विमानमा बम आतंक : छत्तिसगढका किशोर पक्राउ, पैसा नदिनेलाई फसाउने उद्देश्य
मुम्बई । सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको एक्सको ह्यान्डललाई पछ्याउँदा ती किशोरसम्म प्रहरी पुगेको थियो ।
अनुसन्धानपछि प्रहरीले किशोरका पितालाई उनलाई मुम्बई ल्याउन भनेको थियो । त्यसपछि उनलाई डोंग्रीको जुभिनायल जस्टिस बोर्डसामु प्रस्तुत गरिएको थियो । उनलाई अक्टोबर २४ सम्म हिरासतमा पठाइएको छ ।
उनले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै जोन ८ का डेप्युटी कमिस्नर अफ पुलिस मनिष कल्वानियाले भने, ‘प्रमुख कारण पैसाको लेनदेन देखिएको छ । ती किशोरले फेक आईडी प्रयोग गरेर उनीसँग आर्थिक विवाद रहेका फजलुद्दिन निबान नाम गरेका व्यक्तिलाई फसाउन चाहेका थिए ।’
३० वर्षीय निबानलाई पनि प्रहरीले पक्राउ गरेको छ । ती किशोर भने ११ कक्षामा कलेज पढ्न छाडेर छत्तिसगढको राजनन्दगाउमा सानो पसल सञ्चालन गर्थे ।
गत सोमबार सुरुमा इन्डिगो र एयर इन्डियाका एक्स ह्यान्डलमा बमको धम्की दिइएको थियो । धम्कीपछि मुम्बईबाट मस्कट र जेद्दा जान लागेका इन्डिगोका दुई विमान ग्राउन्डेड गरिएको थियो भने मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान डाइभर्ट गरिएको थियो ।
@fazluddin69 र @fazluddin27077 नाम गरेका ट्वीटर ह्यान्डलबाट ती धम्कीपूर्ण पोस्ट गरिएको थियो । पोस्टमा विमानमा ६ केजी आरडीएक्स र ६ जना आतङ्कवादी रहेको उल्लेख गरिएको थियो ।
ती किशोरविरुद्ध एफआईआर दर्ता गरिएको छ । उनीमाथि इन्डियन पेनल कोडको धारा १२५ अन्तरगत ३५१(४), ३१३(१) (बी) मुद्दा दर्ता गरिएको छ ।
बुधबार पनि बैंगलुरुबाट दिल्ली जाने आकाशा एयरमा बमको धम्की दिइएको थियो । त्यस्तै, मंगलबार स्पाइस जेट, आकाशालगायत विमानमा बमको धम्की दिइएको थियो । सोमबार यता बमको धम्कीका कारण कम्तीमा २० वटा विमान डाइभर्ट वा ढिला भएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार