बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
यातायात

दसैँ मनाएर पूर्वबाट राजधानी फर्किदै यात्रु, विगतजस्तो छैन समस्या

सवारी दुर्घटना भने रोकिएन, विगत १२ दिनमा २६९ वटा दुर्घटना हुँदा १४ जनाको मृत्यु
बुधबार, ३० असोज २०८१, २१ : १४
बुधबार, ३० असोज २०८१

विराटनगर । चाडबाड सकेर राजधानी फर्किने यात्रुले यस पटक बसको टिकट पाउन धेरै कसरत गर्नु परेन । विराटनगर बसपार्कका टिकट काउन्टरका कर्मचारी यात्रुको व्यवस्थापनमा विगतका वर्षमा जस्तो यो वर्ष धेरै मेहनत गर्नु नपरेको बताउँछन् ।

‘काठमाडौँ र पश्चिम जाने बसमा पहिलेजस्तो चाप छैन । यात्रुले टिकट नपाउने अवस्था छैन । आरामले पाइरहेको छ,’ सुनौलो पूर्व नेपालका कर्मचारी राजेन्द्र खतिवडा बताउँछन्, ‘विगत वर्षका दसैँमा वीरगञ्जका गाडीहरू टीकाको भोलिपल्ट प्याक हुन्थ्यो । तर, यस पटक खाली नै गयो । काठमाडौँ जाने बसहरू पनि टीकाको भोलिपल्टदेखि १० दिनसम्म प्याक हुन्थ्यो । अहिले त्यस्तो छैन । अफिस खुल्ने दिनमात्रै प्याक भयो ।’

विराटनगरकै कोशी पशुपति काउन्टरका कर्मचारी प्रदिपकुमार बर्मा पनि टिकट पाउन मुस्किल नभएको बताउँछन् । ‘टिकट पाउन मुस्किल छैन । एक दिनपछिको टिकट पाइन्छ । आज आउँदा भोलिका लागि टिकट पाइन्छ । कतिपय त खाली गाडी गइरहेका छन् । बिहानै आउँदा बेलुकाको सिट जस्तो भन्यो, त्यस्तै पाउँछ ।’

यसपटक बाढीका कारण मानिसहरू राजधानी छोडेर आउन नसक्दा यात्रुको चाप कम भएको उनको अनुमान छ । ‘यतिखेर १० दिनसम्म गाडी प्याक हुन्थ्यो । अहिले त आयो, टिकट लियो, गयो भइरहेको छ,’ उनले भने ।

कोशी प्रदेश राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी निरीक्षक सुरेश अधिकारीले यात्रु बसहरूको चाप अलिक कम देखिएको बताए । ‘गाडी र यात्रुको चाप त छँदैछ । तर, विगत वर्षमा जस्तो धेरै भिडभाड देखिएको छैन,’ उनले भने ।

Yatru (1)

उनले असोज १७ गतेदेखि २९ गतेसम्मको तथ्याङ्क दिँदै काठमाडौँबाट १ हजार ९५९ सवारी साधनमा ३१ हजार ५४० यात्रु पूर्व आएको बताए । सोही अवधिमा काठमाडौँ जाने सवारी साधनको संख्या भने १ हजार ९३१ छ । जसमा १७ हजार ५९५ जना यात्रु सवार थिए ।

१२ दिनमा २६९ दुर्घटना, १४ जनाको मृत्यु

यसैबिच कोशी प्रदेशमा दसैँको १२ दिनमा २६९ ठाउँमा  सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म २६९ ठाउँमा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा परी ३९ जना गम्भीर घाइते भएका छन् । नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलका अनुसार मृत्यु हुनेमा १३ जना पुरुष र एक जना महिला छन् ।

मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना छन् । त्यसैगरी सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र सात जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै झापामा ७२ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु, धनकुटा र खोटाङमा १–१ जनाको मृत्यु भएको छ । १२ दिनमा ७ हजार ५९१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ५१ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप

छुटाउनुभयो कि ?