पहिलो टेस्ट क्रिकेटमा भारतको लज्जास्पद प्रदर्शन, न्युजिल्यान्डलाई १३४ रनको अग्रता
काठमाडौँ । घरेलु टोली भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार न्युजिल्यान्डले पहिलो पालीमा एक सय ३४ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदासम्म न्युजिल्यान्ड आफ्नो पहिलो पालीमा केवल तीन विकेट गुमाएर एक सय ८० रन बनाउँदै क्रिजमा छ ।
पहिलो पालीमा न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान डेभोन कनवेले ९१ रनको योगदान गरे । उनले एक सय पाँच बलको सामना गरी तीन छक्का र ११ वटा चौका पनि हिर्काए । ३३ वर्षीय कनवेले टेस्ट क्रिकेटमा बनाएको यो १०औँ अर्धसतक हो । उनी केवल नौ रनका कारण सतकबाट चुके ।
किविज टोलीका लागि विल योङले पनि ३३ रन बनाए । कप्तान टम लाथम भने १५ रन बनाउँदै पेभेलियन फर्किए । दोस्रो दिनको खेल सकिँदा रचिन रविन्द्र अविजित २२ र ड्यारल मिचेल अविजित १४ रन बनाउँदै क्रिजमा छन् । भारतीय टोलीका बलर रविचन्द्रन आश्विन, कुलदीप यादब र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।
त्यसअघि घरेलु टोली भारतले आफ्नो पहिलो पालीमा निराशाजनक प्रदर्शन गरेको थियो । पहिलो टेस्टको दोस्रो दिन बिहीबार नै भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको थियो ।
भारतीय टोली पहिलो पालीमा ३१.२ ओभर मात्र क्रिजमा टिक्न सक्यो । भारतीय टोलीले टेस्ट क्रिकेटको एक पालीमा बनाएको यो तेस्रो सबैभन्दा कम योगफल हो । पहिलो पालीमा भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
बेंगलुरुमा जारी उक्त टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतीय टोलीका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक २० रन बनाएका थिए । उनले ४९ बलमा दुई चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले टोलीको खातामा १३ रन थपेका थिए । उनले ६३ बलमा एक चौका हिर्काए । सबैभन्दा लामो समय क्रिजमा टिकेका ब्याट्सम्यान जैसवाल नै हुन् । कप्तान रोहित शर्मा दुई र अनुभवी ब्याट्सम्यान विराट कोहली शून्य रनमै पेभेलियन फर्किए ।
भारतका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । सरफराज खानले पनि खाता खोल्न सकेका थिएनन् । केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले पनि खाता खोल्न सकेनन् । खेल अवधिभर भारतीय ब्याट्सम्यानहरु क्रिज समाल्न आउने र लगत्तै फर्कनेक्रम जारी रह्यो ।
किविज टोलीका बलर म्याट हेनरी एक्लैले पाँच विकेट लिए । विलियम ओ’रुर्कले पनि चार विकेट हात पारे । हेनरीले १३.२ ओभरमा तीन मेडनसहित केवल १५ रन खर्चिए । विलियमले पनि १२ ओभरमा ६ मेडनसहित केवल २२ रन खर्चिए । टिम साउथीले पनि एक विकेट हात पारे ।
टेस्ट क्रिकेटको इतिहासमा एक पालीमा भारतले बनाएको सबैभन्दा कम रन भने ३६ हो । भारतीय टोली सन् २०२० को डिसेम्बर १७ तारिखमा एडिलेडमा खेलिएको अस्ट्रेलियाविरुद्धको टेस्टमा केवल ३६ रन बनाउँदै अलआउट भएको थियो ।
टेस्ट क्रिकेटमा भारतले बनाएको दोस्रो कम योगफल भने ४२ रन हो । भारतीय टोली सन् १९७४ को जुन २० तारिखमा लर्डसमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा केवल ४२ रनमा अलआउट भएको थियो । पहिलो टेस्टको पहिलो दिन बुधबारको खेल वर्षाका कारण सुरु नै हुन सकेको थिएन । दोस्रो दिनको खेल पनि समय–समयमा अवरुद्ध हुँदै अगाडि बढेको हो ।
न्युजिल्यान्डले ३६ वर्षदेखि भारतलाई उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा हराउन सकेको छैन । त्यसैले न्युजिल्यान्डका लागि यो टेस्ट निकै महत्वपूर्ण छ । अन्तिम पटक न्युजिल्यान्डले सन् १९८८ मा भारतलाई उसैको मैदानमा टेस्ट क्रिकेटमा हराएको थियो । अर्कोतिर, भारतले सन् २०१२ देखि घरेलु मैदानमा एउटा पनि टेस्ट शृंखलामा हारेको छैन ।
क्रिकेट इतिहासमा भारत र न्युजिल्यान्डबिच पहिलो टेस्ट क्रिकेट सन् १९५५ को नेभेम्बर १९ देखि २४ तारिखसम्म हैदराबादमा खेलिएको थियो । यी दुई राष्ट्रबिच खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । यी दुई टोलीबिच दोस्रो टेस्ट सन् १९८८ को डिसेम्बर २ देखि ७ तारिखसम्म खेलिएको थियो । दोस्रो टेस्टमा भने भारत एक पाली र २७ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ: स्वास्थ्य मन्त्री पौडेल
-
आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
असदका मान्छेले थापेको एम्बुसमा १४ जना सुरक्षाकर्मी मारेको सिरियाको दाबी
-
रविलाई बयानका लागि अदालत लगियो, लीलाको बयान चल्दै
-
जब १९ वर्षीय अस्ट्रेलियन ब्याट्सम्यान कोन्सटसले भारतीय बलर बुमराहलाई निरीह बनाए
-
नर्भिक अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु