शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
लिग–२ अघि टी–२० अन्तर्राष्ट्रिय शृङ्खला

अमेरिकाविरुद्ध नेपालकाे सुधारिएको प्रदर्शनको आशा

बिहीबार, ०१ कात्तिक २०८१, २२ : ०९
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्न क्यानडाबाट अमेरिका पुगेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले अमेरिकी राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्न लागेको हो ।

लिग–२ सुरु हुनुअघि नेपालले अमेरिकी टोलीसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । त्यसैमध्येको पहिलो खेल नेपाली समय अनुसार, शुक्रबार बिहान ०५ः४५ बजे सुरु हुन लागेको हो । खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा खेलिने छ ।   

नेपाल र अमेरिकाबिचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल नेपाली समय अनुसार, आइतबार बिहान र तेस्रो खेल सोमबार बिहान खेलिने छ । तीनवटै खेल नेपाली समय अनुसार, एउटै समयमा सुरु हुनेछ । अभ्यास खेल टी–२० ढाँचामा खेल्न लागिए पनि लिग–२ प्रतियोगिता भने एकदिवसीय ढाँचामा हुनेछ ।

जारी लिग–२ प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन भने उत्साहजनक देखिएको छैन । लिग–२ अन्तर्गत नेपालले हालसम्म दुईवटा शृङ्खला खेलिसकेको छ । नेपालले आफ्नो पहिलो शृङ्खला घरेलु मैदानमै खेलेको थियो । दोस्रो शृङ्खला भने क्यानडामा खेलेको थियो ।

त्यसपछि नेपाली टोली तेस्रो शृङ्खला खेल्न अमेरिका पुगेको हो । घरेलु मैदानमा खेलिएको पहिलो शृङ्खलामा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो । त्यो शृङ्खलामा नेपालको प्रदर्शन निराशाजनक थियो । नेपाली टोलीले आफूले खेलेको चारमध्ये केवल एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो ।

यसैगरी, क्यानडामा खेलिएको आफ्नो दोस्रो शृङ्खलामा पनि नेपाली टोलले अपेक्षा अनुरूपको प्रदर्शन गर्न सकेको थिएन । क्यानडा भ्रमणका क्रममा खेलिएको चारमध्ये तीन खेलमा नेपाली टोली पराजित भयो । नेपालको अन्तिम खेल भने वर्षाबाट प्रभावित भयो । वर्षाका कारण नेपाल र ओमानबिचको खेल सुरु नै हुन सकेन । त्यसपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका थिए ।  

गतिलो तयारी र उच्च मनोबलसहित क्यानडा र अमेरिका भ्रमणमा निस्किएको नेपाली टोलीले आफ्नो दोस्रो शृङ्खलाबाट अधिकतम आठ अङ्क बटुल्न सक्ने सम्भावना थियो । यो शृङ्खलामार्फत नेपाली टोली अङ्क तालिकामा माथि उक्लन सक्ने सम्भावना थियो । तर, नेपालको प्रदर्शन सन्तोषजनक रहेन ।

अमेरिकामा खेलिने लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा भने नेपाली टोलीबाट सुधारिएको प्रदर्शनको आशा गरिएको छ । लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डको सामना गर्नेछ ।

यी दुवै राष्ट्रसँग नेपालले दुई–दुई खेल खेल्नेछ । शृङ्खलाको पहिलो खेल अक्टोबर २५ तारिखमा अमेरिका र स्कटल्यान्डबिच खेलिने छ । नेपालले भने अक्टोबर २७ तारिखमा आफ्नो पहिलो खेल अमेरिकासँग र अक्टोबर २९ तारिखमा दोस्रो खेल स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालले तेस्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासँग र चौथो तथा अन्तिम खेल नोभेम्बर ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ शृङ्खला सकिए लगत्तै सहभागी तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । तर, टी–२० अन्तर्राष्ट्रिय शृङ्खला भने लिग–२ को अङ्ग होइन ।

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकाविरुद्धको शृङ्खलाका लागि क्यानद्वारा घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देब खनाल पनि रिजर्भ खेलाडीका रूपमा छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा जगत नै टोलीका प्रमुख प्रशिक्षक थिए ।

हाल लिग–२ तालिकामा १२ खेल खेलेको क्यानडा आठ जित र चार हारबाट १६ अङ्क बटुल्दै पहिलो स्थानमा आसीन छ । आठ खेल खेलेको अमेरिका ६ जित र दुई हारबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको नेदरल्यान्ड्स पनि १२ अङ्कसहित तेस्रो स्थानमा छ ।

यसैगरी, १२ खेल खेलेको नामिबिया पाँच जित र सात हारबाट १० अङ्क जोड्दै चौथो, सात खेल सकेको स्कटल्यान्ड नौ अङ्कसहित पाँचौँ, आठ खेल खेलेको ओमान ६ अङ्कसहित छैटौँ र आठ खेल खेलेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छन् । आठौँ स्थानमा आसीन संयुक्त अरब इमिरेट्स (यूएई) ले भने सात खेलबाट दुई अंकमात्र बटुल्न सकेको छ ।

लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । जारी लिग–२ शृङ्खलामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । विश्वकप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् । त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप