बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
कृषि

कोरियाबाट फर्किएर कुभिन्डो बेचेरै मालामाल

कुभिन्डो कसरी पुग्यो दरबारमार्ग ?
बुधबार, ३० असोज २०८१

काठमाडौँ । नुवाकोटको लिखु गाउँपालिका ४, चौघडाका रामचन्द्र अगस्ती एक दशक अघि वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए । विदेशबाट काम गरेर गाउँमा फर्किएकाहरूको फुर्तिफार्ती देखेर उनी पनि वैदेशिक रोजगारीका लागि लोभिएका थिए ।

तर जीवनको भोगाइसँगै उनको मन बदलियो । अहिले उनी गाउँमै कुभिन्डो, केराको बुङ्गो लगायतका कृषि वस्तु बेच्दै राम्रो आम्दानी गरिरहेका छन् ।

परदेशमा मासिक करिब साढे ३ लाख रुपैयाँ पारिश्रमिक पाउँथे उनी । तर त्यहाँ गर्ने दुःख गाउँघरमै गर्छु भन्दै कृषि कर्ममा लागेका उनी खेतीपातीमा केही नयाँपन ल्याउन परिवारका सदस्यबाट काम सिक्दै छन् ।

अगस्ती सन् २०११ मा कोरिया गएका थिए । भिसा अवधि बाँकी छँदै करिब ३ वर्षमा उनी स्वदेश फर्किए । कोरियामा चार घण्टा आराम गरेर २० घण्टा काम गर्नुभन्दा देशमै दुःख गरे सुन फलाउन सकिने उनी बताउँछन् ।

‘बुवासँग कृषि सिक्दै छु । बाँच्नका लागि जसले पनि कृषि उब्जनी नै खानु पर्छ,’ उनले भने, ‘बाँच्ने मुख्य आधार नै कृषि र कृषिबाट उत्पादित वस्तु हो ।’

अगस्तीले काठमाडौँको दरबारमार्गमा कुभिन्डो बिक्री गरेर एक महिनामा ५० हजार रुपैयाँ कमाएको बताए । गाउँघरका कृषि उपजलाई पहिचान गर्न सके यहीँ नै अवसर रहेको उनी सुनाउँछन् ।

कृषिमा युवा पुस्ताले काम गर्न छोडेका छन् । हरेक युवा वैदेशिक रोजगारीमा जान चाहन्छन् तर बाहिरी मुलुकमा गर्ने दुःख स्वदेशमै गरे यहीँ आम्दानी गर्न सक्ने अगस्तीको भनाइ छ । उनी अहिले गाउँघरमा हेलाको दृष्टिले हेरिने कृषि उपज बजारसम्म पुर्‍याएर फाइदा लिइरहेका छन् ।

नयाँ पुस्ताले कृषि कर्म गर्न नचाहने हो भने भोलि खाद्यान्न उत्पादनमा गम्भीर समस्या सिर्जना हुने अगस्तीको भनाइ छ । ‘कसैले पनि खेती नगर्ने हो भने भोलि के खाने ?’ उनले प्रश्न गरे ।

नेपालमा बाँझो खेतको क्षेत्रफल बढ्दै गएको छ । यस्तो क्षेत्रमा स्थानीयस्तरका रैथाने बाली रोप्न उनी सुझाउँछन् । परम्परागत खेतीलाई आधुनिकतामा लैजानुपर्ने उनले बताए । ‘परम्परागत रूपमा मेरो बुवाले कृषि गर्दै हुनुहुन्छ । त्यसैलाई आधुनिकतातिर ढाल्ने हो,’ उनले भने, ‘परम्परागत रूपमा खेती गर्दा जीविकोपार्जन मात्रै हुने भयो । यसलाई आधुनिकतातिर लैजान सके आर्थिक आय आर्जन पनि गर्न सकिन्छ ।’

  • कुभिन्डो कसरी पुग्यो दरबारमार्ग ?

गाउँघरतिर कुभिन्डोलाई कु–फलको रूपमा हेरिन्छ । तर अगस्तीले यसलाई बजारसम्म पुर्‍याएर आम्दानीको स्रोत बनाएका छन् । ‘एकदिन खेतमा गएँ, त्यहाँ जाँदा बारीभरि कुभिन्डो देखेँ,’ उनले भने, ‘यो कुभिन्डो रोपेको पनि होइन, मल पनि हालेको होइन । आफैँ उम्रेको हो । त्यो फलेको देखेर मैले यसबारे अध्ययन गर्न थालेँ ।’

कुभिन्डोको अध्ययन गर्दा औषधीय गुण हुने, स्वास्थ्यका लागि फाइदाजनक हुने थाहा पाएपछि आफूलाई बजारको खाँचो महसुस भएको उनले सुनाए । दरबारमार्गमा हरेक शनिबार लाग्ने रैथाने कृषि हाटबजारको बारेमा जानकारी पाएपछि त्यहाँ लगेर कुभिन्डो बेच्ने निर्णय गरेको उनको भनाइ छ । तर उनका परिवारले उनलाई ‘सहर बजारका मान्छेले कुभिन्डो खान्छन् र ?’ भनेर प्रश्न गरे । पहिलो पटक कुभिन्डो बजारमा ल्याउन उनका परिवारले सहयोग गरेनन् । ‘त्यो दिन पानी पर्दै थियो । बजार ल्याउन कुभिन्डो टिपेर बुवालाई समाउन दिँदासमेत समात्न पनि मान्नु भएन,’ उनले भने, ‘जसोतसो दरबारमार्गमा पुर्‍याएँ । पहिलो दिन २० वटा ल्याएको थिएँ । आधा घण्टामै सकियो ।’

अगस्तीले बारीमा कुहिएर जाने कुभिन्डो एक सय रुपैयाँ प्रतिकिलोमा बेचेको सुनाए । तीन शनिबार हाटबजारमा कुभिन्डो लैजाँदा उनलाई व्यक्तिगत रूपमै अर्डर आउन थाल्यो ।

कुभिन्डोमा ९५ प्रतिशत पानी हुने, औषधीय गुण हुने भएकाले स्वास्थ्यका लागि उपयुक्त हुने अगस्ती बताउँछन् । ‘गाउँघरतिर पशुवस्तुमा बाँझोपन हुँदा कुभिन्डो खुवाउने गरिन्छ । यो खुवाएर पाठेघर सफा हुने र पशुवस्तुको गर्भाधान हुने मान्यता छ,’ उनले भने, ‘योसँगै जन्डिस लागेको बिरामी, पत्थरी भएका बिरामीलाई यसले एकदमै राम्रो गर्दो रहेछ ।’

अगस्तीले कुभिन्डोको पाउडर बनाएर दैनिक एक चम्चा सेवन गर्न मिल्ने, बीउ प्रयोग गर्न मिल्ने बताए । भारततिर यसको मिठाइ चर्चित रहेको उनको भनाइ छ । उनले कुभिन्डोलाई संरक्षण गर्न नार्कमा बीउ संरक्षणका लागि निवेदन दिएको बताए । ‘बीउ संरक्षण समितिमा नुवाकोटको कुभिन्डो भनेर संरक्षण गर्छु,’ उनले भने, ‘घरमा पनि चारपाँच वटा कुभिन्डो बीउका लागि राखेको छु ।’

अगस्ती अहिले गाउँघरमा खेर जाने कुभिन्डो सङ्कलन गरी दरबारमार्गमा बेचिरहेका छन् । तर भविष्यमा यसलाई निरन्तरता दिन नसक्ने हो कि भन्ने चिन्ता रहेको उनी बताउँछन् ।

  • कोरियाको यात्रा

नुवाकोटबाट काठमाडौँ जागिरका लागि आएका थिए अगस्ती । परिवारमा ८ सन्तानमध्ये एक्लो छोरा हुन् उनी । सात दिदीबहिनीको बिहे र बुवाआमाको पालनपोषण उनकै जिम्मेवारी थियो । उनी काठमाडौँमा पत्रिका बेच्ने काम गर्थे । पत्रिका बेच्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा विदेशबाट फर्किनेहरूलाई देखेर आफूलाई पनि विदेश जाने रहर जागेको उनले सुनाए ।

‘पत्रिका बेच्ने क्रममा एयरपोर्टतिर पुग्दा राम्रा कपडा लगाएका सुकिला मुकिला, सुटकेस बोकेका मानिस देख्थेँ । त्यो सुटकेसभरि पैसा ल्याएका होलान् जस्तो लाग्थ्यो,’ अगस्तीले भने, ‘त्यो देखेर विदेश गएर केही कमाएर ल्याउन सकिन्छ कि भन्नेतिर मेरो मन गयो ।’

कोरिया जाने बाटो पहिल्याउँदा उनले सबैभन्दा पहिला भाषा सिक्नुपर्ने भयो । पत्रिका किन्ने उनकै एक जना ग्राहकले उनलाई कोरियन भाषा सिक्न मद्दत गरे ।

कोरियन भाषा परीक्षा दिँदा २१ सय वटा प्रश्नबाट जुनसूकै आउनसक्ने भएकाले उनले ती सबै प्रश्नउत्तर कण्ठ गरेका थिए । उनले भने, ‘कोठाका भित्ताभरि कोरियन भाषा टाँसेर पढ्थेँ । पत्रिका दिन जाँदा पनि सानो कागजमा नोट बोकेर पढ्दै हिँड्थेँ । एउटा शब्द बारम्बार दोहोर्‍याएर पढ्दै काम गर्थें ।’

अगस्तीका अनुसार त्यतिबेला ८० हजार जनाजतिले कोरियन भाषाको परीक्षा दिएका थिए । त्यसमध्ये ४ हजार जनाको नाम निस्केको थियो । त्यही चार हजारमध्ये एक थिए अगस्ती । ‘सन् २०११ अगस्टमा कोरिया छिरेको थिएँ । कोरियामा ३ वर्ष जति बसेँ,’ उनले भने, ‘त्यसपछि म नेपाल फर्किएँ । अझै मेरो भिसा बाँकी नै थियो ।’

उनले दैनिक २० घण्टा काम गरेर मासिक साढे ३ लाख रुपैयाँ कमाएको बताए । त्यहाँको कमाइले काठमाडौँमा घर पनि किनेका थिए उनले । तर यहाँ बस्न मन नलागेर ५ महिनामै उनले घर बेचे । त्यसपछि गाउँमै गएर खेती किसानीमा लागे उनी ।

‘गाउँमा जाँदा काम गर्दा बुवा खुसी हुनु भयो । मैले काम गरेको देख्दा खुसी हुनुहुन्छ,’ अगस्तीले भने, ‘फर्किदा ६० देखि ७० लाख लिएर आएको थिएँ । गाउँमै घर बनाएँ, केही जग्गा जोडेँ । अहिले गाउँमा खेर गइरहेका कुभिन्डो, केराको बुङ्गो दरबारमार्गमा ल्याएर बेच्दैछु ।’

अध्ययन अनुसन्धानमा चासो राख्ने र केही गर्न खोज्ने अगस्तीले गाउँमा मकै गोड्ने यन्त्र, मल हाल्ने यन्त्र आफैँ तयार गरेका छन् । उनले मकै, धान र आलुको खेती गर्दै आएका छन् । यसका साथै गाउँघरमा पाइने रैथाने कृषि वस्तु बजारसम्म पुर्‍याएर उनले आम्दानी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया