बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
सरकार ढल्ने चर्चा

ओली–प्रचण्डको दोहोरी, देउवाको हातमा सरकारको साँचो

बिहीबार, ०१ कात्तिक २०८१, १७ : १७
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमतिको जगमा सोही महिनाको अन्तिममा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिना पार गरेको छ ।

राजनीतिक स्थायित्व, सुशासन र संविधान संशोधन गर्ने एजेण्डा अघि सारेर मुलुकका दुई ठुला दल कांग्रेस र एमालेसहित अन्य साना दल समेतको समर्थनमा सरकार बनेको हो । संसदीय अङ्कगणितमा ओली नेतृत्वको सरकार निकै बलियो देखिए पनि तीन महिनाकै बिचमा सरकार परिवर्तनबारे चर्चा हुन थालेको छ । यो चर्चामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’का पछिल्ला अभिव्यक्तिले नै मलजल गरिरहेको छ । जसले गर्दा स्थिर सरकार र राजनीतिक स्थायित्वका सवालमा जनमानसमै आशङ्का पैदा हुन थालेको छ ।

यद्यपि विश्लेषकहरू प्रचण्डले चाहँदैमा ओली नेतृत्वको सरकार ढाल्न नसक्ने र ओलीले चाहेरमात्र पनि सरकार टिकाउन नसक्ने बताउँछन् । संयोग नै मान्नुपर्छ, ओली नेतृत्वको सरकारको कार्यकाल तीन महिना पुग्दै गर्दा बुधबार एकै दिन प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनको प्रसङ्ग निकालेर बाहिर भइरहेका चर्चा परिचर्चालाई बल पुर्‍याउँदै ‘कन्फ्युजन क्रिएट’ गरिदिएका छन् । यद्यपि दुवै नेताले सरकार परिवर्तनबारे आ–आफ्नै ढङ्गले तर्क र व्याख्या गरेका छन् ।

अर्थात्, प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला ‘कसैले चलाएको’ भन्दै त्यसमा सत्यता नरहेको दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने भन्दै सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

अहिलेको संसदीय गणितमा ओली दुई तिहाइभन्दा बढी सांसदको समर्थन प्राप्त प्रधानमन्त्री छन् ।

असार ३० गते चौथो कार्यकालका लागि संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त ओलीले साउन ६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका थिए । उक्त दिन प्रतिनिधि सभामा उपस्थित २६३ सांसदमध्ये ओलीको पक्षमा दुई तिहाइभन्दा बढी अर्थात् १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्दा ‘मत दिन्न’ भन्नेमा १ मत परेको थियो । प्रतिनिधि सभामा १८४ मत हुँदा दुई तिहाई पुग्छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छ । समर्थन गरेका दलहरूले पनि समर्थन फिर्ता लिने निर्णय गरिसकेका छैनन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् ।

संसदको बाँकी कार्यकालमध्ये पहिलो डेढ वर्ष ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर २०८४ को चुनाव गराउने कांग्रेस–एमालेबिच सहमति छ । यो सहमति अनुसार नै सरकार अघि बढ्ने विश्वासमा प्रधानमन्त्री ओली देखिन्छन् ।

सोही आधारमा प्रधानमन्त्री ओलीले बुधबार ६९ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै आगामी ०८४ को चुनावबाहेक अरु माध्यमबाट सरकार परिवर्तन नहुने दाबी दोहोर्‍याए । उनले ‘अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिने गरेको’ भन्दै २०८४ को दसैँपछि हुने चुनावपछि सरकार परिवर्तन हुने कुरा हो भने ठिकै भएको बताए ।

‘चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन,’ प्रधानमन्त्री ओलीले सम्बोधनको अन्तिममा भने, ‘अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छन् । दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे ! कुन दसैँ भनेको ? २०८४ सालको दसैँपछि चुनावमा ? ठिकै हो ।’

प्रधानमन्त्री ओलीले २०८४ को चुनावअघि सरकार परिवर्तन नहुनेमा ढुक्क रहन आग्रहसमेत गरे । ‘मैले पहिले पनि भनिसकेको छु, एक वर्ष नौ महिनापछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । त्यसपछि आफैँ फेरिन्छ यो सरकार’, उनले भने, ‘त्यसपछि शेरबहादुरजीले सरकारको नेतृत्व गरेर चुनाव हुन्छ । त्यो चुनावबाट जो आउँछ, त्यसले सरकार बनाउँछ ।’

नेपालको राजनीतिका साथै नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेका र सबैभन्दा ठुलो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पार्टीहरू मिलेर लगभग दुई तिहाइको सरकार बनेको कुरामा सबैलाई हेक्का राख्न पनि ओलीले स्मरण गराए ।

‘लगभग दुई तिहाइको सरकार हो । यो खरानीको डल्लो होइन’, प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरूतर्फ सङ्केत गर्दै भने, ‘एमाले र कांग्रेसको इतिहास देशलाई विकास गर्ने र परिवर्तन गर्नेमा छ । त्यस्ता पार्टीहरूको अहिले सरकार छ ।’

प्रधानमन्त्री ओलीले नक्सालमा अपराह्न सरकारबारे यस्तो दाबी गरेकै दिन पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका थिए ।

बुधबार बिहान नेपाल न्यूज बैंकसँग आफ्नै निवास खुमलटारमा कुराकानी गर्दै प्रचण्डले आफूले मात्र नभइ धेरै मानिसले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने सङ्केत गरेको दोहोर्‍याएका हुन् ।

‘मलाई के लाग्छ भने यो सरकार जुन रूपमा र जसरी बन्यो, सुरुमै मैले अनुमान गरिसकेको थिएँ । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो’, प्रचण्डले भने, ‘अहिलेका घटनाक्रमले करिबकरिब त्यस्तै सङ्केत गरेको छ । हुनसक्छ, केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आकलन पनि त्यही छ ।’

केही दिनमा नयाँ राजनीतिक वातावरण बन्नसक्ने बताएका प्रचण्डले त्यसको आधार भने खुलाएनन् । बरु उनले माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नलाग्ने स्पष्ट पारे ।

‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ’, प्रचण्डको भनाइ छ ।

ओली नेतृत्वको सरकार गलत तरिकाले बनेकाले आफैँ ढल्ने र धेरै मेहनतसमेत गर्नु नपर्ने प्रचण्डको बुझाइ छ । ‘मैले भनेको छु, यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रूपमा बनेकाले आफैँ ढल्छ भन्ने लाग्छ । हामीले धेरै मेहनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष प्रचण्डको भनाइ छ ।

त्यसो त ओली प्रधानमन्त्री बन्नुअघिसम्म कांग्रेस–माओवादी गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री थिए । आफू नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बेइमानीपूर्वक ढाल्दै पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताउँदै आएका प्रचण्ड विपक्षी दलहरूको मोर्चालाई बलियो पार्ने रणनीतिमा छन् ।

प्रचण्डले सरकार परिवर्तनबारे बुधबार पहिलोपटक मुख खोलेका होइनन् । यसअघि असोज १० गते पार्टी निकट विद्यार्थी संगठनको कीर्तिपुरमा भएको महाधिवेशनमा पनि प्रचण्डले केही समयभित्र अपवित्र र अप्राकृतिक गठबन्धनबाट बनेको सरकार आफैँ कुहिएर झर्ने बताएका थिए । 

‘हामीलाई जनतातिर फर्काइदियौ तिमिहरूले । हामी जनतातिरै जान्छौँ । तिमिहरू मिलेर बस । तर उनीहरू मिल्दै छैनन्’, कीर्तिपुरमा प्रचण्डले भनेका थिए, ‘मलाई लाग्छ, केही समयभित्रै यो अपवित्र, अप्राकृतिक गठबन्धन कुहिएर झर्छ ।’

उनले त्यो बेला के गर्ने भन्ने कुरा सोच्नुपर्ने स्थिति रहेको भन्दै आफूहरू सरकार बनाउने हतारोमा नरहेको बताएका थिए । यसबाहेक पार्टीका आन्तरिक बैठकहरूमा पनि प्रचण्डले वर्तमान सरकारको आयु धेरै लामो नहुने निष्कर्ष सुनाउने गरेका थिए । यसअघि बसेका पार्टी पदाधिकारी, स्थायी कमिटी र प्रदेश परामर्श समिति बैठकहरूमा पनि ओली नेतृत्वको सरकारलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय तथा छिमेकी मुलुकहरूले समेत नरुचाएको ब्रिफिङ उनले गर्दै आएका थिए ।

देउवाको हातमा सरकारको साँचो

ओली–प्रचण्डबिच सरकार ढल्ने र निरन्तरता पाउने दोहोरी चले पनि राजनीतिक विश्लेषक डम्बर खतिवडा भने ओली–प्रचण्ड दुवैका कारण सरकार ढल्ने र टिक्ने सम्भावना नरहेको विश्लेषण गर्छन् ।

‘यो सरकार न त प्रचण्डका कारण ढल्छ, न ओलीका कारण टिक्छ । यसको साँचो अन्तै छ’, खतिवडाले रातोपाटीसँग भने, ‘सत्ताको स्टेकहोल्डरको हिसाबले ओली–प्रचण्डको महत्त्व हुन्छ तर अहिलेको सरकार टिकाउने कि ढाल्ने भन्ने शक्ति, सामर्थ्य र सङ्ख्या उहाँहरूसँग छैन ।’

खतिवडाले त्यो सङ्ख्या कांग्रेससँग मात्र भएको बताए । ‘कांग्रेसले चाह्यो भने यो सरकार एक दिन पनि टिक्दैन । कांग्रेसले चाहेन भने प्रचण्डले सरकार ढल्छ भनेर मात्रै हुँदैन’, खतिवडाको विश्लेषण छ ।

उनले प्रचण्डले कांग्रेसलाई सरकार ढाल, म साथ दिउँला भने पनि प्रचण्डको कुरा कांग्रेसले मान्छ कि मान्दैन भन्ने महत्त्वपूर्ण कुरा हुने बताउँछन् ।

‘यो कांग्रेसको मुडमा भर पर्ने कुरा हो । त्यसमा पनि विशेषगरी सभापति शेरबहादुर देउवाको मुडमा भर पर्ने हो’, खतिवडाको विश्लेषण छ ।

यस्तो अवस्थामा कांग्रेसको मुडलाई बदल्न सक्ने फोर्स या फ्याक्टर तीन वटा हुनसक्ने खतिवडा बताउँछन् । उनका अनुसार तीन फ्याक्टर यस्ता छन्–

पहिलो : स्वयं देउवालाई ‘ओलीको गफमात्र सुनेर यो डेढ वर्ष के पर्खनु ?’ भन्ने लाग्नुपर्छ । अब म बाहेक विकल्प पनि छैन, यसो हुँदा एमालेको विकल्पमा अरुलाई लिएर सरकार बनाउन सकिहाल्छु भन्ने देउवालाई लागेर त्यो सोच बनाएर अघि बढ्दा ओली सरकार ढल्छ ।

देउवालाई साथ दिन अरु साना दल पनि तयार नै छन् । एमाले बाहेककै अरु दलले देउवालाई सरकार बनाउन सङ्ख्या पनि पुर्‍याइदिन्छन् भन्ने मेरो बुझाइ छ । 

दोस्रो : कांग्रेस पार्टीका शेखर कोइराला, गगन थापा लगायतका समूहले भोलि हुने चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी एमाले नै हुने हो । ओली रफ मान्छे पनि छन् र उनको सरकार चलाई लोकप्रिय पनि हुन सकेन । भोलिको चुनावमा यसको अपजस लिनुपर्ने हुन्छ । त्यसकारण बरु अहिले नै ओली सरकार ढालौँ र एमाले बाहेकको सरकार बनाऔँ भनेर प्रेसर दिनसकेमा पनि सरकार ढल्न सक्छ ।

तेस्रो : भारतले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीका रूपमा निमन्त्रणा दिन सकेको छैन । उता देउवा पत्नी आरजुलाई ‘हाइप्रोफाइल ट्रिट’ दियो । ओलीले बिचबिचमा भारतसँग सम्बन्ध बनाउँदै बिगार्दै गएको अवस्थामा भारत पनि देउवा–प्रचण्डकै सरकार बनोस् भन्ने बुझाइमा देखिन्छ । भारतको यो बुझाइ र आगामी चुनावका सन्दर्भमा कांग्रेसभित्रको आत्मबल कमजोर भएकाले पनि यो सरकार ढल्न सक्छ ।

छठपछि ढल्न सक्छ सरकार

खतिवडाले यी तीन वटा फ्याक्टरमध्ये कुनै एकले काम गरे ओली नेतृत्वको सरकार छठपछि वैशाखसम्म ढल्न सक्ने बताए । ‘यदि यस्तो तारतम्य मिल्यो भने छठपछि वैशाखसम्ममा यो सरकार ढल्नसक्छ’, खतिवडाले भने, ‘यदि त्यसबेलासम्म ढलेन भने यही गठबन्धनको सरकारले २०८४ को चुनाव गराउनसक्छ । त्यो समय हेर्न दसैँ–तिहारलगत्तै भारतले ओलीलाई बोलाउँछ या बोलाउँदैन, त्यो कुर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप