बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच फाइनल प्रवेशका लागि घम्साघम्सी

बिहीबार, ०१ कात्तिक २०८१, १३ : ५६
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल बिहीबार खेलिँदै छ । पहिलो सेमिफाइनलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियाले पहिलो उपाधिको खोजीमा रहेको दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलिया समूह ‘ए’ को विजेता र दक्षिण अफ्रिका समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

जारी विश्वकपमा हालसम्म एक खेल पनि नहार्ने अस्ट्रेलिया एक मात्र टोली हो । अस्ट्रेलियाले समूहगत चरणको आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले, दोस्रो खेलमा न्युजिल्यान्डलाई ६० रनले, तेस्रो खेलमा पाकिस्तानलाई नौ विकेटले र चौथो खेलमा भारतलाई नौ रनले हराएको थियो ।

icc womens world cup

दक्षिण अफ्रिका भने समूहगत चरणको चारमध्ये तीन खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा भने दक्षिण अफ्रिकी टोली इङ्ल्यान्डसँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी, दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेलमा स्कटल्यान्डलाई ८० रनले र चौथो खेलमा बंगलादेशलाई सात विकेटले हराएको थियो । उक्त समूहको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ६ विकेटले हराएपछि दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा सम्भव भएको थियो ।

उक्त समूहबाट वेस्ट इन्डिज विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इङ्ल्यान्डको समान ६–६ अङ्क रहे पनि नेट रन रेटमा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई पछि पारेको हो । इङ्ल्यान्ड पहिलो संस्करणको विजेता हो ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच हालसम्म १० वटा महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमा दक्षिण अफ्रिकाभन्दा अस्ट्रेलिया निकै बलियो देखिन्छ । १० मध्ये नौ खेलमा अस्ट्रेलिया र एक खेलमा दक्षिण अफ्रिका विजयी भएका छन् ।

यसैगरी, आफूले खेलेको पछिल्ला पाँचमध्ये अस्ट्रेलियन टोली सबै खेलमा विजयी भएको छ । दक्षिण अफ्रिकी टोली भने आफूले खेलको पछिल्ला पाँचमध्ये चार खेलमा विजयी र एक खेलमा पराजित भएको छ ।

दुबई इन्टरनेसनल स्टेडियममा बिहीबारको खेलमा टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्ने सम्भावना बढी देखिन्छ । यो स्टेडियममा खेलिएको पछिल्लो आठमध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा टी–२० अन्तर्राष्ट्रियमा बनेको उच्च स्कोर तीन विकेट गुमाएर एक सय ७२ रन हो । उक्त स्कोर भारतले श्रीलंकविरुद्धको खेलमा बनाएको थियो ।

अस्ट्रेलिया र दक्षिण अफ्रिका दुवैले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । अस्ट्रेलिया टी–२० महिला विश्वकपको सर्वाधिक सफल राष्ट्र पनि हो । आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ ।

अस्ट्रेलियाले हालसम्म ६ पटक महिला टी–२० विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलियन टोलीले सन् २०१० (दोस्रो संस्करण) मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई तीन रनले हराएको थियो ।

यसैगरी, सन् २०१२ मा पनि अस्ट्रेलिया च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई चार रनले हराएको थियो । सन् २०१४ को उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो । अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो ।

australia

यसैगरी, अस्ट्रेलियाले सन् २०१८ मा चौथो पटक उपाधि उचालेको थियो । त्यतिबेला पनि फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई नै आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले सन् २०२० मा पाँचौँ पटक उपाधि चुमेको थियो । फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।

यसैगरी, अस्ट्रेलियन टोलीले सन् २०२३ मा छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला अस्ट्रेलियन टोलीले फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको थियो ।

यसका अतिरिक्त अस्ट्रेलिया एकपटक महिला विश्वकपको फाइनलमा पराजित पनि भएको छ । सन् २०१६ मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियालाई वेस्ट इन्डिजले आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलिया टी–२० महिला विश्वकपको साबिक विजेता पनि हो ।

यसपटकको अस्ट्रेलियन टोली एलिसा जिन हेलीको कप्तानीमा रहेको छ । ३४ वर्षीया अनुभवी खेलाडी हेली टोलीकी प्रभावशाली ब्याटर पनि हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगितामा अब्बल प्रदर्शन गरेकी छन् । ताहलिया म्याकग्रा अस्ट्रेलियन टोलीकी उपकप्तान हुन् ।

यसको विपरीत, दक्षिण अफ्रिका भने हालसम्म एकपटक मात्र महिला टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छ । सन् २०२३ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको आठौँ संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि चुमेको थियो ।

south africa

यसैगरी, दक्षिण अफ्रिकाको टोली यसपटक लाउरा वोल्भार्डको कप्तानीमा रहेको छ । २५ वर्षीया लाउरा टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले तीनवटै ढाँचाको क्रिकेटमा शतक पनि प्रहार गरिसकेकी छन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका थिए ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका थिए । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चलेको थियो । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शुक्रबार वेस्ट इन्डिज र न्युजिल्यान्डबिच खेलिने छ । सेमिफाइनलमा विजयी दुई टोलीबिच अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ ।

जारी विश्वकपमा हालसम्म सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा दक्षिण अफ्रिकाकी ताजमिन ब्रिट्स पहिलो स्थानमा छिन् । उनले चार पालीमा कुल एक सय ५५ रन बनाइसकेकी छन् । यो सूचिमा दक्षिण अफ्रिकाकै लाउरा उल्भार्ट चौथो स्थानमा छिन् । उनले चार पालीमा कुल एक सय ४८ रन बनाएकी छन् ।

यसैगरी, जारी विश्वकपमा हालसम्म सर्वाधिक विकेट लिने बलरको सूचिमा अस्ट्रेलियाकी एमेलिया केर पहिलो स्थानमा आसीन छिन् । उनले चार पालीमा १० विकेट लिइसकेकी छन् । यो सूचिमा दोस्रो स्थानमा रहेकी दक्षिण अफ्रिकाकी ननकुलुलेको मलाबाले नौ र तेस्रो स्थानमा रहेकी अस्ट्रेलियाकी मेगन स्चुटले आठ विकेट लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप