सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

दानबापत एमालेले लिएको जग्गा फिर्ता भएको घोषणा गरोस् : नैनसिंह महर

बुधबार, ३० असोज २०८१, १० : १८
बुधबार, ३० असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन् । 

नेपाली कांग्रेसका सम्पर्क समितिहरूसँगको वानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको सम्झाउँदै महरले प्रधानमन्त्रीले कसैबाट दानदातब्य र नजराना लिनु सुशासनको खिलाफ हुने भएकाले  जनतामा आशा जगाउन तत्काल सो जग्गा फिर्ता गर्न आग्रह गरेका हुन् । 

दानकर्ता मीनबहादुर गुरुङ दम्पत्तीप्रति आफूहरूको कुनै आग्रह पूर्वाग्रह नरहेको बताउँदै नेता महरले गुरुङ दम्पती अस्पताल लगायत ठाउँमा दान गरिरहेका दानवीर व्यवसायी समेत रहेका बताए । तर व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभएसम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपूर्ण कार्य हुने महरको भनाई छ।   

अदालतले दोष ठहर नगरे सम्म सम्बन्धित व्यक्ति निर्दोष रहन्छ भन्ने कानुनी मान्यता भएपनि ललिता निवास जग्गा प्रकरणमा गुरुङलगायतको  मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै वेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिइ त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन भनेर जनताले नै प्रधानमन्त्री माथि प्रश्न उठाउने नेता महरको टिप्पणी छ । तसर्थ यथासक्य नेकपा एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ, नेता महरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप