पर्यटकको पर्खाइमा चुरियामाई सुरुङ
मकवानपुर । दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ मार्ग’ जीर्णोद्धारपछि सर्वसाधारणको पर्खाइमा छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङको जीर्णोद्धार सम्पन्न भइसकेको छ ।
सर्वसाधारणका लागि खुलाउने तयारी भए पनि यसबारे ठोस निर्णय भने हुन सकेको छैन । सुरुङको संरक्षण र सञ्चालनको विषय निर्क्योल नहुँदा जीर्णोद्धार सकिए पनि नागरिकले अवलोकन गर्न पाएका छैनन् ।
२०७९ वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी १९८ मिटर लम्बाइको सुरुङ मार्ग पुनर्निर्माण थालिएको थियो । काम सम्पन्न हुँदासम्म यसको लम्बाइ करिब २२५ मिटर पुगेको छ । ऐतिहासिक महत्त्वको सुरुङ मार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बागमती प्रदेश सरकारले जीर्णोद्धार गराएको हो ।
प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनर्निर्माणका लागि कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँलाई जिम्मेवारी दिएको थियो । सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनर्निर्माण सम्पन्न भएको छ ।
यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका अनुसार तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा विक्रम सम्वत १९७५/०७६ मा निर्माण भएको सुरुङको जीर्णोद्धारको काम सम्पन्न गरेर सञ्चालनका लागि स्थानीय तहलाई बुझाउने तयारी भइरहेको छ । सुरुङ मार्गका दुवैतर्फको प्रवेशद्वार खुला रहे पनि सुरुङको बिचमा करिब ४० मिटर भासिएको भाग हटाएर मर्मत सम्भारपछि आवतजावत गर्न सकिने बनाइएको छ ।
‘सुरुङको दुवैतर्फको मुख खुलै रहे पनि भित्री भाग भासिएको थियो । करिब ४० मिटर भासिएको स्थानबाट ढुङ्गा र माटो निकालेपछि सुरुङ वारपार गर्न मिल्ने भएको हो,’ निर्देशनालयका प्रमुख पुष्कर प्रसाद पोखरेलले भने ।
उनका अनुसार २.५ मिटर चौडा र ३ मिटर उचाइ तथा ५०० मिटर लम्बाइको सुरुङ मार्गको आधाभन्दा बढी भाग हेटौँडा–पथलैया सडक विस्तारका क्रममा भत्काइएको छ । सुरुङको दक्षिण प्रवेशद्वार सुरक्षित रहे पनि उत्तरतर्फ सडक विस्तारका क्रममा क्षति भएकाले अर्को प्रवेशद्वार निर्माण गरिएको उनले बताए ।
चुरे पहाड शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि यो सुरुङ मार्ग लामो समयसम्म प्रयोगविहीन बनेको थियो । गत असोजमै निर्माणको सम्पूर्ण काम सकिए पनि केही प्राविधिक काम बाँकी रहेकाले हस्तान्तरणमा थप केही महिना लागेको निर्देशनालयका प्रमुख पोखरेलले बताए ।
पोखरेलका अनुसार सुरुङ मार्ग पर्यटकीय उद्देश्य अनुरूप पुनर्निर्माण गरिएकाले सर्वसाधारणले अवलोकन गर्ने गरी सञ्चालन गर्न स्थानीय तह वा सञ्चालक समिति निर्माण गरी हस्तान्तरण गर्ने तयारी छ । सुरुङ रहेको स्थानीय तह हेटौँडा उपमहानगरपालिकासँग सञ्चालनको अधिकार हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
सुरुङ मार्ग प्रयोगसम्बन्धी निश्चित कार्यविधि र मापदण्ड बनाएर मात्रै सर्वसाधारणका लागि खुला गरिने पोखरेलले जानकारी दिए । सुरुङ मार्ग र सोको इतिहासका विषयमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि सुरुङ तयारी अवस्थामा रहेको उनले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ भने सुरुङ मार्गको दुवै प्रवेशद्वारमा सजावटको कामसमेत भएको छ ।
- सुरुङ मार्गको ऐतिहासिक महत्त्व
‘चुरियामाई सुरुङ’ मार्गको डिजाइन र निर्माण कार्य इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाको नेतृत्वमा १९७४ सालमा सुरु भएको थियो । तत्कालीन समयमा सुरुङ निर्माण कार्यका लागि दुई वर्ष लागेको बताइन्छ ।
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसिया कै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।
तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग निर्माणमा नेपाली सेना खटिएका थिए । ७ सय मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्गबाट मालवाहक सवारी आवतजावत गर्दथे ।
भारतको रक्सौलबाट बारा जिल्लाको अमलेखगन्जसम्म रेल मार्ग भएर आउजाउ गर्न र मालसामान ओसारपसार गर्न सकिने भए पनि अमलेखगन्जबाट मकवानपुरको हेटौँडा र भीमफेदीसम्म आइपुग्ने सडक मार्गलाई जोड्न सुरङ मार्ग निर्माण गरिएको थियो ।
हाल मकवानपुर र बारा जिल्लाको सिमाना हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित चुरे पहाड छिचोल्ने गरी उक्त सुरुङ मार्ग तत्कालीन समयमा उपलब्ध प्रविधिसँगै माटो, इँटा, चुना र सुर्ती प्रयोग गरी निर्माण गरिएको थियो ।
२०२०/०२१ सालसम्म मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङ मार्ग भएर जिप, लरीलगायतका साना सवारी आवतजावत गर्ने गरेका थिए । नेपालमा चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको स्वीस नागरिक टोनी हेगनले आफ्नो पुस्तकमा उल्लेख गरेकाले चुरियामाई सुरुङ मार्ग नै एसियाको पहिलो सुरुङ मार्ग भएको पुष्टि हुन्छ ।
पूर्व–पश्चिम राजमार्ग निर्माण हुनु अघि भारतबाट आयात हुने सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने र ती सामग्री भीमफेदीबाट मानिसले बोकेर काठमाडौँ पुर्याउने गरिन्थ्यो । तत्कालीन समयमा ‘चुरियामाई सुरुङ मार्ग’ काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख नाकाको रूपमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने