बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

प्रहरीसँग मेरो सङ्गत ५० वर्षदेखि छ : प्रधानमन्त्री

बुधबार, ३० असोज २०८१, १७ : ५२
बुधबार, ३० असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग आफ्नो सम्बन्ध ५० वर्षदेखि रहेको र उनीहरूका समस्याबारे पनि जानकार रहेको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै असाधारण र प्रशंसनीय रहेको बताए । 

उनले प्रहरी सम्बन्धी कानुन सुधारका लागि मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरिसकेकाले आगामी संसद् अधिवेशनबाट पारित गरिने भन्दै उक्त कानुन बनेपछि नेपाल प्रहरीमा नयाँ दिनको उदय हुने विश्वास व्यक्त गरे । 

‘शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।  उनले नेपाल प्रहरीलाई पर्याप्त सुविधा, पेट्रोल, अनुसन्धानका सामाग्रीहरूमा कमी भएको आफूले देखेको पनि बताए । ‘प्रहरीलाई नजिकबाट देखेको र समस्या बुझेको छु । ५१ वर्षअघि जेल पर्दा होस् वा ३० वर्षअघि गृहमन्त्री हुँदा नजिकबाट देखेको छु’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले हिजो र आजको स्थितिमा भिन्नता आए पनि समयको माग र आवश्यकता अनुसार शान्ति सुव्यवस्थाका लागि प्रहरीलाई आवश्यक सामाग्री अझै उपलब्ध हुन नसकेको भन्दै यसबारेमा सरकारको ध्यान पुगेको बताए । लोकतान्त्रिक समाजलाई स्वतन्त्रताका नाममा छाडातन्त्र बनाउन नसकिने भन्दै प्रधानमन्त्रीले त्यसतर्फ सचेत हुन जरुरी रहेकोमा जोड दिए । 

‘प्रहरीले हतियार र लाठी बोकेको शान्ति सुव्यवस्था कायम गर्न हो । यो कुनै डेमोस्टेसनका लागि होइन’, प्रधानमन्त्रीले भने, ‘आज पनि चुनौतीहरू गम्भीर छन् । बेथिति बढेका छन् । मान्छेहरूका अभिव्यक्ति, सांस्कृतिक धरातल खस्केका छन् । साइवर अपराध र ड्रग्सको प्रयोगले नयाँ पिँढीलाई बरबाद पारेको छ यसमा सजगतापूर्वक अघि बढ्नुपर्छ ।’   

कार्यक्रममा उनले देश र जनताका लागि शान्ति सुव्यवस्था कायम गर्न आफ्नो जीवन आहुति दिने प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा सम्मान व्यक्त गरेका थिए ।  कार्यक्रममा प्रहरी सेवामा योगदान पुर्‍याएका प्रहरी तथा उनीहरूका परिवारलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?