बाढी पहिरो क्षति : काभ्रेमा ६ जना बेपत्ता, ७८ जनाको मृत्यु
काभ्रेपलाञ्चोक । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
बाढी पहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरी देउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।
धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् । बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताए । उनका अनुसार बाढी पहिरोमा परी ७५ जना घाइते भएका थिए ।
बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीन जनाले ज्यान गुमाए । धुलिखेल नपाका दुई र चौँरी देउरालीका एक जनाले बाढी पहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।
काभ्रेपलाञ्चोकमा बाढी पहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् । सरकारद्वारा बाढी पहिरो र डुबानबाट अति प्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।
सरकारले बाढी पहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य