बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा  बुद्धमाई अस्पताललाई १ लाख जरिवाना

बिहीबार, ०१ कात्तिक २०८१, २० : १४
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो । 

२०८० फागुन ११ गते पहिलो पटक अनुगमन भएको थियो । त्यस दिन नर्सिङ स्टेसनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरूमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग सङ्केतसहितको बाल्टिनहरू फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरियो । 

चैत ६ गते महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैँ सहभागी भएका थिए ।  

तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो । अवस्था पहिलेको भन्दा फरक थिएन । हानिकारक फोहोर र सामान्य फोहर एकै ठाउँमा थियो । हानिकारक फोहरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताए ।

उनको कुराको तथ्य जाँच गर्न वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भयो । कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानिकारक फोहोर मोडेल लैजाने गरिएको बताएका थिए । अनुगमन टोलीले गलत सूचना प्रवाह नगर्न सचेत गरायो । 

२०८१ वैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर सङ्कलन गर्न गएको सवारी चालकले सामान्य फोहरमा सङ्क्रमित फोहर देखेपछि फोहर सङ्कलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । 

अनुगमनका क्रममा गएको भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भयो । यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । अटोक्लेभ मेसिन थिएन । फोहर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन । यसो भएपछि अनुगमन टोलीले, हानिकारक फोहोर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो । 

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ हेर्नका लागि आज टोली फेरि अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा बाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो । अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन थिएन । 

यसअघि थुपारिएको फोहरका खोइ त ? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताएका थिए । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर सङ्कलन गर्ने सवारी साधनका चालकलाई बोलाएको थियो । चालक आएपछि तण्डुकारले बोली फेरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप