बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
साफ महिला च्याम्पियनसिप

भारतले सजिलै हरायो पाकिस्तानलाई

बिहीबार, ०१ कात्तिक २०८१, १९ : ३९
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । भारतले बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५–२ गोलले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा भारतले पहिलो हाफमा ४–१ को अग्रता लिएको थियो । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो ।

गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो । हाफको अन्त्यतिर पेनाल्टीमा गोल फर्काउँदै पाकिस्तानले खाता खोलेको थियो ।

खेलको पाँचौ मिनेटमै भारतले खेलमा अग्रता लिएको  छ  । ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । बायाँ विंगबाट रन्जना चानुले दिएको क्रसलाई ग्रेसले नियन्त्रणमा लिँदै सहजै प्रहार गरेकी थिइन् ।

१७ औँ मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् । मिडफिल्डबाट लगातार पास खेल्दै पाकिस्तानको डिफेन्स बिट गरेर बाला देवीले दिएको अन्तिम पासलाई मनिषाले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरिन् ।

२७ औँ मिनेटमा ग्रेसको हेडरलाई पाकिस्तानकी गोलरक्षक निशाले डाइभ दिँदै बचाउ गरिन् । लगत्तै प्रियांका देवी नाओरेमको लामो दुरीको प्रहारमा पनि निशाले सहजै बचाइन् । ३६ औँ मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् । 

४३ औँ मिनेटमा भारतले अर्को गोल थप्यो ।  इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । सुहा हिरानीले पेनाल्टीलाई टप कर्नरमा गोल गर्दै स्कोर ४–१ को स्थितिमा ल्याएकी थिइन्।

दोस्रो हाफको सुरुवातमा नै पाकिस्तानका लागि कायला सिद्दिकीले एक गोल फर्काइन् । तर, ७७ औँ मिनेटमा भारतका लागि ज्योतीले अर्को थप्दै टोलीको जित सुनिश्चित गरिन् ।

जितसँगै भारतले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप