बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय
क्रिकेट इतिहासका रोचक प्रसङ्ग

धर्म परिवर्तन गर्ने विश्वका चर्चित क्रिकेटरहरू

बुधबार, ३० असोज २०८१, ०९ : १५
बुधबार, ३० असोज २०८१

 काठमाडौँ । विश्व क्रिकेटमा यस्ता धेरै खेलाडी छन्, जसले आफ्नो धर्म परिवर्तन गरेका छन् । यी खेलाडीले विभिन्न कारणले आफ्नो धर्म परिवर्तन गरेका हुन् । आफ्नो धर्म परिवर्तन गर्ने क्रिकेटरको सूचीमा खास गरी भारत र पाकिस्तानका खेलाडी बढी छन् । 

आफ्नो उत्कृष्ट खेल कौशलका कारण विश्वभर करोडौँ समर्थकको मन जित्ने क्रिकेटरहरू पनि यो सूचिमा छन् । हिन्दु परिवारमा जन्मिएका केही खेलाडी धर्म परिवर्तन गरेर क्रिस्चियन बनेका छन् भने केही हिन्दु खेलाडीले धर्म परिवर्तन गरेर इस्लाम धर्म अङ्गीकार गरेका छन् । 

यसैगरी, धर्म परिवर्तन गर्ने क्रिकेटरको सूचिमा दक्षिण अफ्रिकाका खेलाडी पनि छन् । यो सूचिमा श्रीलंकाली खेलाडी पनि रहेका छन् । यहाँ धर्म परिवर्तन गर्ने केही चर्चित क्रिकेट खेलाडीको बारेमा चर्चा गरिएको छ । 

  • रोविन उथप्पा (भारत)

भारतका चर्चित क्रिकेटर हुन्, रोविन उथप्पा । उनले भारतको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । तर, यी पूर्वक्रिकेटरले टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गर्ने अवसर पाएका थिएनन् ।

उथप्पाले भारतका लागि ४६ एकदिवसीय अन्तर्राष्ट्रियको ४२ इनिङ्समा कुल नौ सय ३४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर ८६ रन हो ।

यसैगरी, उनले १३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको १२ इनिङ्समा कुल दुई सय ४९ रन बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा अर्धशतक पनि बनाएका छन् । यसका अतिरिक्त उनले थुप्रै प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेट पनि खेलेका छन् । 

३८ वर्षीय उथप्पाको जन्म भारतको एक हिन्दु परिवारमा भएको थियो । तर, पछि उनी धर्म परिवर्तन गरेर क्रिस्चियन बनेका थिए । धर्म परिवर्तन गर्दा उनी केवल २५ वर्षका थिए । त्यतिबेला उनले खेल जीवनबाट सन्न्यास लिएका थिएनन् । 

  • विनोद कांबली (भारत) 

विनोद कांबली पनि भारतका पूर्वक्रिकेटर हुन् । उनले भारतका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । चर्चित क्रिकेटर सचिन तेन्दुल्करका बाल सखासमेत रहेका कांबलीले आफ्नो खेल कौशलले करोडौँ समर्थकको मन जितेका थिए । 

तर, उनको खेलजीवन लामो रहेन । उनले भारतका लागि १७ टेस्टको २१ इनिङ्समा कुल एक हजार ८४ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले चार शतक र तीनवटा अर्धशतक पनि प्रहार गरेका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय २७ रन हो ।

यसैगरी, कांबलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ९७ इनिङ्समा कुल दुई हजार चार सय ७७ रन बनाएका थिए । यो ढाँचाको क्रिकेटमा उनले दुई शतक र १४ वटा अर्धशतक बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ६ रन हो ।

हाल उमेरले ५२ वर्ष पुगिसकेका कांबली पनि भारतको एक हिन्दु परिवारमा जन्मिएका थिए । उनी पनि धर्म परिवर्तन गरेर क्रिस्चियन बनेका हुन् । आफ्नो सक्रिय खेलजीवनमा उनले भारतका लागि थुप्रै महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । 

  • वेन पार्नेल (दक्षिण अफ्रिका) 

वेन पार्नेल दक्षिण अफ्रिकाका क्रिकेट खेलाडी हुन् । उनी टोलीका प्रभावशाली अलराउन्डर थिए । पार्नेल दक्षिण अफ्रिकी टोलीको थुप्रै सफलताका साक्षी पनि हुन् । यी बलिङ अलराउन्डरले टोलीलाई आवश्यक पर्दा गतिलो ब्याटिङ पनि गर्थे ।

उनले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । पार्नेलले ६ टेस्टको १० इनिङ्समा कुल १५ विकेट लिएका छन् । उनले टेस्ट क्रिकेटको चार इनिङ्समा कुल ६७ रन बनाएका छन् । उनले ७३ एकदिवसीय अन्तर्राष्ट्रिमा कुल ९९ विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४८ रन खर्चिएर पाँच विकेट हो । एकदिवसीयमा उनले पाँच सय ७४ रन पनि बनाएका छन् । उनले ५६ टी–२० अन्तर्राष्ट्रियको ५५ इनिङ्समा कुल ५९ विकेट लिएका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३० रन खर्चिएर पाँच विकेट हो । टी–२० अन्तर्राष्ट्रिय २३ इनिङ्समा उनले ७४ रन पनि बनाएका छन् । दक्षिण अफ्रिकाको क्रिस्चियन परिवारमा जन्मिएका थिए । पछि ३५ वर्षीय पार्नेलले धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाएका थिए ।

  • तिलकरत्ने दिल्सान (श्रीलंका)

तिलकरत्ने दिल्सान श्रीलंकाली क्रिकेट टोलीका पूर्वखेलाडी हुन् । उनी आफ्नो समयका प्रभावशाली अलराउन्डर हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको ब्याटिङ जति आक्रामक थियो बलिङ पनि उत्तिकै धारिलो । उनले श्रीलंकालाई थुप्रै महत्त्वपूर्ण उपलब्धि पनि दिलाएका छन् । 

४८औँ वर्ष प्रवेशको सँघारमा रहेका तिलकरत्ने दिल्सानले श्रीलंकाका लागि १७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने क्रिकेटर पनि हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

उनले ८७ टेस्टको एक सय ४५ इनिङ्समा कुल पाँच हजार चार सय ९२ रन बनाएका छन् । टेस्टमा उनले १६ शतक र २३ अर्धशतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने एक सय ९३ रन हो । उनले टेस्ट क्रिकेटमा ३९ विकेट पनि लिएका छन् । 

यसैगरी, उनले तीन सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १० हजार दुई सय ९० रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २२ शतक र ४७ अर्धशतक पनि बनाएका छन् । उनले यो ढाँचाको क्रिकेटमा बनाएको उच्च स्कोर अविजित एक सय ६१ रन हो । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ६ विकेट पनि लिएका छन् । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८० खेल खेल्दै कुल एक हजार आठ सय ८९ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र १३ अर्धशतक प्रहार गरेका छन् । 

टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने अविजित एक सय चार रन हो । यो ढाँचाको क्रिकेटमा उनले नौ विकेट पनि लिएका छन् । उनी श्रीलंकाको मुस्लिम परिवारमा जन्मिएका थिए । पछि उनले इस्लाम धर्म छाडेर बौद्ध धर्म अपनाएका थिए । 

  • सुरज रणदीप (श्रीलंका) 

सुरज रणदीप आफ्नो समयका चर्चित श्रीलंकाली बलर हुन् । दायाँहाते यी स्पिन बलरले श्रीलंकाली टोलीका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । ६ फिट अग्ला यी श्रीलंकाली बलरको अन्तर्राष्ट्रिय खेलजीवन भने खासै लामो रहेन ।

३९ वर्षीय सुरज रणदीपले १२ टेस्टको २१ इनिङ्समा कुल ४३ विकेट लिएका छन् । टेस्टमा उनको उत्कृष्ट प्रदर्शन ८२ रन खर्चिएर पाँच विकेट हो । टेस्ट क्रिकेटमा उनले कुल एक सय ४७ रन पनि बनाएका छन् ।

यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ३६ विकेट लिएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ४२ रन खर्चिएर पाँच विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुई सय ८० रन पनि बनाएका छन् ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको सात इनिङ्समा कुल सात विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो । उनी श्रीलंकाको मुस्लिम परिवारमा जन्मिएका थिए । पछि उनले धर्म परिवर्तन गरेर बौद्ध धर्म अपनाएका थिए । 

  • युसुफ योहाना (पाकिस्तान)

आफ्नो समयका चर्चित पाकिस्तानी क्रिकेटर हुन्, युसुफ योहाना । उनी पाकिस्तानी टोलीका आक्रामक ब्याट्सम्यान थिए । उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनी पाकिस्तानी टोलीको थुप्रै सफलताका साक्षी पनि हुन् । 

५० वर्षीय युसुफ योहानाले पाकिस्तानका लागि १६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनले ९० टेस्टको एक सय ५६ इनिङ्समा कुल सात हजार पाँच सय ३० रन बनाएका छन् । टेस्टमा उनले २४ शतक र ३३ अर्धशतक प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर दुई सय २३ रन हो ।  

यसैगरी, उनले दुई सय ८८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल नौ हजार सात सय २० रन बनाएका छन् । उनले यो ढाँचाको क्रिकेटमा १५ शतक र ६४ वटा अर्धशतक पनि बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ४१ रन हो । 

यसैगरी, उनले तीनवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ५० रन बनाएका छन् । टोलीलाई आवश्यक पर्दा उनी बेला बखत बलिङ पनि गर्थे । उनी पाकिस्तानको एक क्रिस्चियन परिवारमा जन्मिएका थिए । पछि उनले धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाएका थिए । उनी हाल मोहम्मद युसुफ नामबाट चिनिन्छन् । 

  • कृपाल सिंह (भारत) 

अमृतसर गोविन्दसिंह कृपाल सिंह भारतका निकै पुराना क्रिकेटर थिए । उनी आफ्नो समयका चर्चित अलराउन्डर खेलाडी थिए । उनले भारतका लागि टेस्ट क्रिकेटमात्र खेलेका थिए । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेट पनि खेलेका थिए । 

सन् १९३३ को अगस्त ६ तारिखमा तत्कालीन मद्रासमा जन्मिएका कृपाल सिंहले भारतका लागि १४ टेस्टको २२ इनिङ्समा कुल चार सय २२ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले एक शतक र दुई अर्धशतक पनि बनाएका थिए ।

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित एक सय रन हो । यसका अतिरिक्त उनले ९६ वटा प्रथम श्रेणीको क्रिकेट पनि खेलेका थिए । प्रथम श्रेणीको क्रिकेटमा भने उनले कुल चार हजार नौ सय ३९ रन बनाएका थिए । 

उनले टेस्ट क्रिकेटमा १० र प्रथम श्रेणीको क्रिकेटमा एक सय ७७ विकेट पनि लिएका थिए । उनी भारतको एक सिख परिवारमा जन्मिएका थिए । पछि उनले सिख धर्म छोडेर क्रिस्चियन धर्म अपनाएका थिए । सन् १९८७ को जुलाई २२ तारिखमा केवल ५३ वर्षको उमेरमा उनको निधन भएको थियो । 

  • शिवनारायन चन्द्रपौल (वेस्ट इन्डिज) 

वेस्ट इन्डिजका आफ्नो समयका आक्रामक ब्याट्सम्यान थिए, शिवनारायन चन्द्रपौल । उनी क्यारेबियन टोलीका लागिको थुप्रै अन्तर्राष्ट्रिय सफलताका सारथि पनि हुन् । उनी वेस्ट इन्डिजका लागि २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने क्रिकेटर पनि हुन् । 

५० वर्षीय चन्द्रपौलले वेस्ट इन्डिजका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले एक सय ६४ टेस्टको दुई सय ८० इनिङ्समा कुल ११ हजार आठ सय ६७ रन बनाएका थिए । उनले टेस्टमा ३० शतक र ६६ अर्धशतक पनि बनाएका छन् ।

उनले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर अविजित दुई सय तीन रन हो । उनले टेस्ट क्रिकेटमा नौ विकेट पनि लिएका छन् । उनले दुई सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ हजार सात सय ७८ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ११ शतक र ५९ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ५० रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १४ विकेट पनि हात पारेका छन् ।

यसैगरी, उनले २२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल तीन सय ४३ रन बनाएका छन् । उनको जन्म क्यारेबियन राष्ट्र गायनको एक स्थानीय जनजाति परिवारमा भएको थियो । पछि उनी आफ्नो धर्म परिवर्तन गरेर हिन्दु बनेका थिए । 

  • ब्योर्न कार्ल फोर्टुइन (दक्षिण अफ्रिका) 

ब्योर्न कार्ल फोर्टुइन दक्षिण अफ्रिकाकी क्रिकेट टोलीका खेलाडी हुन् । उनी अहिले पनि खेलजीवनमै सक्रिय छन् । उनी टोलीका प्रभावशाली बलर हुन् । उनले दक्षिण अफ्रिकाका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

उनले टेस्ट क्रिकेटमा भने अझै ‘डेब्यू’ गरेका छैनन् । २९ वर्षीय ब्योर्नले ११ एकदिवसीय अन्तर्राष्ट्रियको १० इनिङ्समा कुल १३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २२ रन खर्चिएर दुई विकेट हो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५७ रन बनाएका छन् ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको २५ खेलमा कुल २० विकेट लिएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने केवल १६ रन खर्चिएर तीन विकेट हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ७६ रन बनाएका छन् । 

यसका अतिरिक्त उनले थुप्रै प्रथम श्रेणीको क्रिकेट पनि खेलेका छन् । उनले सन् २०१९ मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनी दक्षिण अफ्रिकाको क्रिस्चियन परिवारमा जन्मिएका थिए । पछि उनले धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाएका थिए । उनलाई हाल ईमाद नामले चिनिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप

छुटाउनुभयो कि ?