बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

विपद् जोखिम न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक: निर्देशक अधिकारी

बिहीबार, ०१ कात्तिक २०८१, १२ : ४५
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक भएको विज्ञहरूले बताएका छन् । फिलिपिन्सको मनिलामा जारी विपद् जोखिम न्यूनीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरूले सो धारणा राखेका हुन् । 

बैठकमा विपद् जोखिम न्यूनीकरणमा वित्तीय व्यवस्थापनको मुद्दालाई पहिलो प्राथमिकता दिइएको छ । विपद् जोखिम न्यूनीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी बन्नुभएका विपद् व्यवस्थापन अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीले विपद् जोखिम न्यूनीकरणमा वित्तीय श्रोत जुटाउने विषय प्रमुख प्राथमिकतामा परेको बताए । 

उनले बैठकमा मुख्य तीन विषयमा छलफल जारी रहेको जानकारी दिए । जसमा वित्तीय व्यवस्थापन, समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका सबै मानिसलाई सँगै लगेर विपद् जोखिम न्यूनीकरण गर्ने र सहर र गाउँको संकटासन्न अवस्थालाई उत्थानशील बनाउने विषय प्रमुख रहेका छन् ।

निर्देशक अधिकारीले बैठक यिनै तीन कुराहरूमा अधिकांश देशका प्रतिनिधिहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेको र नेपालले सोही विषयवस्तुलाई टेकेर कार्यपत्र प्रस्तुत गरेको बताए । उनका अनुसार जारी बैठकमा नेपालको उपस्थिति राम्रो रहेको छ । नेपालमा विपद् जोखिम न्यूनीकरणमा धेरै समस्या रहेको भन्दै तथ्यांकीय र वैज्ञानिक विश्लेषण गरी आगामी बैठकहरूमा विषयवस्तुहरू उठाउन सक्नुपर्ने उनले उल्लेख गरे ।

मित्रराष्ट्रहरूसँग छलफल र सहकार्य गरी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम अघि बढाउन उचित हुने सुझाव निर्देशक डा. अधिकारीको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले समेत नेपालको नाम तोकेर नेपाल जस्ता हिमाली देशहरूमा हुने बाढी पहिरोको कुरालाई उद्घाटन सत्रमा आवाज उठाउनुभएको बताए । नेपालले नेपालजस्तै विपद्बाट सङ्कट व्यहोरिरहेका देशहरूले गरेका सफल पहलकदमीहरू नेपालले लागू गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पनि सम्मेलनमा सहभागी भएको छ । हरेक २ वर्षमा हुने यो सम्मेलन आज सकिँदै छ । सम्मेलनमा नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले नेपालको स्थितिपत्र प्रस्तुत गरेका थिए ।

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप