बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : तेस्रो दिन १२ जना सडक आश्रित मानवहरूको उद्धार

बुधबार, ३० असोज २०८१, १९ : ५३
बुधबार, ३० असोज २०८१

धरान ।  मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधवार ८ जना मानवहरूको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्धार यात्राका क्रममा उद्धार टोली आज सुनसरीको दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धारमा खटिएको हो ।

बुधवार सुनसरीको दुहबी नगरपालिका–७  बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरी  १२ जनाको उद्धार भएको  मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०,  दोस्रो दिन ६ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको थियो ।

उद्धार गरिएका सडक आश्रित मानवहरूको मानव सेवा आश्रम विराटनगर सेवा केन्द्रमा आज नै संरक्षणको लागि पठाइएको छ । साथै बिहीबार उदयपुर जिल्ला वरपरका सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका मानवहरूको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरू रहेका छन् ।

मानव सेवा आश्रम सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?