बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

एसईईमा एनजी आएका विद्यार्थीले सीटीईभीटीका प्रि–डिप्लोमाका कोर्स पढ्न पाउने

बुधबार, ३० असोज २०८१, १५ : ३६
बुधबार, ३० असोज २०८१

काठमाडौँ । कक्षा १० अनुत्तीर्ण भएका विद्यार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रि–डिप्लोमा कोर्स पढ्न पाउने भएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) अथवा एसएलसी परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका विद्यार्थीले प्रि–डिप्लोमा कोर्स पढ्न पाउने भएका हुन् ।

असोज २० गते बसेको परिषद्को बैठकले प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८१ संशोधन गरेको थियो । निर्देशिकाको दफा ३(२) मा संशोधन गर्दै प्रि–डिप्लोमा तहको प्रवेश परीक्षामा समावेश हुनको लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको परीक्षा तथा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने व्यवस्था गरेको थियो ।

सोही आधारमा अबदेखि प्रि–डिप्लोमा पढ्नका लागि एसईईको परीक्षामा सहभागी भएर फेल भएका (एनजी आएको) भए हुने भएको हो ।

सीटीईभीटीका सूचना अधिकारी तथा उप परीक्षा नियन्त्रक गोविन्द कुमार श्रेष्ठले एसईई वा सो सरहको परीक्षामा सहभागी भएकाले पाउने व्यवस्था गरिएको बताए ।

यसअघिसम्म कक्षा १० को परीक्षा पास गरेकाले मात्रै प्रि-डिप्लोमाका कोर्सहरू पढ्न पाउने व्यवस्था गरिएको थियो ।

एसईईमा एनजी आएका विद्यार्थीहरूलाई प्रि–डिप्लोमा कोर्स अध्ययनका लागि आह्वान समेत गरेको छ ।

एसईई पास गरिसकेका विद्यार्थीहरूको त्यस्ता कोषहरूमा रुचि नदेखिएको तथा एनजी आएका विद्यार्थीहरू पढ्न नपाउने अवस्था आएपछि सीटीईभीटीले उक्त व्यवस्था गरेको हो ।

‘एकातिर प्रि–डिप्लोमा कोर्सका सिटहरू खाली हुने, अर्कोतिर एनजी आएका विद्यार्थीहरू त्यक्तिकै बस्नुपर्ने देखियो । उनीहरूलाई पढाइतिर केन्द्रित गराउन र सिट खेर जाने समस्या समाधान गर्नका लागि यस्तो व्यवस्था गरियो,’ श्रेष्ठले भने ।

प्रि–डिप्लोमा अन्तर्गत होटेल व्यवस्थापन, कृषि, इन्जिनियरिङ लगायतका विषय पढ्न पाइने परिषद्ले जनाएको छ ।

होटेल व्यवस्थापन अन्तर्गत प्रि–डिप्लोमा इन कुलिनरी आर्टस्, प्रि–डिप्लोमा इन होटेल म्यानेजमेन्ट रहेका छन् । यी कोर्स १२ महिना पढाई तथा ६ महिना ओजेटी गरेर १८ महिनाका हुनेछन् । त्यस्तै कृषि, इन्जिनियरिङ तथा विविध विषयको समेत १८ महिने कोर्स रहेको परिषद्ले जनाएको छ । 

463255631_122167391084249963_7506656189076910015_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?