बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तान–इङ्ल्यान्ड दोस्रो टेस्ट क्रिकेट : ब्याट्सम्यानहरु स्पिन आक्रमणमा अल्झिएपछि खेल रोचक मोडमा

बिहीबार, ०१ कात्तिक २०८१, १७ : ४६
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । दोस्रो टेस्टमा दुबै टोलीका स्पिनरहरु हाबी भएपछि खेल रोचक मोडमा पुगेको हो । खेलको तेस्रो दिन बिहीबार दुबै टोलीका ब्याट्सम्यान स्पिनर बलरसामु निरीह बन्न पुगे ।  

पाकिस्तानले भ्रमणकारी टोली इङ्ल्यान्डलाई जितका लागि दुई सय ९७ रनको लक्ष्य दिएको छ । अझै दुई दिनभन्दा बढीको खेल बाँकी छ । मुल्तानमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार घरेलु टोली पाकिस्तान आफ्नो दोस्रो पालीमा केवल दुई सय २१ रन बनाउँदै अलआउट भयो ।

पाकिस्तानका अधिकांश ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । दोस्रो पालीमा पाकिस्तानका लागि सलमान अघाले सर्वाधिक ६३ रन बनाए । उनले ८९ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । ३० वर्षीय सलमान अघाले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धसतक हो ।

साउद सकिलले ३१ रन बनाए । साजिद खानले टोलीको खातामा २२ रन थपे । कमरन घुलम २६ रन बनाउँदै आउट भए । ओपनर सइम अयुब पनि २२ रनभन्दा अगाडि बढ्न सकेनन् । मोहम्मद रिजवान २३ रनमा पेभेलियन फर्किए ।

पाकिस्तानी टोलीका कप्तान सान मसुद पनि ११ रनमै आउट भए । इङ्ल्यान्डका बलर सोएब बसिरले चार विकेट लिए । ज्याक लिचले पनि तीन विकेट हात पारे । ब्राइडन कार्सले पनि दुई विकेट कुम्ल्याएका थिए । म्याथ्यू पट्सले एक विकेट लिए ।  

त्यसअघि, पाकिस्तानले पहिलो पालीमा ७५ रनको अग्रता हासिल गरेको थियो । बिहीबार नै भ्रमणकारी टोली इङ्ल्यान्ड पहिलो पालीमा केवल दुई सय ९१ रन बनाउँदै अलआउट भएको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि ओपनर बेन डकेटले सतकीय योगदान गरेका थिए ।

उनले टोलीको खातामा एक सय १४ रन थपेका थिए । उनले एक सय २९ बलको सामना गरी १६ चौका पनि हिर्काएका थिए । ३० वर्षीय डकेटले टेस्ट क्रिकेटमा बनाएको यो चौथो सतक हो । पहिलो पालीमा इङ्ल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन ।

अनुभवी ब्याट्सम्यान जो रुट ३४ रन बनाउँदै आउट भएका थिए । ओली पपले २९ रन बनाए । ओपनर ज्याक क्रावलीले २७ रन बटुले । तल्लो क्रमका ब्याट्सम्यान ज्याक लिच २५ रनमा अविजित रहेका थिए । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले २१ रन बटुले । इङ्ल्यान्डले ६ विकेटको नोक्सानीमा दुई सय ३९ रनको स्थितिबाट तेस्रो दिनको खेल अगाडि बढाएको थियो ।

भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पाकिस्तानका बलर साजिद खान एक्लैले सात विकेट लिएका थिए । ३१ वर्षीय साजिद खानले २६.२ ओभरमा एक सय ११ रन खर्चिए । नोमन अलीले पनि तीन विकेट हात पारे ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले आफ्नो पहिलो पालीमा तीन सय ६६ रन बनाएको थियो । पाकिस्तानका लागि कमरन घुलमले एक सय १८ रनको योगदान गरेका थिए । २९ वर्षीय कमरन घुलमले आफ्नो ‘डेब्यू’ टेस्टमै सतक बनाएका हुन् । उनले दुई सय २४ बलमा एक छक्का र ११ चौका प्रहार गरेका थिए ।

पाकिस्तानका लागि ओपनर सइम अयुबले पनि ७७ रनको योगदान गरेका थिए । उनले एक सय ६० बलको सामना गरी सात चौका हिर्काएका थिए । २२ वर्षीय सइम अयुबले टेस्ट क्रिकेटमा बनाएको यो तेस्रो अर्धसतक हो ।

विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले पनि ४१ रन बनाएका थिए । आमेर जमालले ३७ रन र नोमल अलीले ३२ रन र सलमान अघाले ३१ रन बनाएका थिए । पहिलो पालीमा इङ्ल्यान्डका बलर ज्याक लिचले चार विकेट लिए । ब्राइडन कार्सले तीन र म्याथ्यू पट्सले दुई विकेट हात पारे ।

तीन टेस्टको शृंखलामा इङ्ल्यान्ड १–० ले अगाडि छ । यसअघि सम्पन्न पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । त्यो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले आफ्नो छनोट समिति र टोलीमा ब्यापक परिवर्तन गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो टेस्टका लागि घोषित आफ्नो टोलीमा पूर्वकप्तान बाबर आजम, तिब्रगतिका स्टार बलर साहिन शाह अफरिदी र नसिम शाहलगायतका प्रभावशाली खेलाडीलाई समावेश गरेको छैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप