सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

हेटौँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरी

बिहीबार, ०१ कात्तिक २०८१, २० : ०२
बिहीबार, ०१ कात्तिक २०८१

हेटौँडा । हेटौँडामा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरी भएको छ । एक साता अघि उद्योगको करिब १० लाख रुपैयाँ पर्ने तामाको तार चोरी भएको हो । 

उद्योग सञ्चालन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले फूलपातीको एक दिन अघि २२ गते राति २ बजेतिर उद्योग परिसरबाटै तामाको तार चोरी भएको जानकारी दिए । उनले घटनाका बारेमा जानकारी पाएपछि भोलिपल्टै प्रहरीलाई मौखिक रूपमा जानकारी गराएको बताए ।

घटना भएको एक साता बितिसक्दा समेत चोरीमा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । उनले मङ्गलवार पुनः जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको र घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताए । 

अध्यक्ष भण्डारीका अनुसार ढुङ्गा क्रसिङ गर्ने स्थानबाट उद्योगसम्म कङ्क्रिट ओसार्न प्रयोग गरिने तामाको तार चोरी भएको हो । उनले एकसय मिटर जति तार चोरी भएको जानकारी दिए । चोरी भएको तारको मूल्य कति पर्छ भन्ने विषयमा आफूले यकिनका साथ भन्न नसके पनि कम्तीमा ८/१० लाख रुपैयाँ पर्ने उद्योगका प्राविधिकले जानकारी दिएको उनको भनाई छ ।

‘उद्योगको सुरक्षाको लागी बज्र सेक्युरिटी कम्पनीलाई जिम्मेवारी दिइएको छ । सेक्युरिटी कम्पनीको कमजोरीका कारण चोरी भएको हो । हामीले उनीहरुलाई पनि यस विषयमा जानकारी गराइसकेका छौँ । सेक्युरिटी कम्पनीका तर्फबाट छानबिन भइरहेको छ’ उनले भने ।

यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले घटनाको बारेमा आफूहरूलाई बुधवार जानकारी आएको र अनुसन्धान थालेको बताए । उनले घटना राती २ बजेतिर भएको सेक्युरिटी गार्डहरूले बताएको उनको भनाई छ । उद्योग सुरक्षार्थ खटिएका गार्डका अनुसार ७– ८ जनाको समूहमा आएका नचिनेका व्यक्तिहरूले चोरी गरेको प्रवक्ता अर्यालले बताए ।

‘मानिसहरू उद्योग परिसरमा प्रवेश गरेको थाहा पाएपछि होहल्ला गरेर भए पनि मानिसहरू एकजुट गर्नुपर्ने थियो । तर सेक्युरिटीका मानिसहरू चुपचाप  बस्नु शङ्कास्पद छ’ उनले भने । प्रहरी प्रवक्ता अर्यालले सेक्युरिटी गार्डलाई पनि घटनाको बारेमा सोधपुछको दायरामा ल्याइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप