शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल

बुधबार, ३० असोज २०८१, २० : ५४
बुधबार, ३० असोज २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताएका छन् । 
    
‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बिच डिजिटल सहकार्यका लागि आज यहाँ आयोजित समारोहमा उनले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताए ।

उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिए । “प्रविधिको बिस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ । नेपालको आइटी क्षेत्रको निर्यात बढ्दै गएको छ । यस्तै निर्यातको सम्भावनाको नयाँ ढोका खुलेको छ”, उनले भने । 

उपप्रधानमन्त्री पौडेलले नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबिचको डिजिटल सहकार्यका लागि साझेदारीले नेपालको डिजिटल मिडिया परिदृष्यमा नयाँ आयाम थप गर्ने विश्वास व्यक्त गरे । साथै उनले डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याए । 
    
“नेपालको मिडिया उद्योगले पनि डिजिटल प्रविधिलाई अँगालेका छन् । कयौँ अनलाइन समाचार पोर्टल पाठकमाझ लोकप्रिय भइसकेका छन्”, उनले भने, “डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तर पत्रकारिताका लागि पनि ध्यान दिन आवश्यक छ ।”

सरकारले आमसञ्चारलाई स्वस्थ्य, स्वच्छ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति लिएको उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । उनले त्यसका लागि आमसञ्चार माध्यमको महत्त्व र भूमिका एवं योगदानको अपेक्षा रहेको उल्लेख गरे ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप