बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार थापाले रचना गरेको प्रहरी नारा सर्वोत्कृष्ट

बुधबार, ३० असोज २०८१, १३ : ४०
बुधबार, ३० असोज २०८१

काठमाडौँ । साहित्यकार घनबहादुर थापाले लेखेकाे प्रहरी नारा सर्वोत्कृष्ट हुन सफल भएको छ ।  प्रहरी प्रधान कार्यालयले आह्वान गरेको प्रहरी नारा प्रतिस्पर्धामा काठमाडौँका लेखक थापाले लेखेको दुईवटा नारा सर्वोत्कृष्ट हुन सफल भएको हो ।

प्रहरी नारा लेखक प्रतियोगितामा प्रथम भएका उनले नगद रु २० हजार पुरस्कारसमेत प्राप्त गरेक छन् । साइबर सुरक्षामा नेपाल प्रहरीको भूमिका र अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको भूमिका गरी दुई विषयसँग सम्बन्धित रहेर दुईवटा अलगअलग नाराका लागि प्रतियोगिता आयोजना गरिएको थियो । 

उक्त प्रतिस्पर्धामा नेपाल प्रहरीमा प्राप्त भएका नाराहरुमध्येबाट थापाले लेखेको दुईवटै नाराले प्रथम स्थान हासिल गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सर्वोत्कृष्ट बन्न सफल प्रहरी नारा साइबर सुरक्षातर्फ ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौँ निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण तथा अनुसन्धानतर्फ ‘अपराध रोक्ने सङ्कल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ रहेका छन् ।

लेखक थापाले नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्नेगरी प्रहरी नारा रचना गरिएको भन्दै दुवै नारा छनोट भएकामा खुसी व्यक्त गरे । उनले आफूले लेखेको नारा प्रहरीका हरेक कार्यक्रम तथा गतिविधिमा समावेश हुने भएकाले शान्तिसुरक्षा तथा अमनचयनमा आफूले पनि एक नागरिकका तर्फबाट योगदान दिएको अनुभूत भएको प्रतिक्रिया दिए ।

साहित्यकार घनबहादुर थापालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मङ्गलबाट नगद २० हजार पुरस्कारसहित कदरपत्रबाट सम्मान प्रदान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले आफ्नो ६९ औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित रहेर खुला प्रहरी नारा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।

साहित्यकार थापा यसअघि पनि विभिन्न साहित्यिक पुरस्कार र राष्ट्रिय अन्तर्राष्ट्रिय पदकद्वारा समेत सम्मानित भइसकेका छन् । उनका एकल तथा संयुक्त गरी छ वटा पुस्तक र करिब पाँच सय बढी लेखरचना प्रकाशित छन् । उनको ‘तिमीलाई नै’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?