बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
कूटनीति

भारत–क्यानडा द्वन्द्वले नेपाललाई कस्तो असर पर्ला ?

खालिस्तानी लिङ्क यसरी जोडियो नेपालसँग
बिहीबार, ०१ कात्तिक २०८१, २० : ००
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । भारत र क्यानडाबिचको द्वन्द्व चर्किँदै गइरहेको छ । दुवै देशले एक अर्का देशको कूटनीतिज्ञलाई फिर्ता पठाइरहेका छन् । दुवै देशले अहिले एक अर्काको नागरिकलाई भिसा दिन पनि बन्द गरेका छन् भने व्यापार सम्झौतासमेत प्रभावित भएका छन् ।

भारतीय मूलका क्यानेडियन नागरिक हरिदीप सिंह निज्जरको क्यानडास्थित भ्यानकुभर नजिक सन् २०२३ जुनमा हत्या भएपछि दुवै देशबिच द्वन्द्व चर्किँदै गएको हो । क्यानडाले निज्जरको हत्यामा भारत जिम्मेवार जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ भने भारतले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।  

असोज २८ गते भारतको विदेश मन्त्रालयले ६ जना क्यानेडियन कूटनीतिज्ञलाई अक्टोबर १९ सम्म (असोज ३) भारत छाड्न निर्देशन दिएको छ भने क्यानडामा रहेका आफ्ना कूटनीतिज्ञ सञ्जयकुमार वर्मालाई फिर्ता बोलाएको छ । त्यस्तै सोही दिन क्यानडाले ६ जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको छ । त्यसअघि २०२३ मा पनि भारतले क्यानेडियन कूटनीतिज्ञहरूलाई निष्कासन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

modi-trudeu

भारतले क्यानडासँगको कूटनीतिक संवाद अन्त्य भएको घोषणा सोमबार गरिसकेको छ । जसले दुई देशबिचको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ । यसले दुई देशबिच द्वन्द्व बढ्दै गएको बुझ्न सकिन्छ ।

क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘क्यानडाको जमिनमा क्यानेडियन नागरिक हरदीपसिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको सिधा संलग्नता छ । तर भारतले अनुसन्धानमा सहयोग गरेको छैन ।’

तर भारतले क्यानडामाथि पृथकतावादी अतिवादीको समर्थन गरिरहेको आरोप लगाएको छ । यसरी भारत र क्यानडाबिच द्वन्द्व बढ्दै गएपछि त्यसको असर नेपाललाई पनि पर्ने जानकारहरू बताउँछन् ।

नेपाल र क्यानडाबिच ६० वर्षको कूटनीतिक सम्बन्ध छ । नेपाली विद्यार्थीका लागि क्यानडा राम्रो गन्तव्य बनेको छ । थोरै भए पनि व्यापार र अनुदानमा क्यानडेली सहयोग जारी छ । तर भारत र क्यानडाबिच बढ्दै गएको द्वन्द्वले नेपाल–क्यानडा सम्बन्धमा पर्ने असरबारे यतिबेला चर्चा हुन थालेको छ ।

Oli-trudeau

त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) को प्रमुख एवं परराष्ट्र विज्ञ डा.मृगेन्द्र कार्कीले भारत र क्यानडाबिच देखिएको द्वन्द्वको प्रभाव खुला सीमाका कारण नेपालमा पनि पर्ने बताए ।

सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरूलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ । अन्य व्यापार व्यवसायमा पनि क्यानडाले नेपाललाई सघाउँदै आइरहेको छ ।

तर भारत–क्यानडाबिचको द्वन्द्व चर्किँदै गएमा नेपालमा पनि त्यसको असर पर्ने कार्कीको भनाइ छ । उनका अनुसार नेपालको सबैभन्दा नजिकको छिमेकी भारतसँग खुला सीमाका कारण विशेष खालको सम्बन्ध रहेकाले दुवै देशमा हुने कुनै घटना परिघटनाले एक अर्का देशलाई प्रभावित पार्छ ।

तर पूर्व राजदूत एवं परराष्ट्रविज्ञ विजयकान्त कर्ण भारत–क्यानडा द्वन्द्वले नेपाललाई खासै फरक नपर्ने बताउँछन् । ‘नेपाल–क्यानडाबिच कूटनीतिक सम्बन्ध भए पनि सरकार–सरकार बिचमा सम्बन्ध छैन । यसको मतलब दुई देशको बिच खराब सम्बन्ध छ भन्ने होइन । सम्बन्ध राम्रो छ तर कार्यक्रम र व्यवहार त्यति छैन,’ उनले भने ।

कर्णका अनुसार क्यानडाको प्राथमिकतामा नेपाल छैन । ‘उसले यहाँको घटनाक्रममा खासै रुचि राख्दैन,’ उनले भने, ‘नेपाल–भारतबिच राम्रो सम्बन्ध छ । भारत आफ्नो सुरक्षाका लागि चिन्तित हुन्छ । नेपालको भूमिबाट भारत विरोधी कुनै गतिविधि नहोस् भन्ने एउटामात्र चिन्ता उसको छ ।’

  • खालिस्तानी लिङ्क यसरी जोडियो नेपालसँग

भारतले खालिस्तानीलाई लिएर नेपालसँग चासो राख्नु स्वाभाविक पनि हो । खुला सीमाका कारण खालिस्तानीहरू नेपालमा आश्रय लिएर आफ्नो देशको विरोधमा गतिविधि गर्न सक्छ कि भन्ने चिन्ता भारतको छ ।

भारतकै पञ्जाब राज्यको जालन्धर जिल्लामा पुर्ख्यौली घर भएका सिख धार्मिक नेता हरदीपसिंह निज्जरमाथि भारतलाई विभाजन गरेर खालिस्तान देश बनाउन चाहेको आरोप भारत सरकारले लगाउँदै आएको थियो । उनी क्यानडामा बसेर खालिस्तान टाइगर फोर्सको नेतृत्व गर्दै भारत विभाजनको गतिविधि गर्दै आएको भारतको आरोप छ ।

सोही फोर्स निकट रहेको पञ्जावकै अमृतपाल सिंह नेपालमा लुकेको दाबी भारत सरकारको थियो । सन् २०२३ मार्चमा भारतबाट फरार भएका अमृतपाल नेपालमै रहेको दाबी गर्दै नेपालस्थित भारतीय दूतावासले उनको खोजी गरिदिन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर त्यसको एक महिनापछि अमृतपाल भारतको पञ्जावबाट गिरफ्तार भएको समाचार बाहिर आएको थियो ।

अमृतपाल गिरफ्तार भएको दुई महिनापछि क्यानडामा रहेका हरदीप सिंह निज्जरको हत्या भएको थियो । नेपालका अध्यागमन विभागका एक अधिकारीले रातोपाटीसँग भने, ‘त्यतिबेला भारतको धेरै ठुलो दबाब हामीमाथि थियो तर हामीले अमृतपाललाई फेला पार्न सकिरहेका थिएनौँ, सुरक्षा अधिकारीहरू पनि त्यसको खोजीमा दिनरात लागेका थिए । नेपाल–भारतको सुरक्षा व्यवस्था पनि कडाइ गरेको थियो ।’

पछि प्रहरीले फेला पारेर भारतलाई बुझाएको हो कि भारतमै गिरफ्तार भए भन्नेबारे आफूलाई जानकारी नभएको भन्दै ती अधिकारीले अमृतपाल नेपालमै लुकेको र त्यहाँबाट दुवई भाग्न सक्ने आशंका भारतीयले त्यतिबेला गरेको प्रस्ट पारे ।

भारतलाई अहिले पनि खुला बोर्डरका कारण खालिस्तानीहरू नेपालमा बसेर भारतविरुद्ध गतिविधि गर्न सक्ने आशङ्का छ । खालिस्तानीहरू नेपालमा बसेमा क्यानडाले पनि सघाउन सक्ने भारतको बुझाइ छ । त्यसैले पनि भारतले खालिस्तानी घटनालाई लिएर नेपालमाथि निगरानी बढाएको हुनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।

सिनासका प्रमुख कार्कीले नेपाल–भारत खुला बोर्डर भएकाले खालिस्तानीहरू नेपालमा बसेर भारतविरुद्ध गतिविधि गर्न सक्छन् भनेर भारतले आशङ्का गरिरहेको बताउँदै यसमा नेपाल पनि सजग रहनुपर्ने प्रस्ट पारे ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ ३० गते क्यानडाको भ्रमण गरेकी थिइन् । त्यहाँ आयोजित महिला परराष्ट्रमन्त्रीहरूको भेलामा भाग लिन गएकी मन्त्री देउवाले क्यानडाली विदेशमन्त्री मेलानी जोलीसँग भेटेर नेपालमा दूतावास खोल्न आग्रह गरेकी थिइन् ।

क्यानडासँग नेपालको त्यति ठुलो सम्बन्ध नरहेको तर भारतसँग धेरै ठुलो सम्बन्ध रहेकाले खालिस्तानी तथा क्यानडाका कारण त्यो सम्बन्धमा असर नपरोस् भन्नेमा नेपालले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

क्यानडामा थुप्रै नेपाली विद्यार्थी अध्ययनरत रहेको भन्दै कार्कीले उनीहरूलाई क्यानडाले भारतको आँखाबाट नहेरोस् भन्नेमा पनि चासो लिनुपर्ने बताए । नेपालमा क्यानडाको दूतावास छैन । भारतमा रहेको क्यानेडियन दूतावासले नै नेपाललाई हेरिरहेको छ । भारतमा रहेको क्यानेडिली कूटनीतिज्ञहरूलाई भारतले फर्काइरहेका कारण त्यसको असर नेपालमा सिधै पर्ने देखिएको छ ।

भारतमा खालिस्तानीहरूको आन्दोलन चर्किरहेको बेला भारतका लागि क्यानडाका आवासीय तथा नेपालका लागि गैरआवासीय राजदूत क्यामरन म्याकेले नेपालको भ्रमण गरेका थिए । नियोगमा उपप्रमुखको पनि भ्रमण भएको थियो । त्यहाँका दूतावासका अन्य अधिकारीहरूले पनि नेपाल भ्रमण गरेका थिए ।

२०२२ को डिसेम्बरमा राजदूत म्याकेसमक्ष पत्रकारले ‘क्यानडाले नेपाललाई भारतको नजरले हेरिरहेको हो ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भनेका थिए, ‘मलाई लाग्दैन कि हामी अरू देशबाट प्रभावित छौँ । क्यानडाले नेपाललाई हरेक पटक आफ्नै दृष्टिकोणले हेर्छ । क्यानडाका लागि नेपाल महत्त्वपूर्ण छ । मलाई लाग्दैन कि नेपालसँगको सम्बन्धमा क्यानडाले अन्य कुनै पनि देशको दृष्टिकोण ल्याउँछ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ ३० गते क्यानडाको भ्रमण गरेकी थिइन् । त्यहाँ आयोजित महिला परराष्ट्रमन्त्रीहरूको भेलामा भाग लिन गएकी मन्त्री देउवाले क्यानडाली विदेशमन्त्री मेलानी जोलीसँग भेटेर नेपालमा दूतावास खोल्न आग्रह गरेकी थिइन् ।

अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको, नेपाल आउने क्यानडाली पर्यटकका सङ्ख्यामा पनि वृद्धि भएको, दुई देशबिच विभिन्न खालका भ्रमण भइरहेकाले नेपालमा दूतावास खोल्न आवश्यक रहेको उनको भनाइ थियो ।

क्यानेडियन मन्त्री जोलीले पनि नेपालमा दूतावास खोल्न आवश्यक देखिएको र चाँडै त्यसको बारेमा आफूले पहल लिने बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप