बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
साहित्य

एक अद्भुत लेखकको लेखनी

ग्याब्रियल गार्सिया मार्खेजका पुस्तक कसरी पढ्ने ?
बुधबार, ३० असोज २०८१, १२ : ००
बुधबार, ३० असोज २०८१

कसैले उनलाई जादुगर भन्छन् । त्यस्तो जादुगर, जसले हाम्रो जीवनका निर्मम भोगाइ र वास्तविकतालाई विचित्रको कल्पनाशिलतामा मिसाइदिन सक्छ । उनी ग्याब्रियल गार्सिया मार्खेज हुन् । असाध्यै प्रिय कोलम्बियाली उपन्यासकार तथा नोवेल पुरस्कार विजेता साहित्यकार जसले जादुई यथार्थवादलाई परिभाषित गरे ।

१७ अप्रिलमा ८७ वर्षको उमेरमा बितेका उनका धेरै उद्धरणहरू इन्टरनेटमा छरपष्ट भेटिन्छन् । लेखनीमा जीवनका गहनताहरूको सजीव चित्रण, मृत्युको यथार्थ र खाँटी हास्यका लागि उनी सुपरिचित थिए ।

सिङ्गो संसारले उनलाई गुमाउनु पर्दा शोक मानिरहँदा हामी भने उनले छाडेका केही अनमोल उपहारहरूमा सान्त्वना भेट्न सक्छौँ । ती उपहार उनले लेखेका किताब नै हुन् ।

तपाईं माखेजका कृतिहरूबारे पहिलो पटक सुन्दै वा पढ्दै हुनुहुन्छ भने वा उनका पुस्तकको अध्ययन कहाँबाट थाल्ने भनेर अड्किनु भएको छ भने हामी तपाईंलाई केही सुझाव पस्कन सक्छौँ ।

पहिलो किताब सुरु गर्नेदेखि उनका चर्चित पुस्तक छिचोल्नेसम्म केही सरल र उपयोगी कुरा भन्छौँ । यसले तपाईंलाई ‘लभ इन द टाइम अफ कोलेरा’ र ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ लगायत उनका असाध्यै चर्चित पुस्तकसम्म पुग्न सजिलो पार्नेछ ।

  • पहिलोः ‘क्रोनिकल अफ डेथ फरटोल्ड’ बाट सुरु गर्नुहोस्

‘ऊ हामी सबैभन्दा स्वस्थ थियो, तर यदि तपाईंले स्टेथेस्कोप लिएर सुन्न खोज्नु भयो भने उसको मुटुमा आँसुका थोपा तपतप बजेको सुन्न सक्नु हुन्थ्यो...’

मार्खेज धेरै क्षेत्रमा सिद्धहस्त कलम चलाउने लेखकका रुपमा परिचित थिए । उनको मृत्यु चिन्तनमाथिको लेखनी खोतल्दा उनको उम्दा विचारबारे हामी त्यहाँ उनलाई सुम्सुम्याउन सक्छौँ ।

Chronicle of death fortold

यो उत्तरआधुनिक लघु उपन्यासमा उनले पुरानो रहस्यपूर्ण बिम्बमा नयाँ प्राण भर्ने सिप कुशलता साथ प्रयोग गरेका छन् । जबकि उनले उपन्यासको पहिलो पृष्ठमै हामीलाई पीडित को हो ? हत्यारा को हो ? तथा हत्याको नियत के थियो ? भन्नेबारे भनिसक्छन् ।

तर, पनि उनले अपराधलाई विविध कोणबाट हेर्दै, थप अनिश्चय सिर्जना गर्दै, कसरी एक्कासी भएको मृत्युले सहरमा प्रभाव पार्‍यो भन्ने देखाउँदै पाठकलाई उत्सुक बनाइराख्छन् । उनका अन्य चर्चित कृतिको तुलनामा संक्षिप्त यो पुस्तकले जुनसुकै नयाँ पाठकलाई उनको लेखन शैलीको राम्रो छनक दिन्छ ।

मार्खेजका अन्य पुस्तकसम्म पुग्न यस पुस्तकले पुलको काम गर्न सक्छ ।

  • दोस्रोः ‘द जेनेरल इन हिज लेबिरिन्थ’ पढ्नुहोस्

‘युद्धमा पहिलो घाइते प्रायः स्वतन्त्रता नै हुन्छ ।’

यो कृति ल्याटिन अमेरिककै चर्चित तथा ‘ग्रान कोलम्बिया’ का नेता सिमोन बोलिभारप्रति गहिरो श्रद्धासहित लेखिएको हो । यसमा मार्खेजले क्रान्तिकारी नायकका रूपमा सम्मानित व्यक्तिको जीवनको अन्तिम दिनहरूका घनिष्ठ र दुःखद् पलहरूलाई शब्दमा उतारेका छन् ।

General in his laybirinth

जब तपाईं ‘क्रोनिकल..’ बाट मार्खेजको कथावाचन शैलीबारे थाहा पाउनुहुन्छ, ‘द जेनेरल इन हिज लेबिरिन्थ’ सम्म आइपुग्दा उनले कोलम्बियाको राजनीतिबारे कुरा गर्न थालिसकेका हुन्छन् ।

स्पष्ट राजनीतिक बुझाइ, आफ्नो माटोप्रतिको अगाध माया र उपनिवेशवादीप्रतिको घृणा उनको लेखनको अर्को विशेषता हो । यस पुस्तकमा ल्याटिन अमेरिका र त्यहाँका जनताप्रति लेखकको विश्वास र प्रेमबारे तपाईं महसुस गर्न सक्नुहुन्छ ।

  • तेस्रोः अब ‘लभ इन द टाइम अफ कोलेरा’ पढ्नुहोस्

‘तिमी डरैडरमा मर्दैछौ भने पनि वा तिमिलाई पछि पछुतो हुन्छ भने पनि, उसलाई हुन्छ भनिदेऊ । किनभने तिमीले हुन्न भन्यौ भने पनि, तिमी जहाँ गए पनि, जे गरे पनि तिमीले भविष्यमा पश्चातापमै डुब्नु पर्नेछ । ’

Love in the time of cholera

यो उपन्यास पत्थरको मुटुलाई धुलो पिठो बनाउन सामर्थ्य राख्ने भव्य प्रेमकथा हो । यसले फ्लोरेन्टिनोले आफ्नो प्रेमिका फर्मिना अरु नै मान्छेसँग गएको चाल पाएपछि सिङ्गो जीवन उसैलाई पुनः प्रेम गर्ने अवसरको पर्खाइमा बसेको प्रेमीको अटल समर्पणको कथा कहन्छ ।

पाठकलाई हजारौँ वर्ष पुरानो कथामा रुमल्याइराख्न सक्नेमात्र होइन, त्यसमा झनै उत्सुक बनाउन सक्ने मार्खेजको कोमल हृदयबारे तपाईंलाई थाहा भयो र त्यसमा रस पस्यो भने बुझ्नु– तपाईंमा मार्खेजको जादुले काम गर्न थाल्यो ।

त्यसपछि मार्खेज पढ्न, बुझ्न र महसुस गर्न सजिलो हुन्छ ।

  • चौथोः ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ को आनन्द लिनुहोस्

‘मृत्युले उसलाई फरक पारेन बरु जीवनले पार्‍यो । र, त्यसैले उनीहरूले निर्णय दिँदा उसले गरेको अनुभूति डरको थिएन बरु अतितको सम्झनामा विरहको थियो ।’

यो यस्तो उपन्यास हो जसले धेरै पाठकलाई जादुई यथार्थवादको अप्ठ्यारो विधासँग परिचित गरायो । मार्खेजलाई यो उपन्यासले आफ्ना अरु कृतिलाई छायामा पार्ला कि भन्ने चिन्ता थियो ।

One-Hundred-Years-of-Solitude-

यो उपन्यास पढ्नु साँच्चै अद्भुत र अविस्मरणीय यात्रा गर्नु सरहको हो भन्दा फरक पर्दैन । उनका कृतिबारे अपरिचित पाठकलाई सिधै फट्को मारेर ब्युएण्डिया परिवारको बहु–पुस्ते कथामा पुग्न मन लाग्न सक्छ ।

तर, म धैर्य गर्ने सुझाव दिन्छु । विस्तारै उनका केही अन्य कृति छिचोल्नुहोस् । जब तपाईं तयार हुनुहुन्छ, त्यसपछि शक्तिशाली कथालाई एकै धागोमा उन्ने लेखकको क्षमतालाई साँच्चै बुझ्ने र प्रशंसा गर्ने गरी तपाईंले ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ को मजा लुट्न सक्नु हुन्छ ।

यो उपन्यासले अन्य लेखकहरू जस्तै अन्ने टाइलर, इजावेल एलेण्डे तथा इआन म्याकएवानलाई प्रेरित गरेको छ । यसले पाठकलाई पक्कै बाँधेर राख्ने छ । खासमा भन्ने हो भने यसमा जादु छ । जादु ।

  • पाँचौँः ‘अटम अफ द प्याट्रियार्क’ पढ्ने आँट

‘उसले आफूलाई आफ्नै विश्वासको बन्दी बनायो । ऊ आफैँ सहभागी अविरल विध्वंसमा आफैँलाई बलिदान गरिदियो । ऊ झुठ र गल्तीमा बाँच्यो अनि अपमान र लज्जामा फस्टायो । उसले लोभ र डरलाई आफूमाथि नियन्त्रण गर्न दियो, सँगै आफूलाई यी तीव्र इच्छाहरू भन्दा माथि पनि राख्यो...’

यसमा तानाशाहहरूको नागवेली यात्रा छ । शक्ति हासिल गर्दा र त्यसलाई जोगाउँदा गर्नुपर्ने संघर्षको कथा छ यसमा ।

Atumn of the patriarch

मार्खेजको ‘अटम अफ द प्याट्रियार्क’ जटिल राजनीतिक कृति हो । ‘वन हण्ड्रेड इयर्स अफ सोलिच्युड’ ले जीवनको कथा भन्छ तर अटमले जीवनलाई उत्कृष्ट र निकृष्ट दुवै रूपमा यसको व्याख्या गर्छ ।

यो एकदमै संयमतासाथ पढ्नु पर्ने कृति हो । तथापि तपाईंले मार्खेजका अन्य कृति राम्रोसँग पढ्नु भएको छ भने यसले असाध्यै राम्रो अनुभव दिनेछ ।

(एजेन्सीको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप

छुटाउनुभयो कि ?