बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दैछ : युक्रेन

बिहीबार, ०१ कात्तिक २०८१, २१ : ०८
बिहीबार, ०१ कात्तिक २०८१

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताएका छन् ।
उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाएका थिए तर उनले दिएको यति ठूलो सङ्ख्या यो पहिलो पटक हो । 

जेलेन्स्कीले ‘हाम्रो खुफिया निकायबाट प्राप्त जानकारी’ का आधारमा अनिर्दिष्ट सङ्ख्यामा उत्तर कोरियाली सैनिक यसअघि नै ‘रुसी शत्रुहरूको तर्फबाट कब्जा गरिएको युक्रेनी भूमिमा’ थिए भनेका छन् ।  “उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ”, उनले युरोपेली सङ्घ (इयु) का नेताहरूसँगको वार्तापछि ब्रसेल्समा पत्रकारहरूलाई भने । 

जेलेन्स्की रुस विरुद्धको युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन माग्दै ब्रसेल्समा इयुका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी भएका थिए ।  उनका अनुसार उत्तर कोरियाली सैनिकहरूमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन् ।

“यो विश्वयुद्धको पहिलो कदम हो”, इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्रहरू’ सहयोग गरिरहेको उल्लेख गर्दै उनले चेतावनी दिए । उक्त दाबीलाई तेहरानले बारम्बार अस्वीकार गर्दै आएको छ ।  परिचालनसँग डराउने भएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली सैनिकहरूमा भर परिरहेका उनले बताए । 

जेलेन्स्कीले आफ्नो पहलको प्रचार गर्न यसै महिनाको प्रारम्भमा वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनसहित पश्चिमी राजधानीहरूको तीव्र दौडाहा गरेका थिए । रुसी सेनाले युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्रहरू तैनाथ गरिरहेको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् तर मस्को र प्योङयाङले अस्वीकार गरेका छन् । 

पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्दा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक  रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।  मस्को र प्योङयाङ दोस्रो विश्वयुद्धपछि उत्तर कोरियाको स्थापनादेखि नै सहयोगी रहेका छन् र सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अझ नजिक भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप