बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ प्रहरीले ध्यान दिनुपर्छ : प्रजिअ भुसाल

डीएसपीसहित २३ जनालाई उत्कृष्ट पुरस्कार
बुधबार, ३० असोज २०८१, १८ : ४०
बुधबार, ३० असोज २०८१

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमावर्ती क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ ध्यान दिन प्रहरीलाई निर्देशन दिएका छन् । पर्सा प्रहरीद्वारा ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका सीडीओ भुसालले यस्तो बताएका हुन् ।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा सामाजिक अपराधहरूको ग्राफ उकालो लाग्दो अवस्थामा रहेको बताउँदै उनले सीमा क्षेत्रको सम्वेदनशीलतालाई मध्यनजर राखेर काम गर्न आग्रह गरे । समाजमा शान्ति, सुरक्षा र अमन चयन कायम गर्ने मामिलामा प्रहरीको काम तारिफयोग्य रहेको  भुसालले बताए ।

उनले भने, तपाईँहरूले अन्य अपराध न्यूनीकरणमा जसरी सकारात्मक भूमिका निर्वाह गरिरहनु भएको छ, त्यसैगरी अहिले सामाजिक अपराध रोकथामतर्फ पनि ध्यान दिन जरुरी रहेको छ ।’

‘शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा अपराध नियन्त्रण जस्ता कार्यक्रममा कुनै पनि प्रकारको सम्झौता नगरी कार्यसम्पादन गर्न दिशानिर्देश गर्दछु,’ उनले भने । प्रहरीबाट हुने सम्पूर्ण कार्यमा जिल्ला प्रशासन कार्यालयको साथ, सहयोग र समर्थन रहने समेत सीडीओ भुसालले प्रतिबद्धता जनाएका छन् ।

प्रहरी कर्मचारीले आफ्नो ‘करियर’ को श्रीवृद्धिसँगै र सङ्गठनको साख वृद्धिलाई मन वचन र कर्मले कटिबद्ध बन्दै सम्पूर्ण प्रहरी कर्मचारीको व्यक्तिगत तथा व्यावसायिक सफलताको शुभकामना समेत उनले दिए ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनताको सेवामा प्रहरी अहोरात्र खटिरहने बताए । उनले भने, ‘हामी जनताको सेवक हौँ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै आम जनता हो । त्यही भएर हामी आम नागरिकमा सेवा प्रवाह गर्न कुनै कसर बाँकी राख्दैनौँ ।’

‘प्रहरी नियम कानुन भन्दा बाहिर गएर कहिल्यै पनि गर्दैन,’ उनले भने । यसैबिच यो वर्ष पर्सा प्रहरीले सेवा प्रवाहमा उत्कृष्ट काम गरेका २३ जना प्रहरी अधिकारी तथा जवानहरूलाई पुरस्कृत गरेको छ ।

प्रहरीले डीएसपीसहित प्रहरी अधिकारी तथा जवानहरूलाई नगदसहित कदरपत्र दिएर पुरस्कृत गरेको हो ।

प्रहरी नायबउपरिक्षक सुवास भट्टसहित, प्रहरी निरीक्षक रोशन थापा,प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाइँसहित २३ जना प्रहरी कर्मचारीलाई उत्कृष्ट काम गरेबापत जिल्लाप्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?