले एक अर्काको नागरिकलाई भिसा दिन पनि बन्द गरेका छन् भने व्यापार सम्झौतासमेत प्रभावित भएका छन् ।

नेपाल र क्यानडाबिच ६० वर्षको कूटनीतिक सम्बन्ध छ । नेपाली विद्यार्थीका लागि क्यानडा राम्रो गन्तव्य बनेको छ । थोरै भए पनि व्यापार र अनुदानमा क्यानडेली सहयोग जारी छ । तर भारत र क्यानडाबिच बढ्दै गएको द्वन्द्वले नेपाल–क्यानडा सम्बन्धमा पर्ने असरबारे यतिबेला चर्चा हुन थालेको छ ।

 

१२. सरकार ढल्ने चर्चा

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमतिको जगमा सोही महिनाको अन्तिममा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिना पार गरेको छ ।

राजनीतिक स्थायित्व, सुशासन र संविधान संशोधन गर्ने एजेण्डा अघि सारेर मुलुकका दुई ठुला दल कांग्रेस र एमालेसहित अन्य साना दल समेतको समर्थनमा सरकार बनेको हो । संसदीय अङ्कगणितमा ओली नेतृत्वको सरकार निकै बलियो देखिए पनि तीन महिनाकै बिचमा सरकार परिवर्तनबारे चर्चा हुन थालेको छ ।

 

थप सामग्री

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप