बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ ओली सरकारले प्रारम्भिक संकेतसम्म देखाउन सकेन : रास्वपा

बुधबार, ३० असोज २०८१, २० : ३६
बुधबार, ३० असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन महिनाको अवधिमा केपी शर्मा ओली नेतृत्वको सरकारले घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेतसम्म देखाउन नसकेको निष्कर्ष निकालेको छ । 
कार्यबाहक प्रवक्ता मनीष झाले बुधबार जारी गरेको विज्ञप्तिमा विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको ठहर गरिएको छ । 

‘सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुख्य उद्देश्य सहित असार ३१, २०८१ मा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एकसय दिन पूरा गर्दै छ । तीन महिना पूर्ण मूल्यांकनको आधार त होइन तर घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ यसबीचमा सरकारले प्रारम्भिक संकेतसम्म देखाउन सकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ ।’

 मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको रास्वपाको भनाइ छ । 

आज आम नागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको समेत रास्वपाको जिकिर छ । ‘सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमा गत्यावरोध हुन थालेका छन् ’, विज्ञप्तिमा भनिएको छ, ‘आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार ‘कामचलाउ’ जस्तो देखिन्छ ।’ सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएको रास्वपाले विज्ञप्तिमा उल्लेख गरेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?