शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
धर्मशाला विवाद

मन्त्री पाण्डेको हस्तक्षेपछि यसरी मत्थर भयो गौशाला क्षेत्रको तनाव (भिडियो)

बिहीबार, ०१ कात्तिक २०८१, १९ : ४२
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । ‘काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’

मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको पशुपति गौशाला धर्मशालाको गेटमा काठमाडौँ महानगरपालिकाले राखेको फ्लेक्स ब्यानरमा लेखिएका विवरण हो यो ।

अघिल्ला दिनहरूमा यही ब्यानर राख्न र मारवाडी सेवा समितिको स्वामित्व हटाउने विषयमा महानगर प्रहरी, मारवाडी सेवा समितिका सदस्यहरूबिच घम्साघम्सीको अवस्था थियो । शान्ति सुरक्षामा खलल पर्ने भन्दै स्थिति नियन्त्रणमा लिन प्रहरी पठाएर सरकारले सो स्थललाई आफ्नो कब्जामा लिएको थियो ।

बुधबार र त्यसअघिका दिनहरूमा तनाव भएको पशुपति गौशाला क्षेत्र बिहीबार भने अपेक्षाकृत शान्त थियो । यद्यपि सरकारले ठुलो सङ्ख्यामा सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको थियो । पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर बाहिर एक ट्रक सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

यता काठमाडौँ महानगर प्रहरी बलको एक समूह पनि धर्मशाला छेउमा बसेको थियो । केहीबेरपछि उनीहरू जयवागेश्वरीमा रहेको वडा नम्बर ८ को कार्यालय परिसरमा फर्किएका थिए ।

अघिल्लो दिन धर्मशालाभित्र धर्नामा बसेका मारवाडी सेवा समितिका सदस्यहरू बिहीबार भने धर्नामा बसेनन् । धर्मशालाको मुख्य गेटमा बुधबार नेपाल प्रहरीले लगाएको ताला यथावत् थियो । धर्मशालाभित्र एकदुई जना मारवाडी समुदायका मानिस देखिन्थे ।

दिउँसो साढे २ बजेदेखि धर्नामा बस्ने भने पनि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका थिए । मारवाडी सेवा समिति नेपाल अन्तर्गत १९९७ सालदेखि सञ्चालन गर्दै आएको पशुपति गौशाला धर्मशाला, काठमाडौँ बचाउ अभियान भन्दै उनीहरूले केही दिन यता धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन् ।

मारवाडी सेवा समितिले सो जग्गा आफूले बहालमा लिएको नभइ मोहीका रूपमा भोगचलन गर्दै आएको दाबी गरेको छ । समितिले सो जग्गाको लालपुर्जाको फ्लेक्स बनाइ गौशाला धर्मशालाको बाहिर तथा भित्र टाँसेको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न भन्दै पशुपति क्षेत्र विकास कोषलाई लेखेको पत्र पनि समितिले ठाउँठाउँमा टाँसेको छ ।

प्रहरीले गेटमा ताला लगाए पनि धर्ना, आन्दोलनका कार्यक्रम नरोक्ने मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद कुमार अग्रवालले बताए ।

देशभरि छरिएर रहेका मारवाडी समुदाय धर्मशालाको विषयमा आन्दोलित भएको बताउँदै उनले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए । मारवाडी सेवा समितिबाट गौशाला धर्मशाला खोस्ने कार्य नरोकिएसम्म आन्दोलन जारी राख्ने उनको चेतावनी छ ।

  • मन्त्रीको पत्रपछि ‘ब्याक’ भए पशुपति क्षेत्रविकास कोष र काठमाडौँ महानगरपालिका

असोज ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषलाई मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकालाई जिम्मा दिने निर्णय यथास्थितिमा राख्न भन्दै पत्र काटेपछि कोष पछिहटेको छ । साथै कोषका पदाधिकारीले काठमाडौँ महानगरपालिकालाई पनि त्यसको जानकारी गराएका छन् ।

कोषको सञ्चालक परिषदले गत असोज २० गते गौशाला धर्मशालाको हेरबिचार र सञ्चालनको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिने निर्णयपछि पशुपतिनाथको मन्दिर आसपासको क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै सो निर्णयलाई यथास्थानमा राख्न मन्त्री पाण्डेले निर्देशन दिएका हुन् । उनले असोज ४ गते सोही विषयमा छलफलका लागि कोषको सञ्चालक परिषदको बैठक बोलाएका छन् । मन्त्री पाण्डे कोषको सञ्चालक परिषदको अध्यक्ष हुन् । सो पत्रको सन्देश कोषका पदाधिकारीले महानगरपालिकालाई पठाएपछि सो स्थानबाट उसले नगरप्रहरी बल हटाएको छ ।

अर्को सञ्चालक परिषदको बैठकसम्म केही नगर्न मन्त्रालयले भनेपछि गौशाला धर्मशाला खाली गराउने काम तत्कालका लागि स्थगित भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए । मन्त्रीको पत्र आएपछि त्यसबारे काठमाडौँ महानगरपालिकासँग कुराकानी र समन्वय भइरहेको उनले उल्लेख गरे ।

  • मारवाडी सेवा समिति मोही हो : पूर्वकोषाध्यक्ष वैद्य   

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा बागमती प्रदेश सभाका पूर्वसदस्य नरोत्तम वैद्य राणाकालदेखि समाजसेवाका लागि मारवाडी सेवा समितिलाई गौशाला धर्मशाला क्षेत्र दिएकाले उनीहरूले सरकारी जग्गा लुटेको जस्तो व्यवहार राज्यबाट गर्न नहुने बताए । धर्मशालाबाट हुने आम्दानीले मासिक २४० जनाभन्दा बढी गाई पाल्नका लागि समेत खर्च नपुग्ने उल्लेख गर्दै उनले मारवाडी सेवा समितिबाट भइरहेको सेवामुलक काम पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाले गर्न नसक्ने बताए ।

वैद्यले पुशपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिको विवादमा महानगर पस्नु गलत भएको बताउँदै गौशाला सञ्चालनको काम समितिले जसरी अरु कुनै निकायले गर्न नसक्ने दाबी गरे ।

१९९९ साल वैशाख २२ गते जुद्ध शम्शेर राणाले सो गौशालाको उद्घाटन गरेको र चीर कालसम्म चलाउन उनले आफूले पनि आर्थिक सहयोग गरेको बताए । १९९० सालमा मारवाडी समुदायले भूकम्पपीडितलाई गरेको सहयोग देखेर जुद्धशम्शेरले मारवाडी समुदायलाई समाजसेवाका लागि दिएको गौशाला राजनीतिक स्वार्थका लागि उनीहरूबाट खोस्न नहुने वैद्यको तर्क छ ।

मारवाडी समुदायलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको भन्दै उनले पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबिच संवाद गरेर विवाद मिलाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप