बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थतन्त्र

तीन महिनामा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन

अनुदान शून्य, अन्य आम्दानी पौने पाँच अर्ब
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ५१
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन भएको छ । सरकारले यो अवधिमा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व उठाएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । 

जसअनुसार असोज महिनामा ८१ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसअघि भदौ मसान्तसम्म दुई महिनाको अवधिमा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । 

अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो आधारमा हेर्दा यो अवधिको राजस्व सङ्कलन वृद्धि १३.३० प्रतिशत बढी हो । 

असोज महिनामा भने अघिल्लो वर्ष ७८ अर्ब ३ करोड ८० लाख रुपैयाँले राजस्व सङ्कलन भएको थियो । यो आधारमा चालु आर्थिक वर्षको असोज महिनाको राजस्व सङ्कलन ४.९१ प्रतिशत मात्रै बढी हो । 

यस्तो वृद्धिदर साउन र भदौ महिनामा क्रमशः २०.११ प्रतिशत र १५.१८ प्रतिशत थियो । यो वर्ष साउन महिनामा मात्रै ९४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ बराबरको राजस्व उठेको थियो जुन अघिल्लो वर्ष ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँमा सीमित भएको थियो । 

त्यस्तै, यो वर्षको भदौमा ७१ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको थियो जुन अघिल्लो वर्ष ६२ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो । 

Capture

यस्तो छ खर्चको अवस्था 

सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पहिलो तीन महिनामा ३ खर्ब २९ अर्ब २० करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १७.७ प्रतिशत बराबर हो । 

यो अवधिमा चालु खर्चतर्फ २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख रुपैयाँ, पुँजीगततर्फ २९ करोड ३७ लाख ४६ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको तुलनामा क्रमशः २०.१५ प्रतिशत, ८.३४ प्रतिशत र १९.०५ प्रतिशत बराबर हो ।

अनुदान शून्य, अन्य आम्दानी पौने पाँच अर्ब

तीन महिनाको यो अवधिमा सरकारले दातृ निकायबाट कुनै पनि अनुदान रकम प्राप्त गर्न सकेको छैन । वर्षभरिमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबरको अनुदान ल्याउने लक्ष्य राखेकोमा यसको उपलब्धि शून्य देखिएको हो । अघिल्लो वर्षको यही अवधिमा सरकारले ६१ अर्ब ८० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको कार्यालयले जनाएको छ । 

त्यस्तै, यो अवधिमा ४ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको अन्य प्राप्तिहरू गरेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष यस्तो प्राप्ति १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । यस्तो प्राप्ति अन्तर्गत विदेशी सम्पत्तिमा गरिएका लगानीको प्रतिफल, क्षतिपूर्ति लगायतका विषय समावेश हुने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप