बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

समस्याग्रस्त १८ सहकारीको दायित्व तिर्न आउन १५ दिने अल्टिमेटम

बिहीबार, ०१ कात्तिक २०८१, १० : ०१
बिहीबार, ०१ कात्तिक २०८१

काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका १८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीहरुलाई यस्तो अल्टिमेटम दिएको हो ।

समितिले यसअघि पनि पटक पटक राष्ट्रिय पत्रिकामार्फत् सूचना जारी गरेर तथा एसएमएस समेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दा समेत सम्पर्कमा नआएको भन्दै यो अवधिभित्र दायित्व फरफारक नगरे कानून अनुसार प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

यस अनुसार दायित्व बाँकी रहेका व्यक्ति र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित सूचना अनुसार १५ दिनभित्र दायित्व फरफारक गर्नुपर्ने सहकारीहरुमा स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट, प्यासिफिक सेभिङ एण्ड क्रेडिट, सोसाइटल बहुद्देश्यीय, प्रभु बचत तथा ऋण, लुःनिभा बहुद्देश्यीय, ओरेन्टल, कञ्जुमर बचत तथा ऋण, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट र भेगास सिटी छन् ।

त्यस्तै, तुलसी बहुमुखी, शिवशिखर बहुद्देश्यीय, हाम्रो नयाँ कृषि, कृषि विकास बहुद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, श्री लालीगुराँस बहुद्देश्यीय, गौतमश्री बहुद्देश्यीय, गोरखा सेभिङ एण्ड क्रेडिट र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ रहेका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा हालसम्म २२ वटा सहकारीको व्यवस्थापनको जिम्म आएकोमा चारवटाको दायित्व भने फरफारक भइसकेको छ । 

छुट बचतकर्तालाई १५ दिनको मौका

त्यस्तै, समस्याग्रस्त घोषित भई बचत मागदाबी आह्वान भइसकेका तर तोकिएको समयमा मागदाबी गर्न छुट भएका १० सहकारी संस्थाका पीडित बचतकर्तालाई पनि १५ दिनभित्र छुट मागदाबी गर्न मौका छ । यस अनुसार कात्तिक १५ भित्र समितिको वेभसाइटमा गई आवश्यक प्रमाणसहित मागदाबी गर्न सकिने उल्लेख गरिएको छ । यसअघि समितिले पहिलोपटक ३५ दिन र दोस्रो पटक १५ दिनको समय दिएर बचत रकम मागदाबीको गर्न आह्वान गरेको थियो ।

यसरी बचत मागदाबीका लागि मौका दिइएका सहकारीहरूमा  शिवशिखर बहुउद्देश्यीय, तुलसी बहुमुखी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, गौतमश्री, हाम्रो नयाँ कृषि, कृषि विकास बहुउद्देश्यीय, श्री लालीगुराँस, गोरखा सेभिङ एण्ड क्रेडिट, नेपाल सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप