बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
पार्टी एकता

एकताका लागि माओवादीको निर्णय कुर्दै विप्लव र महिन्द्र

बुधबार, ३० असोज २०८१, १७ : ३५
बुधबार, ३० असोज २०८१

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबाट विद्रोह गरेको महिन्द्र राय यादव समूह नेकपा माओवादी केन्द्रसँग एकताका लागि सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय कुरेर बसेका छन् ।

विप्लवको पार्टी र यादव समूहले ६ महिनाअघि नै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपनि हालसम्म एकताले मूर्तरूप लिन सकेको छैन । माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियाले मूर्तरूप लिन नसकेको बताइएको छ । 

अब एकताका लागि धेरै समय पर्खाउन नहुने माओवादीका नेताहरूले बताउन थालेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीले पदाधिकारी, स्थायी समिति र प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठक सम्पन्न गरिसकेको छ । यी बैठकमा पार्टी एकतामा आउन चाहने दलहरूलाई धेरै समय पर्खाउन नहुने धारणा राखेका थिए । पार्टी उपमहासचिव हरिबोल गजुरेलले तिहारअघि बस्ने केन्द्रीय समिति बैठकले एकताका लागि निर्णय गर्ने बताए ।

‘विचार मिल्ने वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने सम्बन्धमा कसैको दुई मत रहेको छैन । तत्काल विप्लवजी र महिन्द्रजीको पार्टीसँग एकता हुन्छ । उनीहरूलाई अब धेरैबेर पर्खाउन हुँदैन । तिहारअघि बस्ने केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्छ’, गजुरेलले भने ।

यता महासचिव देव गुरुङले पनि अब बस्ने केन्द्रीय समिति बैठकले एकताका लागि निर्णय गर्ने बताएका छन् । तिहारअघि उपयुक्त समयमा केन्द्रीय समितिको बैठक बस्ने र त्यसले पार्टी एकताका लागि आवश्यक एकता गर्ने जिकिर गरे ।

‘अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि निर्णय गर्छ । तत्काल विप्लवजी र महिन्द्रजीको पार्टीसँग एकता हुन्छ । विचार मिल्ने अन्य दलहरूसँग सहकार्य र एकताका लागि प्रक्रिया अगाडि बढ्छ’, रातोपाटीसँग गुरुङले भने ।

असोज १० गते अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकताको शुभ समाचार सुन्न पाउने घोषणा गरेका थिए ।

गत वैशाखमा कपिलबस्तुस्थित शिवगढीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । यस्तै गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट माओवादी र नेसपाको यादव समूहबिच पनि एकता गर्ने निर्णय भएको थियो । 

यसैबीच मंगलबारमात्रै नेकपाका महासचिव विप्लवले एकताका लागि आफूहरू माओवादीको संस्थागत निर्णय कुरेर बसेको बताएका छन् । माओवादीका उपमहासचिव जनार्दन शर्मासँग भेटवार्ता गरेपछि उत्साहित भएका उनले एकताका लागि माओवादीका शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको जानकारी दिए ।

‘पार्टी एकताका लागि सकारात्मक पहल भइरहेको छ । माओवादीका शीर्ष नेताहरूसँग म निरन्तर संवादमै छु’, विप्लवले भने, ‘माओवादीका नेताहरूले केन्द्रीय समिति बैठकले आधिकारी निर्णय गर्ने बताएका छन् । केन्द्रीय समिति बैठकको निर्णय कुरेर बसिराखेका छौँ ।’

यद्यपि वैचारिक र सैद्धान्तिक विषयमा खासै मतभेद नभएपनि सांगठनिक अवस्थाबारे कुनै निष्कर्षमा नपुगेको विप्लवले बताए । कसरी अगाडि बढ्ने भन्ने विषयमा छिट्टै प्रचण्ड लगायत नेताहरूसँगछलफल हुने उनले बताए ।

यस्तै नेसपाका  सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफूहरू माओवादीको आधिकारिक निर्णय कुरेर बसेको बताए । 

‘हामीले पहिल्यै माओवादीसँग एकता गर्ने निर्णय गरिसकेका छौँ । दुई पार्टीबिच ४ बुँदे सहमति पनि भइसकेको छ । माओवादीको आधिकारिक निर्णय कुरेर बसेका छौँ । सायद अब बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ला’, श्रेष्ठले भने ।

माओवादीले यी दुई दलबाहेक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत, नेकपा मशाल, एकीकृत समाजवादी लगायत दलहरूसँग एकताको पहल गरेपनि सफल भएको छैन । तथापि एकता, सहकार्य र मोर्चाबन्दीको पहल भने जारी राख्ने माओवादी नेताहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?