बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
न्यायाधीशका कुरा

सर्वोच्चका न्यायाधीश मुसलमान : आफू दसैँको टीका लगाउँछन्, हिन्दु न्यायाधीशलाई मस्जिदमा नवाज पढाउँछन्

बुधबार, ३० असोज २०८१, १० : ३०
बुधबार, ३० असोज २०८१

काठमाडौँ । ‘मेरो समुदाय (मुस्लिम)बाट सर्वोच्च अदालतको न्यायाधीश बन्ने म दोस्रो भाग्यमानी व्यक्ति हुँ । यसअघि ताहिर अलि अन्सारी न्यायाधीश भएका थिए’ सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रातोपाटीसँगको कुराकानीमा भने । 

सर्वोच्चको न्यायाधीशमा नियुक्त भएको करिब एक वर्षपछि पहिलो पटक सञ्चारमाध्यमसँग आफ्नो अनुभव सुनाउन मन्जुर भएका मुसलमानले आफ्नो बाल्यकाल यसरी सम्झिए, ‘म हिन्दु त्यो पनि  तिवारी परिबार (जो कट्टर धार्मिक अनुशासन)मा बस्ने व्यक्तिको घरमा हुर्केका हुँ । मेरो बुबा सरकारी  हुलाक सेवाका कार्यरत हुनुहुन्थ्यो । हाम्रा सबै छिमेकीहरू हिन्दु थिए । हिन्दु परिवारले उनीहरूका चाडपर्वमा हामीलाई सहभागी गराउँथे । हामी रमाएर सहभागी हुन्थ्यौ, उनीहरू (हिन्दु) पनि हाम्रो चाडपर्वलाई सम्मान गर्दथे ।’

मुसलमान जन्मेको कपिलवस्तुको कृष्ण नगर हिन्दु धेरै अनि थोरै मुसलमान जनसङ्ख्या भएको बस्ती हो । दुई समुदाय असाध्यै मिलेर बस्ने गरेकाले उनीहरूबिचको भ्रातृत्व अहिले पनि अगाध छ ।

कपिलवस्तुमै बाल्यकाल बिताएका मुसलमान हुलाकीका छोरा थिए । बुबा मिलनसार स्वभावका भएकाले उनलाई सबैले बोलाउँथे, जुन प्रभाव यति बेलासम्म छ । बाल्यकालको प्रभावका कारण मुसलमान पनि विनम्रता र भद्रताको पक्षपाती हुन् ।

२०३६ सालमा एसएलसी पास गरेका मुसलमान उच्च शिक्षाका लागि नेपालगन्ज गएका थिए । बुबा, एक जना काका हुलाकका जागिरे अनि अर्का काका उर्दु साहित्यका विद्वान थिए । उनीहरूसँगको प्रभावले मुसलमान पढ्नु पर्छ भन्नेतिर आकर्षित भएका हुन् । यही कारण उनीमा   मेहनत गर्नुपर्छ, असल मानिस बन्नुपर्छ भन्ने चेतना जाग्यो । ‘सर्वोच्चको न्यायाधीश नै हुन्छु भन्ने चाहिँ लागेको थिएन’ उनले भने, ‘मेरो त इन्जिनियर बन्ने सपना थियो । परिवारको चाहना पनि त्यही थियो ।’ 

  • कानुनमा चासो 

उनी एसएलसी दिएर बसेको बखत परिवारमा एउटा अंश मुद्दा चल्यो । उनका बुबाले यो मुद्दामा मुसलमानलाई सामेल गराए ।

‘अलि अलि पढे लेखेको भएका कारण बुबाले मलाई त्यो मुद्दामा सामेल गराएको होला,’ उनी सम्झन्छन् । उनी मुद्दा लेख्ने वकिलको साथ लागेर अड्डा अदालत धाउन थाले । यसले उनलाई कानुनप्रति चासो बढायो । र, मुद्दाको फैसलामा पनि उनको परिवारको पक्षमा आयो ।

यसबिच उनले एसएलसीमा उच्च अङ्क ल्याए, अनि उच्च शिक्षा अध्ययनसँगै भविष्यको खोजी हुन थाल्यो । साइन्स (फिजिक्स) पढ्न नेपालगन्ज पुगे ।

‘तत्कालीन समयमा साइन्स पढ्नु फलामको चिउरा चपाउनु सरह थियो । यो चानचुने कुरा थिएन’ उनले उति बेलाको मेहनत सम्झँदै रातोपाटीसँग भने, ‘असफल हुने छुट मलाई थिएन ।’

 ‘१२ कक्षासम्म साइन्स अनि स्नातक चाहिँ इन्जिनियरिङ पढ्ने लक्ष्य लिएर म नेपालगन्ज गएको थिएँ । मेरो विद्यालयका एक जना गुरुले नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्पसको साइन्सको चिफ डा. विश्वनाथप्रसाद कुर्मीलाई पत्र नै लेखेर पठाउनु भएको थियो । त्यसले मलाई ढाडस मिलेको थियो ।’

परिवारको सल्लाह र डा. कुर्मीकै  निगरानीमा उनी महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्न थाले ।

‘तत्कालीन समयमा साइन्स पढ्नु फलामको चिउरा चपाउनु सरह थियो । यो चानचुने कुरा थिएन’ उनले उति बेलाको मेहनत सम्झँदै रातोपाटीसँग भने, ‘असफल हुने छुट मलाई थिएन ।’

क्याम्पसमा दैनिक जसो हडताल, तालाबन्दी र आन्दोलनका कारण कक्षा नचल्दा उनी बेलाबेला निराश हुन्थे । यद्यपि उनी अनेक दबाबमा थिए । उनलाई आफ्नो स्कुलका प्रधानाध्यापक आर वाई गुप्ता (जो अमेरिका पढेर गाउँमा फर्केर विद्यालय पढाउँथे) ले श्रीलङ्कादेखि भारतसम्म र नेपालकै पुल्चोक क्याम्पसमा पढ्नुपर्छ भन्ने सपना देखाएका थिए, यो उनको लागि दबाब थियो । गुप्ताले नेपालगञ्चका क्याम्पस प्रमुख बलभद्र भारतीलाई चिठी नै लेखेर ‘यो विद्यार्थी मेहनती र मेधावी छ, यसलाई साइन्स भर्ना गरी छात्रवृत्ति पनि दिनू’ पनि भनेका थिए ।

abdul aziz musalman-2

  • मोडियो घुम्ती  

आईएस्सी पढ्दै गर्दा मुसलमानको भेट भयो क्याम्पसका कानुन विभागका लेक्चरर डिल्लीराज पन्तसँग । पन्तको बहिनी–ज्वाइँ कपिलवस्तुको भएका कारण पनि निकटता बढ्यो । ‘उहाँ मलाई जिस्क्याएर ज्वाइँ पनि भन्नुहुन्थ्यो । पन्त मेरो बुबासँग पनि चिनजानको मानिस हुनुहुन्थ्यो । मेरो बुबालाई कानुन पनि राम्रै हुन्छ है भन्नुभएको रहेछ’ मुसलमानको पढाइलाई अर्कोतिर मोड्न यो सम्बन्ध उपयोगी बनेको रहेछ ।

साइन्स पढाइमा समस्याहरू आइरहेको बेला उनी घर पुगेका थिए । बुबालाई सबै कुरा बताएपछि उनले कानुन पढ्ने अनुमति पाए ।

‘मैले कानुनमा रुचि देखाएको कुरा अंश मुद्दाको क्रममा पहिचान गरेकाले बुबाले मलाई अनुमति दिनुभयो’ उनले भने, ‘कानुन पढे हाम्रो समुदायमा नयाँ पेसा पनि हुन्छ पनि भन्नुभयो ।’ 

त्यसपछि मुसलमान साइन्स छोडेर कानुनमा भर्ना भए । बीएलसम्मको अध्ययन सकेँ । इन्जिनियरिङ बन्ने सपना त्यागेर वकिल बने । 

अनि सरकारी निकायमा सल्लाहकारको भूमिकामा रहे, गैरसरकारी संस्थामा लामो समय कर्म गरे । लामो समय मानवअधिकारको क्षेत्रमा अनुभव सम्हालेका मुसलमानले वकालतमा धेरै वर्ष बिताए ।

त्यसपछि एलएलएम पढ्न भारत जाने निधोमा पुगेका मुसलमानले उत्तर भारतको अन्नामलई विश्वविद्यालयमा आवेदन दिए । त्यहाँबाट वाणिज्य कानुनमा एलएलएम गरे । फर्केर नेपालगन्जमै कानुन व्यवसायमा सक्रिय रहे । भारतबाट फर्केपछि मुसलमान झन् काबिल वकिल बने । नेपालगन्ज कार्यक्षेत्र रहे पनि उनको बहसको चर्चा बुटवलदेखि कर्णालीसम्म फैलियो । काठमाडौँमा पनि उनी चिनिन थाले । बहसमा बोलाइए ।

यसबिचमा उनलाई न्यायाधीश हुन साथीभाइबाट प्रेरित गर्ने कार्य भइरह्यो । उनी कर्ममै जुटिरहे ।

साथीभाइहरूले उनलाई न्यायाधीश हुनुपर्छ भनेर प्रेरित गर्न थाले । लक्ष्य न्यायाधीश थिएन, कानुन नजान्दा मुसलमान समुदायका धेरै मानिस समस्यामा रहेकाले कानुन व्यवसायबाट आफ्नो समुदाय र देशलाई केही योगदान गर्ने फराकिलो चाहना थियो । केही समय त्यही गरे । उनी कानुन व्यवसायसँगै मानव अधिकार क्षेत्रमा संलग्न हुन थाले,  संयुक्त राष्ट्र सङ्घको रुल अफ ल प्रोजेक्टमा आबद्ध भए । मानव अधिकार सङ्गठनमा पनि जोडिए ।

यसबिचमा उनलाई न्यायाधीश हुन साथीभाइबाट प्रेरित गर्ने कार्य भइरह्यो । उनी कर्ममै जुटिरहे । तत्कालीन समयमा जिल्ला अदालत र नेपालगन्जको अञ्चल अदालतमा बहस गर्न जान्थे । उनको बहसबाट न्यायाधीश पनि प्रभावित हुन्थे । मेहनत र कामसँग मात्र सरोकार राख्ने वकिल भनेर न्यायाधीशबाटै प्रशंसाका शब्द पनि सुन्न पाउँथे ।

‘म बहसबाट फर्केपछि फैसला वा आदेश के भयो भनेर कहिल्यै सोध्न गइनँ । जे आउँछ फेस गर्ने, अनि आफ्नो पक्षलाई इमानदार भएर त्यसको बारेमा जानकारी दिने मेरो बानी थियो’ उनले आफ्नोबारेमा सुनाए, ‘उल्टै कतिपय सेवाग्राहीले पो यस्तो आदेश भयो भनेर सुनाउने गर्दथे ।’ 

न्यायाधीश बनेपछि उनी आफ्नो विगतका बानीकै कारण धेरैले न्यायाधीश बन्नुपर्छ भनेर प्रेरित गरेका होलान् भन्ने ठान्छन् ।

तब त उनी २०७० सालमा न्यायाधीश भए । तत्कालीन प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले समावेशी कोटामा मुसलमानलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरे । उनी उच्च अदालतमा न्यायाधीश हुने मुसलमान समुदायको तेस्रो व्यक्ति हुन् । त्यसअघि ताहिर अलि अन्सारी सर्वोच्च र अलि अकबर मिकरानी उच्च अदालतका न्यायाधीश बनेका थिए ।

उच्चको न्यायाधीश बनेपछि सर्वोच्चकै न्यायाधीश हुन्छु भन्ने लक्ष्य उनको थिएन । उच्चबाटै जनताको सेवा गर्छु भन्ने अठोट चाहिँ लिए । पहिलो पटक हिमाली जिल्ला जुम्लास्थित उच्च अदालतमा खटिए । करिब १४ महिनाको अवधिमा न्याय सम्पादनबाट आत्मसन्तुष्टि मिल्यो । नेपालगन्जमा लामो समय रहेकाले जुम्ला, कालिकोट, सुर्खेतलगायत कर्णालीका जिल्ला उनका लागि नयाँ थिएन, यसले पनि काम गर्न सहज भयो । यद्यपि विगतमा न्याय माग्ने र न्याय तथा मानवअधिकारको पक्षमा आवाज उठाउने उनी यस पटक न्याय दिने भूमिकामा थिए ।

तब त न्यायाधीशको रूपमा रहँदा करिब तीन महिना असहजता महसुस गरे । ठन्डी र हिमपातका कारण हरेक वर्ष मङ्सिर, पुस र माघ महिनामा अदालतमा मुद्दा नहुने भएकाले मुसलमानले त्यस्तो महसुस गर्नु परेको हो । र पनि उनी जुम्लामै रहन्थे । वार्षिक बिदाबाट कट्टा हुने गरी नेपालगन्ज फर्के । 

अन्ततः उनको सरुवा बुटवल उच्च अदालतमा भयो ।  करिब डेढ वर्ष त्यहाँ न्याय सम्पादनमा रहेपछि उनको उच्च अदालत पाटनमा सरुवा भयो । पाटनबाट भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतमा मुसलमानको सरुवा भयो । डेढ वर्ष विशेषमा तत्कालीन अध्यक्ष प्रेमराज कार्कीसहितको टोलीसँग बसेर न्याय सम्पादनमा संलग्न रहे ।

यो अवधिमा भ्रष्टाचार  र सम्पत्ति शुद्धीकरणका मुद्दा हेर्ने क्रममा उनले भारतमा एलएलएम पढेको निकै उपयोगी पनि भयो ।

विशेषपछि उनलाई उच्च अदालत पाटन अन्तर्गतको हेटौडा इजलासमा सारियो । उनी न्यायाधीश हुँदै मुख्य न्यायाधीशसम्म भए । एक वर्षसम्म मुख्य न्यायाधीशका रूपमा न्याय सम्पादन गरेपछि उनलाई सर्वोच्च ल्याइयो । मुसलमान अहिले सर्वोच्चको स्थायी न्यायाधीश छन् ।

  • न्यायाधीशको क्रममा स्मरणयोग्य क्षण

न्यायाधीश जीवनमा उनले राम्रा सहयोगी पाए, अनुभव  बटुले । एक दशकको न्याय सम्पादनका क्रममा उनी कमै मात्र विवादमा परे । यद्यपि बुटवल उच्च अदालतको एक घटना भने उनी कहिल्यै बिर्सँदैनन् । बुटवलमा एउटा मुद्दा चार वर्षदेखि एक पछि अर्को न्यायाधीशकोमा पेसी तोकिने तर कसैले पनि फैसला सुनाउने हिम्मत नगर्ने चक्र चलेको उनले थाहा पाए । सार्वजनिक जग्गामा वुटबल व्यापार सङ्घले एउटा भवन बनाएको रहेछ । नगरपालिकाले भवन निर्माणमा सहयोग गरेको रहेछ ।

अदालतको भवनसँगै जोडिएको जग्गामा बनेको भवन भत्काउन माग गर्दै दायर मुद्दा सार्वजनिक सरोकार अन्तर्गत दर्ता भएको थियो । सुरुमा जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दामा ठहर नहुने फैसला भएको रहेछ ।

मुसलमानले आधार र कारण खुलाएर फैसला लेखे र, भवन भत्काउनु पर्ने नदेखिएकाले रिट खारेज हुने फैसला सुनाइयो । यो फैसलापछि उनी विवादमा तानिए, विरोध खेपे ।

त्यस विरुद्ध पुनरावेदन गरिएको मुद्दा उच्चमा पुगेको थियो । एक दिन मुसलमानलाई मुख्य न्यायाधीशले यो प्रकरणको पेसी बारे जानकारी गराए । लामो समय फैसला नहुँदा अदालतको आलोचना भइरहेको पनि सुनाए । मुसलमानले आफू संलग्न रहेको संयुक्त इजलास गठन गर्न सुझाए । मुख्य न्यायाधीशले आफू र मुसलमानको संयुक्त इजलासमा पेसी तोके । 

पेसीका दिन बहस भयो, अनि मुसलमानले नै फैसला लेखेर ४ वर्ष पुरानो मुद्दा टुङ्ग्याउने अठोट लिए । फैसला लेख्दा केही आधारहरू हरे ।

नगरपालिकाको आर्थिक सहयोग, जग्गासँगै भवन निर्माणको अनुमति हेरे । नेपाल सरकारका तर्फबाट उपप्रधान तथा सहरी विकास मन्त्रीले भवनको शिलान्यास गरेको अवस्था रहेछ ।  नेपाल सरकारको अनुदान परेको रहेछ ।

मुसलमानले आधार र कारण खुलाएर फैसला लेखे र, भवन भत्काउनु पर्ने नदेखिएकाले रिट खारेज हुने फैसला सुनाइयो । यो फैसलापछि उनी विवादमा तानिए, विरोध खेपे ।

 ‘फैसला सुनाएपछि रिट हाल्ने वकिल साथीहरूले त आज नै फैसला चाहियो भनेर दबाब सुरु गर्नुभयो’ मुसलमानले उक्त घटना सम्झँदै भने, ‘मैले फैसला लेख्न समय लाग्छ, तत्काल कसरी पूर्ण पाठ दिन सकिन्छ । मुख्य न्यायाधीशलाई भन्नू भने ।’

यसपछि मुसलमानको चर्को विरोध भयो । उनी विरुद्ध मुख्य न्यायाधीश समक्ष वकिलहरू पुगे । मुसलमानले सात दिनमै फैसलाको पूर्ण पाठ लेखे । तर, चार वर्षदेखि अल्झिएको मुद्दा टुङ्ग्याएकोमा धन्यवाद पाउनु पर्नेमा उनीमाथि उल्टै घुस खाएकोदेखि न्यायिक विचलनमा फसेको भनी न्याय परिषद्(काठमाडौँ)मा उजुरी दर्ता भयो । 

‘यसरी रिट हाल्ने कानुन व्यवसायीहरू  तत्कालीन प्रधान न्यायाधीश दामोदर शर्माकोमा पनि पुग्नु भएछ ’ मुसलमानले रातोपाटीसँग भने ‘तर प्रधान न्यायाधीशले फैसला हेरेर तपाईँहरूले उठाउनु भएको सबै प्रश्न त फैसलामा एक एक कारण खोलेर जवाफ दिएको छ नि भनी उल्टै प्रश्न सोध्नुभएछ ।’ 

प्रधान न्यायाधीशले फैसलामा आर्थिक चलखेल भएको प्रमाण के छ भनेर प्रश्न गरेपछि कानुन व्यवसायीहरू अनुत्तरित भएर फर्किएको भनेर बुटवल उच्च अदालतका मुख्य न्यायाधीशले सुनाएपछि मुसलमानले राहत महसुस गरे ।

‘त्यो केसमा म सत्यको पक्षमा थिए । मैले गरेको फैसलामा कुनै आर्थिक वा गलत कुरा थिएनन् । यही कारण म कसैको नजरमा पनि गिरिन्’ उनले त्यो फैसलालाई यति बेला आएर यसरी सम्झिए, ‘यो फैसलाले साथीभाइ र न्यायालयको नेतृत्वमा म झन् सक्षम ठहरिए ।’ 

‘मेरो अगाडी आजसम्म त्यस्तो कुनै मुद्दा आएको छैन जसमा म दोधार भएर कुन बाटो लिउ वा के निर्णय गरौँ भनेर अलमलिएको छु’ उच्च देखि सर्वोच्चसम्म आजको दिनसम्म मैले कानुन र संविधान अनुसारको बाटो देखेको छु र त्यही समाएर फैसला सुनाएको छु’ उनले आजसम्म आफ्नो पछाडि पनि कसैले कुरा काटेको सुन्न नपरेको जिकिर गरे ।

  • संसदीय सुनुवाइको अनुभव 

२०८० मङ्सिर ५ गते मुसलमानसहित ६ जनाको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भयो ।  

मुसलमानले लामो वकालत र १० वर्षे न्यायाधीशको अनुभव सुनाए । दुवैको लक्ष्य अन्यायमा परेकालाई न्याय दिने भएकाले अनुभवमा धेरै अन्तर नरहेको उनले बताए ।

उनीहरूको नाम संसदीय सुनुवाइ समिति पठाइयो । समितिले उजुरी आह्वान गर्‍यो । मुसलमानको हकमा एउटा उजुरी परेको थियो । हेटौडाकी एक महिलाले विदेशमा रहेकी आफ्नी बुहारीलाई अंश दिने फैसला सुनाएको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । यसबारे समितिमा छलफल हुँदा मुसलमानले मुलुकी  संहिताले दिएको अधिकार प्रयोग गरेर फैसला सुनाएको जवाफ दिएका थिए । 

स्पष्ट कार्य योजना र काम गर्ने उद्देश्य मात्र बोकेकाले संसदीय सुनुवाइका क्रममा निडर प्रस्तुति दिएको उनको भनाई छ ।

सर्वोच्चमा उनले पुरानो सूत्रलाई निरन्तरता दिँदै न्यायलाई केन्द्रमा राखेर फैसला सुनाउने गरेका छन् ।

  • वकिलमा खारिएकाको न्यायाधीश अनुभव 

मुसलमानले लामो वकालत र १० वर्षे न्यायाधीशको अनुभव सुनाए । दुवैको लक्ष्य अन्यायमा परेकालाई न्याय दिने भएकाले अनुभवमा धेरै अन्तर नरहेको उनले बताए ।

‘वकिल भए पनि न्यायाधीश भए पनि मुख्य काम अन्यायमा परेकालाई न्याय दिनु हो । खाली माध्यम मात्र फरक छ । वकालतको आफ्नै किसिमको आयाम र ओज छ’ उनले रातोपाटीसँग भने ‘वकिलले पक्षको हित हेर्छ । पक्ष संविधान र कानुन अनुसार ठिक छ कि छैन भनेर सिकाउनु  पर्छ र गलत छ भने सजाय भोग्नुपर्छ भनेर भन्न सक्नुपर्छ ।’ 

वकिलले प्रतिवादीको कुरा न्यायाधीशसम्म पुर्‍याउने माध्यमको काम गर्ने हो । न्यायको कुरा गर्ने हो ’ उनले भने ‘मैले मुद्दाको जिम्मा लिएपछि पक्षलाई बहसका क्रममा न्याय दिलाउने कोसिस गर्नेसम्मको अपेक्षा राख्नु भन्ने गरेको थिए । मिसिल र तथ्यले जे भन्छ, अदालतले त्यही ठहर गर्छ र, स्वीकार गर्नुपर्छ भनेर पहिले नै भन्ने गरेको थिए ।’  उनले कहिल्यै पनि मुद्दाको पक्षलाई म जिताउँछु भनेर वाचा नगरेको बताए ।

यो थियो उनको वकिल अनुभव । 

न्यायाधीश अनुभव अलि फरक भयो । उद्देश्य त न्याय दिने नै हो । ‘तर यसमा मिसिल र कानुनका विविध कुरा ध्यान दिनुपर्ने रहेछ’ उनले भने ।

‘वकालतमा जुन कुरा हुन्छ न्यायाधीश भएपछि त्यो विल्कुल एउटा सिक्काको अर्को पाटो हेर्नुपर्ने रहेछ ’ उनले यसलाई सिक्कासँग तुलना गर्दै भने ‘वकिल हुँदा कानुनको जिरह गरे पुग्थ्यो भने न्यायाधीशले न्यायको रोहमा कानुन हेरेर फैसला गर्नुपर्ने रहेछ । ’ 

  • वृन्दावन पुगेर टीका लगाए 

मुसलमान धार्मिक स्वतन्त्रताको पक्षधर हुन् । सधैँ सबै धर्मलाई सम्मान गर्नुपर्ने पक्षमा उभिए । विद्यार्थी कालदेखि न्यायाधीश हुँदासम्म उनी धार्मिक सद्भाव र सामाजिक भाइचाराको पक्षमा अविचलित छन् ।

त्यसलाई कामले नै पुष्टि गर्छ । उनी नेपालगन्ज हुँदा एकातिर मुसलमानको वकिल बसे, अर्कोतिर हिन्दु मुसलमानको सद्भाव समितिका संयोजक रहेर काम गरे  । उनी र बागेश्वरी मन्दिरका सन्त साथी हुन् । अहिले पनि बागेश्वरी मठका सन्त उनको घरमा आउँ–जाऊ गर्छन् ।

मुसलमानले गरेको अनुभव के हो भने उनको सङ्गतमा कुनै पनि हिन्दुले मुस्लिमलाई पेल्ने वा होच्याउने कहिल्यै गरेको छैन ।

उनी जन्मे–हुर्केको बाहुनको बाहुल्य गाउँ भएकाले स्वाभाविक रूपमै हिन्दुहरू नै छिमेकी थिए । दसैँ, तिहारलगायत सबै चाडमा बोलाएको घरमा उनी पुग्थे ।  जुन उनले बुबाबाट सिकेका हुन् । दसैँमा रङ्गीचङ्गी (रातो र सेतो) भएर टीका लगाएको, तिहारमा जताततै झिलिमिली देखेर रमाइलो मान्छन् उनी । न्यायाधीश भएयता पनि उनी सपरिवार नै हिन्दु साथीहरूको घर जान्छन्, दसैँमा शुभकामना साटासाट गर्छन्  । मुसलमानलाई हिन्दु धर्म आफ्नै जस्तो लाग्छ ।

नेपालगन्जमा अध्ययनका क्रममा हिन्दुकै घरमा बसे, टीका लगाउन थाले । पुजारीको हातबाट मन्दिरको टीका लगाएको अनुभव उनले सुनाए ।

इदमा हिन्दु साथीहरू उनको घरमा आउँथे । रमाइलो त के छ भने उनी वकालत गर्दा मुस्लिम वकिल भएर हिन्दुका विरुद्ध लडे तर सधैँ हिन्दुहरूको सहयोग र सद्भाव पाउन सफल भए । ‘नेपालगन्जको एक हिन्दुको जग्गामा मुस्लिमको मन्दिर बनाउने विवादमा म एक्लैले ४०/५० जना  हिन्दु वकिलहरू विरुद्ध पनि लडे, तर हिन्दुत्वप्रति मेरो आस्था र सम्मान कम भएन’ उनले भने ।

२०६२/०६३को दोस्रो जनआन्दोलनका क्रममा उनी पेसागत व्यावसायिक संगठनहरुको तर्फबाट नेतृत्वदायी भूमिकामा थिए । आन्दोलनका क्रममा पक्राउबाट जोगिन कैयौँ पटक हिन्दु मन्दिरभित्र प्रवेश गरे ।

मुसलमानले गरेको अनुभव के हो भने उनको सङ्गतमा कुनै पनि हिन्दुले मुस्लिमलाई पेल्ने वा होच्याउने कहिल्यै गरेको छैन ।

वकालतकै क्रममा एक पटक हिन्दुहरूको पवित्र स्थल मथुरा वृन्दावन पुगेर पूजाको व्यासमा बसेको अनुभव पनि उनीसँग छ । नेपालगन्जमै रहेर वकालत गर्दा मानव अधिकार सङ्गठनका तर्फबाट भारतको वृन्दावन पुगेका थिए उनी ।

साथीहरूले  वृन्दावनमा भगवान् श्रीकृष्णको मन्दिरमा जान अनुरोध गरेपछि उनी उत्साही हुँदै गए । मन्दिरमा पूजाकै व्यासमा बसेर करिब एक घण्टा आनन्दसँग भजनकीर्तन गरे । मन्दिरको पुजारीले टीका लगाउने क्रममा मुसलमान हुँ भन्ने नै बिर्से, रमाइलो मानेर टीका थापे । धार्मिक सद्भावका क्रममा एक हिन्दु न्यायाधीशले मस्जिदमा उनीसँगै नवाज पढेको मुसलमानले सुनाए । 

‘सबैले रङ्गीचङ्गी फूलबारीको रूपमा यो संस्कार अगाडि लानु पर्छ’ उनले भने ।

कुराकानीको अन्त्यमा उनले दसैँ, तिहार र छठको शुभकामना दिन मात्र भ्याएनन् । मात्तिने, आत्तिने नगरी संयम राखेर चाडपर्वहरूमा मनाउन आग्रह पनि गरे । ‘सबैले सबैको धर्मलाई सम्मान गर्दै चाडपर्व मनाउन’ उनको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप

छुटाउनुभयो कि ?