शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई परपुरुषसँग समात्ने श्रीमान्लाई ‘एक्सटोर्सन’को मुद्दामा जेल सजाय

बुधबार, ३० असोज २०८१, १२ : ३४
बुधबार, ३० असोज २०८१

चीन । आफ्नी श्रीमतीलाई परपुरुषसँग रङ्गे हात समातेपछि क्षतिपूर्तिका रूपमा रकम लिने एक चिनियाँ पुरुषलाई अदालतले ‘एक्सटोर्सन’ को मुद्दामा दोषी ठहर गर्दै ६ महिना जेल सजाय सुनाएको छ ।

यो अनौठो घटना चीनको पूर्वी साङडोङमा भएको हो । सन् २०२१ को मार्चमा ३३ वर्षीय लूले छोरीलाई ट्युसन पढाउन निजी शिक्षककहाँ लैजाँदा आफ्नी श्रीमतीले तयार हुन निकै समय लगाउने गरेको याद गरे । एक दिन उनले आफ्नी श्रीमतीलाई पछ्याउने निधो गरे ।

जब उनले श्रीमतीको पिछा गरे, छोरीलाई पढाउनका लागि छाडेर श्रीमती एउटा होटलमा प्रवेश गरेको देखे । त्यो देखेर आफ्नी श्रीमतीले आफूलाई धोका दिँदै छिन् भनेर उनको मनमा चिसो पस्यो ।

जब उनी श्रीमती भएको कोठामा प्रवेश गरे, उनको आशङ्का सही साबित भयो । उनकी श्रीमती एउटा नग्न पुरुषको साथमा मात्र भित्री वस्त्र लगाएर ओछ्यानमा थिइन् ।

आवेगमा आएर लूले लीउ नाम गरेका ती व्यक्तिमाथि कुटपिट गर्न थाले । उनले आफ्नी श्रीमतीलाई समेत हातपात गरे । अन्ततः लूले ती व्यक्तिले राखेको २५ हजार युआन (३ हजार ३०० डलर) क्षतिपूर्ति तिर्ने अफर स्वीकार गरे । श्रीमतीसँग सुते बापत उनले तीन किस्तामा अनलाइन पैसा तिर्ने सहमति भयो ।

तर, जब डिभोर्सको मुद्दा सुरु भयो, उनी आश्चर्यचकित बने । लीउले उनीमाथि एक्सटोर्सनको मुद्दा पो लगाएका रहेछन् ।

यो योजनाको पछाडि उनकी पूर्वपत्नीको हात रहेको लू ठान्छन् । किनभने दुवै जना छोरीको अभिभावकत्व लिन चाहन्थे । सन् २०२१ को नोभेम्बरमा जिल्ला अदालतले लूलाई आफ्नी पत्नीको प्रेमीसँग आर्थिक क्षतिपूर्ति लिन ब्ल्याकमेलिङ गरेको आरोपमा जेल सजाय सुनायो ।

लूले यो आदेश विरुद्ध पुनरावेदन पनि गए । तर, सन् २०२२ को मार्चमा जिबो इन्टरमिडिएट पिपल्स कोर्टले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । उनी थप एकपटक सोही अदालतमा पुनरावेदन गरे पनि सन् २०२२ मा उनको अपिल खारेज गरिएको छ ।

त्यसपछि लू साङडोङको प्रान्तीय अदालतको ढोका ढक्ढकाउन पुगे । यसपटक भने अदालतले जिबो अदालतलाई यो मुद्दामाथि पुनर्विचार गर्न आदेश दियो ।

यो वर्षको सुरुमा जिबो अदालतले लूले २५ हजार युआनका लागि ब्ल्याकमेलिङ गरेको नभएर उनीहरूसँग छलफल गरेको ठहर गर्‍यो । साथै लीउले गरेको हर्तक अनैतिक भएको ठहर गर्दै लूको प्रतिक्रिया जायज भएको पनि बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप