बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला फैल्याइयो : प्रधानमन्त्री ओली

बुधबार, ३० असोज २०८१, १९ : ४४
बुधबार, ३० असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला फैलाइएपनि त्यो सम्भव नभएको बताएका छन् । बुधबार  नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दसैँ ? २०८४ सालको ? जबकि हामीले पहिल्यै भनिसकेका छौँ, यो सरकार आफैँ फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  गर्नुहुन्छ ।’

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो नभएको बताए । उनले भने, ‘चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन ।’

व्यवस्थाविरोधी कुरा गर्नेहरुलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्न नहुने बताए । उनले भने, ‘कुनाकाप्चाबाट म भन्न चाहान्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली काँग्रेस र नेकपा (एमाले) सहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस् । स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन । परिवार, समाज र देशको हितका लागि कुनै पनि काम निर्वाधरुपमा अगाडि बढाउन पाउने हक सबैलाई छ । हाम्रा पूर्वजहरुले यस देशलाई राम्रो बनाउने सन्दर्भमा व्यहोरोको दुःख र सङ्घर्षको ध्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताए । देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताए ।

प्रथम महिला राधिका शाक्य, गृहमन्त्री रमेश लेखक, संवैधानिक निकायका पदाधिकारी, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी समारोहमा प्रधानमन्त्री ओलीले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’सहित विधिन्न पुरस्कार र छात्रवृत्तिबाट बहालवाला र अवकाशप्रप्त प्रहरीलाई पुरस्कृत गरेका थिए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?