दोइतुङ यात्रा : सम्झनामा रुकुम–रोल्पा
चियाङराईको होटेलबाट लहरै पन्ध्र वटा गाडीहरूसँगै उकालो लागेर दोइतुङको पहाड उक्लिँदै जाँदा बाटोभरि दाङको उपत्यकाबाट उकालो लाग्दै सल्यान, रोल्पा र रुकुम कतै हिँडेको जस्तो लागिरह्यो । नेपालमा भर्खरै प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापना भएको बेला थियो । मेरो पुस्ताले भर्खरै प्रजातन्त्रको अभ्यास गर्ने अवसर पाएको थियो तर समाजमा तीव्र गतिमा भइरहेको दलीय विभाजनले प्रजातन्त्रलाई अभ्यासमा बुझ्न चुनौतीपूर्ण भइरहेको थियो ।
२०४६ साल पछिको समय पहाडी बाटोका रेखाहरू कोरिने क्रम तीव्र थियो । पहाडका भीरहरू जिलेटिन विस्फोटसँगै खोलिँदै थिए । त्यसै समयमा हामीलाई देश हेर्ने रहर लागेको थियो। युवा उमेरका दम्पती हामी आफ्नै मुलुकका पहाडी जिल्लाहरू घुम्न भनी हिँडेका थियौँ ।
त्यो समयमा पहाडबाट मान्छेहरू जीवन निर्वाहका लागि कालापार (भारत) कमाउन जाने क्रम उस्तै थियो । त्यसैगरी पहाडबाट तराईमा बसाई सर्नेहरूको मौसम लागेको जस्तै थियो । पहाडमा लाग्ने मेला पर्वहरू प्रायजसो त्यहाँका कर्मचारी, नेता, व्यवसायीहरू र स्थानीय साहुका अनेकौँ उदेकलाग्दो व्यवहार र चर्चाहरूले भरिपूर्ण हुन्थे । कसैले जुवाको खालमा लाखौँ रुपियाँ वा घरखेत हार्थे भने कसैले परिवारका गहनाहरू हारेका चर्चा हुन्थे । कसैले कालापारबाट दुखले आर्जेका परिवारको खुसी बाटो कै भट्टी पसलहरूमा सकेर फेरि फर्केको कथाहरू हुन्थे । सरकारका नोकरीवाला शिक्षक तथा कर्मचारी, जनताले छानेका जनप्रतिनिधि, त्यस स्थानका हुनेखानेवाला साहुहरू नै ती जुवाका खालमा बस्नेहरू हुन्थे । त्यसभेगका आम सर्वसाधारणहरू त प्राय: कामको खोजीमा दाङ, सुर्खेत, नेपालगन्ज वा कालापार (भारत) जानु आमजीवनका कुरा थिए । हाम्रा पहाडहरू गाँजा वा चरेसको कारोबारका कारण पनि बारम्बार समाचारमा आइरहन्थे । पहाडहरूका जङ्गल फडानी हुने क्रम पनि रोकिएको थिएन ।
मलाई दोइतुङको विगतका कथा सुनिरहँदा आफैले भ्रमणमा देखेका रोल्पा,सल्यान,रुकुमका पहाडहरू अनि त्यहाँका कथाहरू जस्तै लाग्यो । त्यसवेला दोइतुङका नाङ्गिँदै गएका पहाड, भौतिक सुविधाविहीन बस्तीहरू, सरकारको कमजोर उपस्थिति, भोकमरी र अफिमको बलियो सञ्जालले लपेटेको समाज करिब ३३ वर्ष पहिलेको आफैले अनुभूति जस्तै लाग्यो । त्यो समाज, आज त्यो अवस्थाबाट कसरी यहाँ सम्म आइपुगेछ भन्ने बारेमा दोइतुङ विकास परिषद्का प्रमुखले हामी करिब साठी मुलुकका राजदूतहरूलाई सफलताको कथा सुनाइरहेका थिए । यो कथा सन १९७० को दशकबाट सुरु हुँदो रहेछ । जुन समयमा दोइतुङ सुनौलो त्रिकोण (Golden Triangle) को एक प्रमुख भागको रूपमा परिचित थियो । यो सुनौलो त्रिकोणमा म्यानमार-थाइल्यान्ड-लावस गरी तीन मुलुकका जोडिएका पहाडी विकट भागहरू थिए । जो तीनै मुलुकका अविकसित र दुर्गमका पहाडी भूभाग थिए र गाँजा-चरेस-अफिमको उत्पादन, उपभोग र व्यापारका कारणले चर्चामा रहेका हुन्थे ।
लागु पदार्थको नियन्त्रणका लागि प्रशासनको कठोर निगरानीमा त्यहाँका जनताहरू कष्टकर जीवन बाँच्ने गरेका थिए । हामीलाई आयोजना प्रमुखले जानकारी गराए अनुसार थाइल्यान्डको चियाङराई प्रान्तको दोइतुङमा त्यस समयमा बाटोघाटो थिएन भने विद्यालय, स्वास्थ्य चौकीको पनि कुनै सुविधा थिएन । करिब बिस प्रतिशत जनतासँग मात्र नागरिकता थियो । वन फडानीले पहाडहरू नाङ्गो हुँदै गएका थिए । ती सबै फडानी गरिएका भागमा अफिमको खेती गरिन्थ्यो । लागु पदार्थको खेती गर्नु र व्यापारमा संलग्न हुनु मात्र जनताको जीवन बाँच्ने आधार थियो । जीवन निर्वाहको अरू कुनै विकल्पहरू उपलब्ध थिएनन् । त्यस समयका तस्बिरहरू सेतोपर्दामा हेरिरहँदा नेपाल कै पहाडी खण्डमा त्यस समयमा पुगेको सम्झना ताजा भएर आयो ।
थाइल्यान्डका तत्कालीन नरेश भूमिबोल अदुल्यादेजलाई प्रशासनिक नियन्त्रणबाट मात्र त्यहाँका जनतामा परिवर्तन आउने कुरामा विश्वास लागेन । जनतालाई जीवन बाँच्ने विकल्प नदिई प्रशासनिक शक्तिको कठोर प्रयोगले मात्र परिस्थितिमा परिवर्तन हुन सक्दैन भन्ने आफ्नो विश्वास र जनताप्रतिको उत्तरदायी भावले हुन सक्छ- राजपरिवारको आफ्नै स्रोतबाट सञ्चालन हुने गरी केही सामाजिक कार्यको थालनी गरियो ।
फलस्वरूप आफ्नी आमा राजमाता श्री नागरिन्द्रको संरक्षकत्वमा त्यहाँका जनताको जीवनमा परिवर्तन ल्याउन उनीहरूका स्थानीय सिप र कलाको विकास र त्यहाँका उत्पादनहरूलाई बजार सम्म पुर्याउने, उनीहरूको शिक्षा र रोजगारीमा सहयोग पुर्याउने हेतुले सन १९६९ मा Mae Fah Luang Foundation को स्थापना राज परिवारबाट गरिएको थियो । त्यसयता शाही संरक्षणमा सुरु भएका दोइतुङ विकासको अभियान आज दोइतुङ फेसनदेखि हातबुना गलैँचा, कफी, मेकाडेमिया नट, अर्किड फूल र बिरुवाहरू, प्राङ्गारिक कृषि उत्पादन (चामल, सिमी, मास), स्थानीय प्राङगारिक खाना परिकार सहितका रेस्टुराँ, भूमि सौन्दर्यता, होमस्टेका उच्चतम विकासका कारण विश्व बजार र पर्यटन मानचित्रमा दोइतुङको नामको प्रख्याति सहित स्थापित हुन पुगेको छ भने सानो क्षेत्रमा रहेको दोइतुङमा विदेशी पर्यटक मात्रको आगमनको सङ्ख्या छ लाख भन्दा बढी रहेको छ ।
यसका अतिरिक्त दोइतुङ आज वन संरक्षणबाट कार्बन क्रेडिट ट्रेडिङ गरिरहेको छ । विगतमा हराएका वन क्षेत्र पुनः स्थापित भएका छन् । युवा पुस्तालाई बन संरक्षणको तालिम सहित कार्बन क्रेडिट ट्रेडिङ विज्ञ बनाइएका छन् । फोहर व्यवस्थापनमा करिब ९२% फोहर कम्पोस्ट मल वा फोहर बैङ्कको माध्यमबाट व्यवस्थापन गरिएको छ । करिब ८% फोहर मात्र डम्पिङ साइटमा व्यवस्थापन गर्नु पर्ने अवस्था रहेछ । घर-घरमा कम्पोस्ट बिनको प्रयोग गरी त्यसबाट समेत कार्बन क्रेडिटको फाइदा लिन सकिँदो रहेछ भन्ने स्थानीयहरूले प्रमाणित गरेका छन् । आज त्यस क्षेत्रमा गरिएको फोहर व्यवस्थापनको सफल अभ्यास ५५ लाख थाई परिवारहरूमा विस्तार गरिएको छ । फोहर बैङ्कबाट आर्जित अर्बौँको रकम स्थानीय पूर्वाधार र स्थानीय परिवारको जीवन बिमा, स्वास्थ्य उपचार जस्ता सहयोगमा सदुपयोग गरिएको छ । त्यस क्षेत्रका भूमिहीन जनताहरूका लागि उपलब्ध सरकारी जमिनका साथै सरकारी तवरबाट जमिन खरिद गरी भूमिको प्लटहरू विकास गरिएका छन्।
भूमिहीनहरूलाई उनीहरूको रुचि अनुसार कृषि, उद्योग, रेस्टुराँ, होमस्टे जस्ता कामका लागि आवश्यक तालिम, कम ब्याजदरमा ऋण (२%), स्थानीय सामुदायिक सिप सिकाइ केन्द्र, बजार व्यवस्थापन केन्द्र सहित ३० वर्षको किस्तामा जमिन उपलब्ध गराइँदो रहेछ । ३० वर्षमा ऋण चुक्ता गरिसकेपछि मात्र जमिन सरकारी भूमि प्रशासन बैंकबाट सम्बन्धित व्यक्तिको नाममा हस्तान्तरण हुने व्यवस्था रहेछ । आज यहाँका सुकुम्वासीहरू उद्यमीका रूपमा सफल व्यवसायी बनेका रहेछन् ।
आज दोइतुङले आफ्नो सफलताको कथामा पुरै च्याङराई प्रदेशलाई लपेटेको छ । त्यतिले मात्र नभई थाइल्यान्डका सबै ७७ वटा प्रदेशमा फोहर व्यवस्थापन बैंक, घर-घरमा अर्ग्यानिक फोहर व्यवस्थापन बिन (डालो)को प्रयोग सुरु गरेर फोहर व्यवस्थापन बैङ्कको सफलता बाँडिरहेको छ । सबै भन्दा महत्त्वपूर्ण विषय त यी सबै परियोजनाहरू कुनै पनि विदेशी सहयोगमा नभई राजपरिवारको संरक्षणमा स्वदेशी सहयोग, दान दातव्य, सफल उद्यमीका सामाजिक कर्पोरेट कोषहरूको सहयोगमा सञ्चालन भएका रहेछन् । सन २००० देखि यी परियोजनाहरू स्वआर्जन सहित मुनाफामा रहेछन् । यी सफलताका सूत्रहरू आज थाइल्यान्डमा मात्र नभई इन्डोनेसिया, म्यानमार लगायतका मुलुकहरूमा विस्तार गरिएका रहेछन् ।
मेहनतका ती कथा र सफलताका सूत्रहरू सुनी सके पछि सहभागी राजदूतहरूले आ-आफ्ना मुलुकका अनुभव सहितयो सफल प्रयोगको विस्तारमा सहयोगका वाचाहरू सुझाए । तर म मेरै पहाडहरू सम्झेर केहीबेर हराएँ मनभरि हाम्रो मुलुकले पनि यसरी नै परिवर्तन गर्न सक्दो हो नि ! यदि जिम्मेवारी साथ जनताका समस्यालाई बुझ्न सकेको भए अथवा बुझ्न सके भन्ने लागिरह्यो र प्रस्तोता तथा आयोजनाका प्रमुखलाई सोधेँ- के नेपालका पहाडहरूमा घुम्न जाने समय मिलाउन सक्नुहुन्छ ? उनी अलि अलमलिए । एक क्षण पछि भने निकै उत्साहका साथ नेपाल जाने आफ्नो इच्छा सुनाए । केही समय हामी दुवै गहन छलफलमा बस्यौँ । दोइतुङको अध्ययन भ्रमण सकेर बैङ्कक फर्किए पछि Mae Fah Luang Foundation सँग हाम्रो छलफल बाक्लिँदो छ । मनभरि हुटहुटी छ । तर असङ्ख्य प्रश्नहरू छन् । दोइतुङ सफलताका बीज नेपाली संस्करणमा हाम्रा पहाडमा कहिले र कसरी राम्रोसँग रोप्न सम्भव होला ?
email: [email protected]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?