बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

संविधान संशोधनका विषयमा दलहरूबिच छलफल चलिरहेको छ : कानुन मन्त्री चौरसिया

बिहीबार, ०१ कात्तिक २०८१, १२ : ५४
बिहीबार, ०१ कात्तिक २०८१

वीरगन्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सरकार चुप लागेर नबसेको बताएका छन् । वीरगन्जमा बिहीबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कानुनमन्त्री चौरसियाले संविधान संशोधनका विषयमा सत्तारुढ दलहरूबिच छलफल चलिरहेको बताएका हुन् ।

उनका अनुसार दुई ठुला दल कांग्रेस–एमालेबिच संविधान संशोधन लगायतका मुद्दाहरूमा सहमति भएरै नयाँ सत्ता समीकरण बनेको हो । त्यसकारण संविधान संशोधनसहित सहमति भएका मुद्दाबाट सत्तारुढ दलहरू पछाडि नहटेको उनी बताउँछन् । 

उनी भन्छन् , ‘कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो ? त्यो विषयमा सत्तारुढ दलहरूबिच पहिलो चरणमा आन्तरिक छलफल चलिरहेको छ, सत्तारुढ दलहरूबिचको छलफलपछि त्यसपछि थप प्रक्रिया अगाडि बढाइन्छ ।  त्यो लगत्तै सरकारबाहिरका रहेका अन्य दलहरूसँग छलफल र संवाद हुन्छ, सबैसँग सहमति भएपछि संविधान संशोधनका प्रक्रिया अगाडि बढ्छ ।’ 

‘सत्तारुढ दल र सत्ताबाहिरका सबै दलहरूबिच सहमति हुनुपर्छ, सहमति भएपछि मात्रै संविधान संशोधन सम्भव हुन्छ,’ उनले भने । सरकारको तीन महिनाको अवधिमा वर्तमान सरकारले धेरै मुद्दामा काम गरेको कानुन मन्त्री चौरसियाको भनाइ छ । 

उनका अनुसार सुशासन कायमदेखि आर्थिक स्थितिलाई चलायमान बनाउनसम्म तथा भ्रष्टाचार रोकथाममा समेत सरकार सफल भएको छ । त्यस मानेमा वर्तमान सरकारको तीन महिने अवधि सफल नै रहेको उनको प्रस्टोक्ति छ ।

वर्तमान सरकारमा प्रमुख दुई घटक कांग्रेस–एमालेबिच कुनै मनमुटाब नभएको जनाउँदै उनले भने,‘यो सरकार दुई ठुला पार्टीको सहकार्यमा बनेको छ, त्यसकारण अहिले सरकार परिवर्तन भइहाल्ने अवस्थामा छैन । तपाईँहरू ढुक्क हुनुस् यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ, त्यसअघि सत्ता समीकरणमा कुनै फेरबदल हुनेवाला छैन ।’

‘संविधान संशोधन, सुशासन, अर्थतन्त्रलाई पुन चलायमान बनाउने लगायतका एजेन्डामा अहिलेको सत्तासमीकरण बनेको छ, तर यी सब काम पुरा भएको छैन । त्यही भएर पनि अहिले सरकारको फेरबदलको अवस्था छैन,’ उनले भने । 

डेढ दशकदेखि अड्किएको टीआरसी विधेयक आफू कानुमन्त्री भएपछि सबै दलको सहमतिमा सांसदबाट पारित गराउनु कानुन मन्त्रालयको ठुलो उपलब्धि रहेको उनको दाबी छ ।  

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल,नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानसहितको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप