बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमतीका प्रदेश प्रमुख देवकोटाद्वारा २ विधेयक प्रमाणीकरण, एउटा विधेयक फिर्ता

बिहीबार, ०१ कात्तिक २०८१, १९ : २०
बिहीबार, ०१ कात्तिक २०८१

हेटौँडा ।  बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले २ विधेयक प्रमाणीकरण गरेका छन् भने एक विधेयक फिर्ता गरेका छन् । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामै फिर्ता पठाएका हुन् भने २ वटा विधेयकहरू प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुख देवकोटाले बिहीबार प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका हुन् । उनले संविधानको धारा २०१ को उपधारा (३) बमोजिम उक्त विधेयकमा व्यवस्था गरिएका केहि प्रावधानहरूका विषयमा पुनर्विचार गर्नुपर्ने भएकाले प्रदेश सभामा पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखले फिर्ता पठाएको उक्त विधेयक प्रदेशसभामा पुनः छलफल गरी आवश्यक संशोधनसहित प्रमाणीकरणका लागी पठाउन पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यस्तै प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाएका अन्य २ वटा विधेयक भने प्रमाणीकरण गरी प्रदेशसभामा फिर्ता पठाएका छन् । प्रमाणीकरण भएका विधेयकहरूमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक रहेका छन् । 

प्रदेशसभाको गत ७ असोज २०८१ मा बसेको बैठकले पारित गरेको ती विधेयकहरू  प्रदेश प्रमुख  देवकोटाले संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखबाट प्रमाणित भएका दुवै विधेयकहरू राजपत्रमा प्रकाशित भएपछि प्रदेशका ऐनका रूपमा लागू हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप