पंचायत स्मारिका : नेपाल अधिराज्यको बनोट
क. क्षेत्रीय सन्दर्भ
एसिया महाद्वीपको जुरोको रूपमा रहेको हिमाल पर्वतमाला पूर्वमा नाम्चा बर्वादेखि पश्चिममा नङ्गा पर्वतसम्म झण्डै २,४०० किलोमिटर लाम्चिएको छ । यसमध्ये एकतिहाइ भाग र अधिकांश अग्ला हिउँचुलीहरू नेपाल सरहद भित्र पर्दछन् । त्यसैले हिमाल नेपालको प्रमुख चिनारी हुनुको साथै नेपाल देश हिमवत्खण्डका राज्यहरूमध्ये एक हो । नेपालको वास्तविक इतिहास केलाउनको लागि क्षेत्रीय भौगोलिक सन्दर्भ पहिल्याउनु आवश्यक छ ।
सामान्यतया अग्ला पर्वतमाला एउटा प्राकृतिक पर्खालको रूपमा उभिएको हुन्छ । जस्तै, हिमालले मध्य एसियाको सिरेटो हावा र दक्षिण एसियाको मनसूनी हावालाई छेकेको पाइन्छ । तर केही अपवादहरू विचारणीय छन् । उदाहरणका लागि सत्रुद–सतलज, हुम्ला कर्णाली फुङच्यू–अरूण तथा वाङ्पो ब्रह्मपुत्र जस्ता ठूला नदीहरू भोटबाट उर्लंदै, हिमाल छिचोल्दै हिन्द महासागरमा साम्य भएका छन् । यसबारे दुई वैज्ञानिक धारणाहरू छन् । पहिलो धारणा अनुसार यी नदीहरू हिमाल भन्दा जेठा हुन् र हिमालको क्रमशः उठान साथ–साथै आफ्ना निकास–बाटो रेटेर कायम राखे । अर्काे धारणा अनुसार हिमाल जेठो हो र यी नदीहरू आफ्नो स्रोत तर्फ कटान गर्दै हिमाल उत्तर विस्तारित भए । यसमध्ये, पहिलो धारणा बढी भरपर्दो मानिएको छ ।
प्राकृतिक रूपमा केही नदीहरूले हिमाल पार गरेका छन् भने सांस्कृतिक रूपमा पनि हिमाल विशेष तगारो नरहेको इतिहास साक्षी छ । त्यसैले एसियाली मूल जातिहरू आर्य र मंगोलको दोसाँध उच्च हिमाल शृङ्खला रहेन । उनीहरूको मुख्य जम्काभेट नेपालको गण्डकी क्षेत्रमा पाइन्छ । गण्डकी पूर्व मंगोल जातिहरू भोट, हिमवत्खण्ड, भित्री मधेश, दुवार ब्रह्मपुत्रको फाँटमा फिजिएका छन् । त्यस्तै गण्डकी पश्चिम आर्यहरू भारतखण्डे मैदानमा मात्र होइन काश्मीर, काङ्गडा, गढवाल, कुमाउँ र कर्नाली क्षेत्रको हिमाली भेगमा व्याप्त भए । नयाँ ठाउँको खोजीमा मङ्गोलहरू पश्चिम र दक्षिण लागे तथा आर्यहरू उत्तर र पूर्व दिशातिर ।
कहिले काहीं शक्तिको भरमा केही जातिहरू आफ्नो थलो भन्दा धेरै टाढा दखल गर्न पुगे । सातौँ शताब्दीमा भोटका राजा स्रोङचेन–गेम्पोले आफ्नो राज्य हिमाल दक्षिण कोशी क्षेत्र र गंगा फाँटसम्म पुयाए । यसको लगत्तैपछि कश्मीरका राजा जयापीड काली गण्डकी सम्म हानिए । त्यस्तै १३ औं शताब्दीमा बर्मेली अहोमहरूले असाम दखल गरेर अर्काे ४०० वर्ष सम्म आफ्नो आधिपत्य कायम राखे । पश्चिम हिमवत्खण्डका खसहरूको जगजगी १२ औं शताब्दीमा शुरू भयो र १४ औं शताब्दीसम्ममा भोटका गुगे र पुरङ क्षेत्र लगायत कुमाउँ तथा कर्नाली क्षेत्रमा आफ्नो साम्राज्य कायम राखे । ईस्वी १२८८ मा खसहरूले काठमाडौं उपत्यकालाई पहिलो पटक थर्काए । आफ्नो सामान्य थलो भन्दा टाढा हानिएका केही उल्लेखनीय घटना २०० वर्ष यताका छन् । ईस्वी १७९२ मा चीन र भोटका फौजहरू हिमाल नाघेर नुवाकोट सम्म ओर्लेर विजय हासिल गरे । ईस्वी १८१५ सम्म खस बाहुनको नेतृत्वमा गोर्खालीहरू टिष्टा देखि सतलज सम्म आफ्नो खाँडो धुन पुगे । ईस्वी १८३३ मा जम्मुका जोरावर सिंहले लद्दाख लगायत पश्चिम भोट हमला गरेर कश्मिर राज्य हिमालको उत्तर फिंजाए । ईस्वी १८५६ मा गोर्खालीहरूले भोटमा हमला गरेर आफ्नो शक्ति प्रदर्शन गरेर सो लढाई पछिको सन्धि अर्काे १०० वर्ष कायम रहयो ।
वर्तमान नेपालले ओगटेको भूभाग १८ औं शताब्दीको उत्तरार्ध सम्म विभिन्न राजनैतिक इकाईहरूमा विभाजित थियो । यो विभाजन संख्याको साथै प्रकारमा पनि थियो । जातीय सभ्यता र ऐतिहासिक क्रममा राज्य व्यवस्था भौगोलिक क्षेत्र अनुसार बेग्ला बेग्लै ढंगको थियो ।
दक्षिण एसिया वा जम्बुद्वीप भारतखण्डे इतिहासमा नेपाल लगायत अन्य हिमवत्खण्ड एउटा सीमान्त क्षेत्रको रूपमा रह्यो । यसको मूल कारण हिमालको कछाडमा रहेको तराई प्रदेशको औलीया वातावरण थियो । ईस्वी १३२८ मा मुगलहरूले हिन्दुस्तानमा पहिलो पटक हमला गरे र यसको ३१० वर्ष पछि ब्रह्मपुत्र पुगी अहोमसित सन्धि गरे । भारतखण्ड मध्य देश (मधेश) मा ईस्लामी पक्षको बराबर आक्रमण पछि मैदानका केही हिन्दूहरू पश्चिम हिमवत्खण्ड क्षेत्रमा उक्लन बाध्य भए । हिन्दूहरूको साथमा मध्य देशको परिष्कृत धर्म, कूटनैतिक शास्त्र र धातु अस्त्र थियो र स्थानीय खस तथा मंगोलहरूमाथि आधिपत्य कायम गर्न सफल भए ।
कश्मिर, कुल्लु, कांगडा, सतलज र यमुना बीचको वाह र अठार ठकुराई, गढवाल कुमाउँ र कर्नाली खसान प्रदेशहरूमा यिनै हिन्दू राजाहरूको रजाइँ भयो । यिनीहरू कर्नालीको बाईसी राज्यहरू पछि क्रमशः गण्डकीको चौवीसी राज्य पनि कव्जा गरी पूर्वतिर हानिए । व्यापक क्षेत्रीय सन्दर्भमा पश्चिमा आर्य र पूर्वीया मंगोलहरूको हिमवत्खण्डमा भेट हुन्छ । यसै गरी आर्य, खस र मंगोल किरांतीहरूको संघर्ष र समागमको मुख्य थलो आधुनिक नेपालको भूभाग हुन्छ ।
ख. ऐतिहासिक पृष्ठभूमि
वर्तमान नेपालले ओगटेको भूभाग १८ औं शताब्दीको उत्तरार्ध सम्म विभिन्न राजनैतिक इकाईहरूमा विभाजित थियो । यो विभाजन संख्याको साथै प्रकारमा पनि थियो । जातीय सभ्यता र ऐतिहासिक क्रममा राज्य व्यवस्था भौगोलिक क्षेत्र अनुसार बेग्ला बेग्लै ढंगको थियो । काठमाडौं उपत्यकामा अघिदेखिनै विशिष्ट किसिमको राज्य स्थापना भइसकेको थियो भने कोशी क्षेत्रमा आधुनिक कालसम्म पनि जाति–बगालहरूको रजाई थियो । उता पश्चिम पट्टि क्रमशः कर्नाली र गण्डकी क्षेत्रमा मध्यकाल पछि स्थापना भएका ठकुराइहरूको काली पारबाट पोखिएको व्यवस्था थियो । पछि बृहत् नेपालको बनोटमा प्रदेशगत आन्तरिक शक्ति संघर्ष भन्दा अन्तरप्रदेश सम्पर्ककी ठूलो प्रभाव पर्न गयो । मूलतः यो सम्पर्क दुई प्रकारको थियो । पहिलो, काठमाडौं उपत्यकाको भारतखण्डसित घनिष्ठ सम्बन्ध र दोस्रो अन्य व्यापक प्रदेशहरू मध्ये पश्चिमबाट पूर्वतिर शक्तिको पेलान थियो ।
१. सगोल इतिहास
आधुनिक नेपालको उठान वागमतीको सिरानमा रहेको काठमाडौं उपत्यकाको पुरातन इतिहासबाट शुरू हुन्छ । भारतखण्डे कृष्णले होस् वा उत्तरखण्डे मन्जुश्रीले आरम्भ गरेको होस्, यहाँको बस्ती धेरै पुरानो थियो । मूल बासिन्दा किराँती नेवार थिए । शुरूमा गोठालाहरू भएपछि कुटो कोदालोले खेती गर्न थाले । चार भन्ज्याङ भित्रको मलिलो माटोले विभिन्न आक्रमणकारीहरूलाई लोभ्याए र यस मध्ये धेरै शासकहरू दक्षिण मैदानबाट उक्लेका थिए । कैयन राजवंशहरू उदाए र बिलाए । धार्मिक धारणा मुख्य रूपले भारतखण्डे रह्यो ।
नेपालको खाल्डोको आय कृषिमा मात्र आधारित थिएन । मध्यकाल देखिनै यो थलो हिन्दूस्थान र भोट बीचको व्यापारको मूल चौतारो बनीसकेको थियो । आर्थिक सम्पन्नताले गर्दा यो सानो भौगोलिक क्षेत्रभित्र तीन धनी राज्यहरू अटाउन सके । कान्तिपुर, पाटन र भक्तपुर तीनै राज्यले कर्नाटकबाट ल्याएका भवानीको स्थापना गरे तर आपसी हानथाप शक्तिको भन्दा बैभवमा हुन्थ्यो । यहाँका राजाहरू बलियो भएको बेला राज्य विस्तार पूर्वमा दूध कोशी र पश्चिममा त्रिशूली खोलासम्म पुग्दथ्यो र खास तात्पर्य व्यापार बाटो खुला गर्नुको लागि हुन्थ्यो । नेपाल खाल्डोका सुनौला गजुरहरू बाहिरियाहरूको आँखा हुन गए र कहिलेकाहीं लुटेर लैजाने गर्दथे । यस क्रममा सर्वप्रथम सिजाका जितारी मल्लले ईस्वी १२८८ मा हाने र पछि सम्म खसहरूको हमला जारी रह्यो । १८ औं शताब्दीको मध्य भाग तिर गण्डकी क्षेत्रका गोर्खाली पूर्व हान्न तम्सिरहेका थिए । नेपाल खाल्डो उनीहरूको लागि लक्ष्य र साधन दुवै थियो ।
नेपाल खाल्डोको सम्पन्नता र संस्कृतिको दाँजोमा अन्य प्रदेशहरू धेरै पछि परेका थिए । पूर्वमा कोशी क्षेत्रको इतिहास लामो छ तर राज्य व्यवस्थामा विशेष विकास हुन सकेको थिएन । कोशीपारी मधेशमा असामबाट आएका जातिहरूको राज थियो । पहाड खण्डमा सातौं शताब्दी देखि नै किरातीहरूको समूहगत क्षेत्र थियो जुन १० ठालुहरूको मातहत थियो । यस ताका पल्लो किराँतको केन्द्र पाँचथर फेदेन र माझ किराँतको खोटाङको चामलिङ–चिमलिङ किल्ला थियो । सातौं देखि नवीं शताब्दी ताका किराँत प्रदेशमा चार शक्तिशाली हाङहरू देखिन्छन् : भाव रोङ (भोटबाट) उबा हाङ (इलाम), माबो हाङ (यासोक) र श्रीजुङ (याङरूप) ।
मध्यकालमा कोशी क्षेत्रमा फेरि थुम्के ठालुहरूले आफ्ना जातीय समूहरू कायम गरेको देखिन्छ । ती १० लिम्बुवान समूहहरू तम्बर, भेवा, आठराई, याङरूप, पाँचथर, फेदाम, ईलाम, साँगुरी, तेह्रथुम र छथुम इलाकामा थिए । साँगुरिएको प्रदेश हुनाले यसको मधेश र भोटसित व्यापक सम्पर्क थियो । लिम्बुवानको शक्ति संघर्ष विशेष गरी पूर्वीमा लाप्चेहरूसित हुन्थ्यो । १६औँ शताव्दीमा देन्जोङ–सुखिममा भोटे राजा स्थापना भएपछि लिम्बुवानको केन्द्र पहाडबाट विजयपुर झर्यो । सुखिमले आफ्नो पश्चिमको साँध तमोर र कन्काई खोलासम्म विस्तार गरे । यही ताका गण्डकी क्षेत्रबाट भित्री मधेशबाट कमशः मकवानपुर र चौदण्डी जितेर सेनहरू विजयपुर आइपुगे । मधेशको आर्थिक साधनमा आधारित सेन अरूणपूर्वको लिम्बुवान र पश्चिमको खम्बुवान जातिहरूका राजा बने । राजा सेन हुने र मन्त्री लिम्बु ठालु हुने विजयपुरको चलनबाट सेन ठकुराईको पूर्व विस्तार लडाईं भन्दा सम्झौताको आधारमा भएको भान हुन्छ । ईस्वी १७७० मा गोर्खालीहरू तामा कोशी आई पुग्दा लोहाङ्ग सेनको विशाल राज्य तीन भागमा बाँडिएको थियोस कमला पश्चिम मकवानपुर, कमला र कोशी बीच चौदण्डी तथा कोशी पूर्व मोरङ । मोरङ र सुखिमको सीमाना मधेशमा महानन्द नदी तथा पहाड तर्फ कंकाई र तमोर नदी थिए ।
कर्नाली र गण्डकी प्रदेशको इतिहास पश्चिमबाट आएका खस–बाहुनको बसाई सराई कमसित जेलिएको छ । नेपाल खाल्डो नेवार क्षेत्र र कोशी क्षेत्र किराँत क्षेत्र रहे जस्तै कर्नाली क्षेत्र खसान र गण्डकी क्षेत्र मगराँत थिए । त्यस्तै हिमाली भेगलाई कर्नालीमा जडान र गण्डकीमा शेषान्त कहिन्थ्यो । कर्नाली क्षेत्र मदयकाल अघि देखिनै खसहरूको व्यापक क्षेत्र थियो । पूर्वी भेगमाभरी छेउ छाउ मगरहरू र उत्तर तर्फ जडानमा भोटेहरू थिए । पश्चिम हिमालबाट बसाई सर्दै आएका खसहरू पशुपालन र खेती गर्दथे । मध्य देशको मैदानबाट धप्पिएका रजपुत र बाहुनहरूको संसर्गले गर्दा खस जाति समूह भुरे राजाहरूको मातहत थिए । ईस्वी १००१ मा सुल्तान महम्मदले राजा जयपाललाई हराए पछि हिन्दुस्थानबाट धप्पिएका हिन्दू राजा तथा बाहुनहरूको मुख्य गन्तव्यस्थल पश्चिमी हिमवत्खण्ड थियो र आर्य खसहरू हिन्दूकरणको सजिलो माध्यम भए ।
कर्नाली क्षेत्रका सर्वप्रथम महासामन्त नागराज थिए । यिनले १२ औं शताब्दीमा जुम्ला सिजामा स्थापना गरेको र जयले सम्पूर्ण कर्नाली क्षेत्र लगायत कुमाउँ र भोटका गुगे र पुरूङ समेटेका थिए । हिउँदे राजधानी दुल्लुमा रहन्थ्यो । यो राज्य हिन्दुस्थान र भोटको व्यापारको आधारमा बलियो हुँदै थियो । पृथ्वीमल्लको पाला (ई. १३३८–५८) मा शक्ति चरम सीमामा पुगेको थियो । १४ औं शताब्दी पछि जुम्ला साम्राज्य विभिन्न राज्य रजौटामा विभाजित भए । यसमध्ये दुई हाँगा प्रमुख थिए । एउटा हाँगो कर्नाली पश्चिम लागी अछाम, दर्ना, विमकोट रजौटाहरू कायम भए र पछि डोटी, बझाङ, थलरा र बाजुराका सिंह ठकुराईहरू थप्पिए । दोस्रो हाँगो सैंजाबाट जगतिपुर हुँदै रूकुम आई बस्यो । यहींबाट जाहारी, गलकोट, पर्वत, रोल्पा र प्यूठानको ठकुराई बढ्दै गयो । जाहारी बाहेक यी ठकुराईहरू मगराँत इलाकामा स्थापना भए ।
मूल बासिन्दा किराँती नेवार थिए । शुरूमा गोठालाहरू भएपछि कुटो कोदालोले खेती गर्न थाले । चार भन्ज्याङ भित्रको मलिलो माटोले विभिन्न आक्रमणकारीहरूलाई लोभ्याए र यस मध्ये धेरै शासकहरू दक्षिण मैदानबाट उक्लेका थिए । कैयन राजवंशहरू उदाए र बिलाए । धार्मिक धारणा मुख्य रूपले भारतखण्डे रह्यो ।
१५ औं शताब्दी ताका नै कश्मिरबाट योगी चन्दननाथले जुम्ला क्षेत्रमा धान बिउ ल्याएका थिए । कर्नाली क्षेत्रको अन्य पहाडी भेगमा धान खेती यस अघिनै आइसकेको हुनु पर्दछ किनभने सबै रजौटाहरू जिउला लाग्ने खोलाहरूमा स्थापना भए । सेंजा हिंवा नदीको छेउमा र छिनासिम (जुम्ला) तिला नदीको छेउमा रहे सरह बुढीगंगाको किनारमा बाजुरा र साँफे (अछाम), सेतीको किनारमा बझाङ, थलरा र दिपायल (डोटी) गुल्जार भए । त्यस्तै विलासपुर (दैलेख) र दुल्लु छामगाडको वारी पारी थियो । यसै प्रकार गौताम, जाजरकोट तथा जाहारी भेरीको किनारमा र बाँफी, मुसीकोट र रुकुम सानो भेरीको किनारमा मालनेटा, सल्यान र फालावाङ शारदा खोलामा, रोल्पा, खुमरी, मिडरी र प्यूठान माढी खोलामा रहन गयो । बाईसी राजाहरू सबै जुमली राजालाई मूली मान्दथे । शक्तिको आधारमा डोटीयाली राज्य विशेष बलियो थियो र यसले केही समय कुमाउँ माथि पनि फत्ते गरेको थियो । बाईसी क्षेत्रमा गोर्खालीहरूको विजयमा जाजरकोट र सल्यानले विशेष सघाउ पुयाएको थियो ।
गण्डकी क्षेत्रको दक्षिणी भेगमा मुख्य गरीपूर्वबाट सर्दै आएको मगर जाति थियो । बलीहाङ वा बलीराजाको राज्य पाल्पामा थियो । ८ औं शताब्दीमा कश्मिरका ज्यापीडलाई हराउने अरिमुंडि मगर राजा थिए । मध्यकालमा काली गण्डकी वरपर बाह्र मगराँत ठालुहरूको समूह थियो । बाह्र मगराँत समूहमा रिसिङ, घिरिङ, ढोर, सातौं, पैयूं, भिरकोट, गहौं, मुसिकोट, गुल्मी, ईस्मा, अर्धा र खाँची पर्दथ्यो । मगराँत भन्दा उत्तरी लेखाली भेगमा भोटबाट आएका तमु (गुरूङ, थकाली र तमाङ) हरूको बस्ती थियो । गुरूङहरू ‘ग्यू रोड’ वा नौ ठालुहरूमा बाँडिएका थिए । पछि भोटेहरूले थकाली माथि र घलेहरूले गुरूङ र तमाङ क्षेत्रमा आधिपत्य जमाए । मगरहरू पाखो खेती र गुरूङहरू भेडा पालन गर्दथे । उत्तरी तमु जातिमा लामा धर्मको प्रभाव थियो तर मगरहरू आफ्नो जातीय झाँकी परम्परामा विश्वास राख्दथे ।
पश्चिमबाट बसाइँ सर्ने खसहरू सर्वप्रथम मगराँत क्षेत्रमा प्रवेश गरे । मगरहरूको पाखो खेती र खसहरूको धान खेतीमा विशेष स्पर्धा परेन । वास्तवमा प्यूठान, रोल्पा तथा निशी–भुजी जस्ता सीमान्त मगर क्षेत्रमा मगरहरूले नै रूकुमका राजकुमारहरूलाई ल्याई ठकुराई स्थापना गराए । गण्डकी क्षेत्रमा ठकुराई मगर क्षेत्रबाट नै फैलियो । यी ठकुराईहरू पनि कर्नालीमा सरह खोला छेउछाउ फस्टाए । काली गण्डकी पश्चिम बढीगाडमा मुसिकोट, गुल्मी, इस्मामा सिंह ठकुराई र दक्षिणी भेगमा धुरकोट, अर्घा र खाँचीमा मल्ल ठकुराई स्थापना भयो । मगराँतको दोस्रो क्षेत्रमा सेन ठकुराईले ठाउँ पायो : पाल्पा गजुरकोट, घिरिङ, रिसिङ र तनहुँ । आँधि खोला र सेतीको मगराँत क्षेत्रमा खान ठकुराई स्थापना भयो : गह्रौं भिरकोट, पैयुँ, सतौँ, नुवाकोट र ढोर । पाल्पाली सेनहरू तलहट्टी भएर पूर्व लागे झैँ भिरकोटे खांणहरू पहाडी भेगबाट पूर्व लागे : नुवाकोट (१५०४), कास्की (१५१३), लमजुङ (१५६१) र गोर्खा (१५५९) । पश्चिमका खस र गण्डकीका किराँतीहरू बीच विशेष संघर्ष भएको देखिन्न । मध्यकालमा नै यहाँ धेरै खसहरू आई बसोबास गरिसकेका देखिन्छन् । प्यूठान र पर्वतका मगरहरूले ठकुराई निम्त्याएको सरह काली गण्डकी पूर्व पनि मगर र खसहरूले लमजुङ र गोर्खामा ठकुराई स्थापना गराए ।
गण्डकी क्षेत्रको ठकुराईमा मालेवम (पर्वत) र पाल्पा प्रमुख थियो । पहिलोको आधार भोट व्यापार र तामा खानी थिए भने दोस्रोको मधेशको आम्दानी थियो । कालीगण्डकीको सिरानमा रहेको मुस्ताङ राज्यको बेग्लै अस्तित्व थियो । यस राज्यको स्थापना १४ औं शताब्दीको अन्ततिर गुन्थाङ (भोट) का सेनापति शैरावलामाका नाति अमा पाभले गरेका थिए । यसको प्रभाव भोटको ङारी, गुगे र पुराङ सम्म थियो । लद्दाखसित बिहेवारी सम्बन्ध थियो । हिमाल उत्तरको संघर्षको डोल्पा क्षेत्रलाई लिएर मुस्ताङ र जुम्ला बीच बेला बखत हानथाप भई रहन्थ्यो ।
२. नेपाल राज्यको विस्तार
नेपाल राज्यको प्रारम्भिक उठान काठमाडौंका नेवारहरूले ईशापूर्व धेरै अघि गरेका हुन् । यसको वर्तमान स्वरूपको बैठान १८ औं शताब्दीको उत्तराद्र्धमा गोर्खाका ठकुराईले गरे । गोर्खाको पहिलो ठकुरी राजा आंधीखोले मिर्हान्चाको पनाति द्रव्यशाह थिए । उनले दरौंदी पूर्वको यो राज्य सर गर्दा साथमा बाहुन, खस, मगर गुरूङहरू थिए । जैन खांणको भिर्कोट राज्य स्थापना र द्रव्य शाहको गोर्खा विजयमा ५८ वर्षको फरक थियो । त्यस्तै यस ठकुराईको शुरूवात र पूर्वमा त्रिशूली पार गर्नमा १८५ वर्षको फरक थियो । यस राज्यको बलियो जगबसाल्ने राम शाह (ई. १६०६–३६) थिए । सो जगको आधारमा राम शाहका आठौं पुस्तामा पृथ्वी नारायण शाहले विस्तारित नेपालको रूप दिए ।
गोर्खालीहरूको विस्तारमा केही महत्त्वपूर्ण भौगोलिक र जातीय आधारहरू थिए । गोर्खा राज्य पश्चिमको मगराँत, उत्तरको शेषान्त र पूर्वको नेपाल क्षेत्रको दोसाँधमा पर्दथ्यो । वैवाहिक सम्बन्ध पश्चिमा ठकुराईहरू सित थियो र व्यापारिक सम्बन्धों काठमाडौं सित । पछिका गोर्खाली राजाहरूको बिहेवारी सम्बन्ध तनहुँ, पाल्पा, मकवानपुर, गुल्मी, र सल्यानसम्म फैलिएको थियो । थर–घर र प्रजा खलक पनि विभिन्न जातिका थिए : बाहुन, क्षत्री, खस, मगर र गुरूङ । पृथ्वी नारायण शाहले ‘मगराँतको राजा मै हुँ’ भनेको खस र किराँती सगोल समाजको अभिव्यक्ति थियो । सो समाजको शक्तितत्व खस नेतृत्व, बाहुन कूटनीति र किराँती बलको मिलान थियो । काठमाडौंको सभ्यता र वैभवले अरूलाई जस्तै यस राज्यलाई पनि लोभ्यायो । लागेको काममा दृढ रहने पृथ्वी नारायण शाहको अठोट थियो । ईस्वी १७४४ मा नुवाकोट कब्जा गरे पछि उनी ३१ वर्ष सम्म लगातार राज्य विस्तारमा लागी रहे ।
गोर्खालीहरूको सफलताको आधार पृथ्वी नारायणको अठोट थियो । राज्य विस्तार क्रम ई. १७४४ नुवाकोट हमलाबाट शुरू हुन्छ तर अभियान कष्टपूर्ण थियो । काठमाडौँको पूर्व नल्दुम र दक्षिण पश्चिम कीर्तिपुर कब्जा गर्न ९–९ वर्ष लागेको थियो । काठमाडौंका राज्यहरू फत्ते गर्न २५ वर्ष लाग्यो । उता पश्चिम पट्टिबाट ई. १७५५, १७६३ र १७६६ मा किनलकले हमला गरे । बाहिरी हमलालाई निस्तेज पार्नु साथ–साथै आफ्नो विस्तार अभियान जारी राख्नु सजिलो काम थिएन । तर यस बेला गोर्खालीहरू जाई कटक गर्ने पहाडी युद्धकला र बन्दूकको प्रयोगमा सिपालु भइसकेका थिए ।
पृथ्वी नारायणले १७४४ मा नुवाकोट, १७६० मा पलान्चोक, १७६२ मा मकवानपुर, हरिहरपुर सिन्धुली जिती काठमाडौं उपत्यकालाई घेरा हालि सकेका थिए । १७६९ मा उपत्यका फत्ते गरेपछि जितेको भूभाग कायम गर्नुको साथै पश्चिम र पूर्वमा लगातार लडाई गर्नु पर्योे र फौज खटिंदै गए । १७७१ मा तनहुँ, रिसिङ, ढोर, भिरकोट, गहाँ र पैयूँमा सरपट हमला त गरे तर १७७२ मा सत्त शिविरमा पर्वतको हात ठूलो हार खानु पर्यो । तर यसको लगत्तै पछि पूर्वतिर हानिन्छ । १७७३ मा माँझ–किराँत र चौदण्डी सर गरी १७७४ मा गोर्खालीहरू कोशी पारी विजयपुर पुग्छन् । १७७५ मा पृथ्वी नारायणको स्वर्गे बेला गोर्खाली राज्य मस्याङदी देखि अरूण सम्म फैलिइ सकेको थियो । गण्डकीका अन्य चौविसी रकिर्नालीका बाईसीहरू अझ स्वतन्त्र ठकुराई थिए ।
१७७६ मा चैनपुरमा सुखिम र निम्बहरूसित ठूलो लडाईमा गोली जीत भयो । १७७९ मा बलिथुममा गोर्खालीहरूले तनहुँ, पाल्पा पर्वतसित फेरि ठूलो हार खाए । यस पछि विहे नाताबाट पाल्पालाई आफ्नो पक्षमा लिने काम भयो । १७८२ मा शुरू भएको पश्चिम पट्टिको गोर्खाली अभियान लगातार सफल रह्यो । चौबिसीको पाल्पालाई हात लिए झैं बाईसीको सल्यान र जाजरकोटलाई बिहे र मितेरी साइनुबाट आफ्ना हिमायती बनाए । १७८२ मा छिमेकी तनहूँ र लमजुङ सर भयो । १७८४ मा तानसेनको बाटो गरी आँधी खोलाका ठकुराई र अर्को वर्ष कास्की हात लाग्यो । १७८६ सालको वर्षा भरिमा गुल्मी, चन्द्रकोट, खाँची, अर्घा, ईस्मा र पर्वत जीते । सोही बेला प्यूठान, दाङ र रोल्पा ठकुराईहरू सर गरी भेरीसम्म पश्चिम पुगे । पाल्पा बाहेक अरू चौबीसे राज्यहरू गोर्खा मातहत आए । पाल्पा पनि १८०४ मा कब्जा गरियो ।
भेरी पार गर्नु अघि गोर्खालीहरू १७८८ मा भोटको शिगाचे सम्म जाइलागे । यसको लगत्तै पछि पश्चिम विस्तार शुरू भयो । १७८९ को एकै वर्षमा दुल्लु, दैलेख, जुम्ला, अछाम, डोटी र बझाङ माथि विजय प्राप्त गरे । बाईसी क्षेत्रमा सबभन्दाबढी अडान जुम्लाले लियो । जुम्लालाई हराउन दुई वर्ष लाग्यो । डोटी र अछामसित भएको नारीघाटको युद्ध पनि घमासानकोथियो । यो निर्णायक युद्ध पछि गोयांनी राज्य पूर्वमा टिष्टादेखि महाकालीसम्म ९६५ किलो मिटर फैलिएको थियो । काठमाडौं फत्ते गर्न २५ वर्ष लाग्यो भने काठमाडौंबाट टिष्टा पुग्न ९ वर्ष र महाकाली पुग्न २० वर्ष लाग्यो । हाल नेपालले ओगटेको भाग गोर्खालीहरूले झन्डै दुई सय वर्ष अघि कायम गरेका थिए ।
पूर्वतिर १७८३ मा सुखिमलाई हराएर गोर्खालीहरू टिष्टा पुगिसकेका थिए । उत्तरमा भोट सित टक सम्बन्धी झगडा पन्यो र १७८८ मा भोट माथि हमला गरी शिगाज घेरे । भोटले वार्षिक रू. ५०,००१/– तिर्ने कबोल गरी सन्धि गरे तर दोस्रो वर्ष सो रकम दाखेल नभएकोमा गोर्खालीहरूले फेरि १७९१ मा भोट हमला गरी टाशील लुटे । यसको लगत्तै पछि भोटको पक्ष लिएर ठूलो चीनीया फौजले नेपाल हाने । केरोङको बाटो गरी नुवाकोटसम्म आए र नेपाललाई सन्धि गर्न बाध्य गराए । तर चीनसितको यो जम्काभेटपछि गोर्खालीहरू खुम्चिएर रहेनन् । पश्चिम विस्तारको अभियान कायम रहयो । १७९० मा महाकाली तरेर कुमाउँ कब्जा गरे । १८०४ मा काजी अमर सिंहले गढवाल र यसपछि १२ र १८ ठकुराई कब्जा गरी १८०६ मा सतलज तरे । फरवरी १८१५ सम्म गोर्खाली राज्य टिष्टादेखि सतलज सम्म १५०० किलोमिटर लाम्चिएको थियो । अंग्रेज सितको लडाइँमा हार भएपछि सुगौली सन्धि अनुसार महाकाली पश्चिम २५ वर्ष र सिा लिला पूर्व ३३ वर्ष राज गरी वर्तमान नेपाल सरहद भित्र सीमित हुन गयो ।
ग. भौगोलिक पक्ष
१२ नवम्बर १७६९ मा भक्तपुरको लडाइँ जितेपछि गोर्खाका राजा पृथ्वी नारायण शाह नेपाल नरेश बने । गोर्खाली राज्यको विस्तार साथ–साथै ठूलो नेपालको सृष्टि भयो । अझ १८०६ देखि सुगौली सन्धिका बेलासम्म एक दशकमा विशाल नेपाल सतलज देखि टिष्टासम्म झन्डै १,५०० किलोमिटर फैलिएको थियो । वर्तमान नेपालको उत्तरको १,१११ किलोमिटर लामो सिमाना १७९२ को लडाइँ पछि कायम भए अनुसार छ । केरोङ, कुती र किमथङका क्षेत्र बाहेक सामान्य नेपाल–भोट सिमाना पानी–ढलको सिद्धान्तमा आधारित छ । पूर्व कोशी क्षेत्रमा मुख्य हिमालले सिमानाको काम गरेको छ । गण्डकी र कर्नाली प्रदेशमा भने मुख्य हिमाल नेपाल सरहदभित्र पर्दछ र सिमाना अर्को हाँचो पानी–ढलोले छुट्याएको छ ।
नेपालको पूर्व, दक्षिण र पश्चिमको सिमाना अंग्रेजहरूले सुगौली सन्धिपछि परिधि लगाए अनुसार रहेको छ । पश्चिम तर्फ अंग्रेजलाई कुमाउँ मार्फत भोट व्यापार गर्ने लोभ थियो र महाकाली भारतसितको दोसाँध हुन गयो । पूर्व तर्फ सुखिमले गोर्खाली विरुद्ध अंग्रेजलाई मद्दत गरेको हुनाले सोही राज्यलाई मेची र टिष्टा बीचको भूभाग फिर्ता गरियो । पश्चिमको सिमाना २६९ किलोमिटर र पूर्वको २०५ किलोमिटर लामो छ । दक्षिणको १,१३८ किलो मिटर लामो सिमाना देउखुरीको दुधुवा फेदि र चितवनको सोमेश्वर डाँडा बाहेक सबै मधेश फाँटमा पर्दछ । महाकाली र तिनाउ खोला बीचको मधेश भाग १८१६ मा अवधको नवावले अंग्रेजलाई लडाइमा खर्च गरी दिए वापत दिइयो तर फेरि १८६० मा भारतीय गद्दरमा १८५७ मा नेपालले अंग्रेजलाई सहयोग गरे वापत फिर्ता गरियो । सुगौली सन्धिद्वारा गण्डकी र कोशी वीचको मधेश पनि अंग्रेजले कब्जा गरेको थियो तर ११ महीना पछि नेपाललाई फिर्ता गरियो ।
१. प्रादेशिक विभाजन
नेपालको प्रादेशिक विभाजन दुई पक्षबाट गर्न सकिन्छ । पहिलो हो पूर्वदेखि पश्चिमका प्रमुख जलाधार क्षेत्रहरू र दोस्रो हो उत्तर देखि दक्षिणका प्राकृतिक प्रदेशहरू । जलाधार क्षेत्र मध्ये सबभन्दा ठूलो कर्नाली क्षेत्र हो र यसले ६१,९१७ वर्ग किलोमिटर अथवा अधिराज्यको ४२ प्रतिशत जग्गा ओगटेको छ । यस क्षेत्रका नदीहरूमा भोटबाट बग्ने हुम्ला–कर्नाली, हिमाल उत्तरबाट बग्ने मुगुकर्नाली र भेरी, हिमाल दक्षिणबाट बग्ने महाकाली, सेती र सानो भेरी तथा पहाडी भेगमा बबई र राप्ती हुन् । सामान्यतया यहाँ ठूलो नदीलाई कर्नाली र सानो खोलालाई गाड भन्ने चल्न छ । भन्ज्याङलाई लाङगना र डाँडालाई काँडा भनिन्छ ।
गण्डकी क्षेत्रले ३८,६३३ वर्ग किलोमिटर अथवा अधिराज्यको २६.२ प्रतिशत भूभाग ओगटेको छ । मुख्य नदीहरूमा भोटबाट आउने त्रिशूली, हिमाल उत्तरबाट बग्ने कालीगण्डकी, मर्स्याङ्दी र बुढी गण्डकी, हिमाल दक्षिणबाट बग्ने सेती र दरौंदी तथा पहाडी भेगको बढी गाड हुन् । । यस प्रदेशमा ठूलो नदीलाई गण्डकी र अन्यलाई ‘डी’ (मगर भाषामा पानी) भन्ने चलन छ ।
कोशी क्षेत्रले ४५, ७३२ वर्ग किलोमीटर ओगटेको छ र यसमा अधिराज्यको ३१ प्रतिशत भूभाग पर्दछ । मुख्य नदीहरूमा भोटबाट आउने भोटे कोशी, तामा कोशी, हिमाल दक्षिणबाट बग्ने इन्द्रावती, दूधकोशी र तमोर तथा पहाडी भेगको कन्काई पर्दछ । यहाँ ठूलो–सानो नदीहरूलाई खुशी वा कोशी भन्ने चलन छ ।
गण्डकी र कोशीको माझमा बागमतीको सिरानमा काठमाडौं उपत्यका पर्दछ । भौगोलिक क्षेत्रफल सानो भए तापनि यस क्षेत्रको ठूलो ऐतिहासिक महत्त्व रहेको छ । किरातकालमा उपत्यकाका खोलाहरूलाई खुशी भनिन्थ्यो र पछि संस्कृत प्रभावबाट ‘मती’ हुन गयो ।
अधिराज्यलाई उत्तर देखि दक्षिण छुट्याउने प्राकृतिक प्रदेशहरू मुख्य चार छन् : हिमाली, पहाड, भित्री मधेश र तराई । उचाइको आधारमा समुद्र सतहबाट ३०० मिटर सम्म तराई र भित्री मधेश, ३०० देखि ३,००० मिटर सम्म पहाड तथा ३००० मिटरमाथि हिमाली प्रदेश पर्दछ । क्षेत्रफल अनुसार ३७ प्रतिशत पहाड, ३३ प्रतिशत हिमाल, २० प्रतिशत तराई र १० प्रतिशत भित्री मधेश भाग पर्दछ ।
तराई प्रदेश चुरे डाँडाको दक्षिण समथर भूमिमा पर्दछ र यसको माथिल्लो भागलाई भावर भनिन्छ । आदिकालमा लुम्बिनी र जनकपुर जस्ता ऐतिहासिकयलो रहे तापनि तराई प्रदेश औलोको कारण सामान्यतया सीमान्त क्षेत्रको रूपमा नै रह्यो । १८ औं शताब्दीताका पूर्वी तराई सेनाहरूको राज्यमा र नारायणी नदी पश्चिमको तराई अवध नवावको मातहत पहाडी राजाहरूले ठेक्कामा कमाउने गर्दथे ।
भित्री मधेश भन्नाले चुरे डाँडा र महाभारत लेख बीचमा पर्ने लाम्चे फाँटहरूलाई जनाउँछ । यसलाई ‘दून’ पनि भनिन्छ । प्रमुख दूनहरूमा पश्चिममा जोगबुढा, सुर्खेत र दाङ देउखुरी, मध्यमा नवलपुर, चितवन र हेटौंडा तथा पूर्वमा मरिन, कमला र त्रिजुगा पर्दछ । हावापानी तराईको जस्तो उपोष्ण र माटो मलिलो हुन्छ । भित्री मधेश सीमित क्षेत्रको भए तापनि तराई र पहाडको दोसाँधमा रहेकोले विशेष महत्वको देखिन्छ । भित्री मधेशमा पनि औलो प्रकोप थियो तर बसाई– सराइको क्रममा पहाडी जातिहरू दक्षिण बसाइँ सर्दाको पहिलो खुड्किलो यही प्रदेश थियो । उनीहरू महाभारत लेकमा पाखो खेती गर्दै क्रमशः दूनका छेउछाउ ओर्ले ।
महाभारत लेक र हिमाली श्रृङखला माँझमा पर्ने डाँडा–काँडाले भरिएको भूभागलाई पहाड प्रदेश भनिन्छ । पहाडको हिउँदमा हिउँ पर्ने माथिल्लो भागलाई लेख र औलिया वेसीलाई कछाड पनि भनिन्छ । अधिकांश पहाडी बस्तीहरू बेसी खेत र लेखाली चरनको माँझ भागमा पाइन्छन् ।कर्नाली क्षेत्रको पहाड खण्डमा हिउदे झरी पनि पर्दछ । गण्डकी क्षेत्रको ठूला नदीहरूको किनारमा फराकिला टारहरू पाइन्छन् तर औलोको कारणविशेष प्रयोग गरिन्न । पहाड प्रदेशमा वेंसीको फाँटमा ठूलो बस्ती भएको काठमाडौ उपत्यकामा मात्र हो । कोशी क्षेत्रको पहाडमा तुम्लिङटार बाहेक अन्य भाग धेरै भिरालो परेको पाइन्छ ।
हिमाल वारिपारिका ३००० मिटरभन्दा अग्ला भूभागलाई हिमाली प्रदेश भनिन्छ । यस प्रदेशको विशेषताअग्ला हिमाल, गहिरो खोला र उठेको पठार हुन् । पूर्व नेपालमा हिमाली प्रदेश मुख्य हिमालको दक्षिण पर्दछ । मध्य र पश्चिममा हिमाल उत्तर पनि विस्तृत नेपाली भूभाग पाइन्छ । गोर्खा उत्तरको नूप–रि, मनाङ, मुस्ताङ, डोल्पो, मुगु, जुम्ला र हुम्ला आदि मुख्य हिमालको उत्तर पर्दछन् । यस प्रदेशमा अधिकांश वस्तीहरू भोट व्यापारको पायक पर्ने ठाउँहरूमा पाइन्छन् ।
२. प्रादेशिक सम्बन्ध
हिमाल, पहाड, भित्री मधेश र तराईमा फरक हावापानी र माटोको कारण ती प्रदेशहरूको प्राकृतिक साधन र मानवीय उत्पादन वस्तुमा भिन्नता हुनु स्वाभाविक छ । हिमाली प्रदेशमा कृषि भन्दा पशुपालन र व्यापार बढी महत्वको थियो । पशु चरणको लागि गर्मीमा अग्लो ठाउँ (यार्सा) र हिउँदमा होचो ठाउँ (घुन्सा) वा भोट लगिन्थ्यो । पहाड प्रदेशमा मुख्य व्यवसाय पाखो बाली थियो । खसहरू भएको क्षेत्रमा कुलो लगाएर धान खेती हुन्थ्यो । शीतोष्ण ठाउँमा पशुका साथ लेक बेसी गरिन्थ्यो । ठाउँ ठाउँमा तामा र फलाम खानीको काम हुन्थ्यो । भित्री मधेशरतराईको आयस्रोत बन पैदावार खेती थियो तराईमा सीमा पारिबाट पशु चराउन पनि ल्याइन्थ्यो ।
प्रदेशगत वस्तुहरूको याम अनुसार सटही व्यापार महत्वपूर्ण आर्थिक कारोवार थियो । यसमा पहाडी प्रदेशको भौगोलिक स्थिति महत्वको थियो । हिउँद याममा भोटका लाङगनाहरू हिउँले पुरिएको बेला तराईमा औलोको प्रकोप घटेको हुन्थ्यो । यस बेला व्यापार दक्षिणमुखी हुन्थ्यो । वर्षा याममा भने तराईमा औँलो बढ्ने र भोट बाटो खुल्ने हुनाले व्यापार उत्तरमुखी हुन्थ्यो । यस प्रकार हिमाली र तराई प्रदेश बीच रहेको पहाड प्रदेशले दोहरो व्यापारबाट फाइदा उठाउँथ्यो । प्रादेशिक व्यापारको बाटोमा पर्ने राज्यहरू अरूको तुलनामा बढी बलिया हुन्थे । खस मल्लहरूको अधिकार ताक्लारवार देखि मधेशसम्मको व्यापारमा थियो । यस्तै प्रकार भेरी किनारमा जाजरकोट र सल्यान, काली गण्डकी किनारका मुस्ताङ र पर्वत, पाल्पा मर्स्याङ्दी किनारका लमजुङ र तनहुँ ठकुराई तथा पूर्वका लिम्बु ठालुहरू दूध कोशी, अरुण र तमोरको व्यापार बाटोमा थिए ।
व्यापारमा काठमाडौं उपत्यकाको विशेष महत्व थियो । रामशाहको पालामा नै गोर्खामा पाटनका व्यापारीहरू बसाई बजार गुल्जार गरिएको थियो । तनहुँ, गोर्खा, सतौं र कास्की ठकुराईहरूले मधेशबाट चुरौटे ल्याए सरह अरूले पनि काठमाडौंबाट सिकर्मी, डकर्मी, व्यापारीहरू निम्त्याएर रजस्थल बनाएको हुनु पर्दछ । तर काठमाडौँ उपत्यकाको खास महत्व – भोट भारत व्यापार थियो । पृथ्वी नारायण शाहले आफ्नो “दिव्य उपदेश“ मा देशी महाजनलाई मुलुक भित्र आउन नदिनू भनी अर्ती दिएका थिए । तर पछि अंग्रेजहरूको दबाबले गर्दा काठमाडौँमा देशीहरूको कोठी खुल्न गयो । १८३० ताका उपत्यकामा विदेशी व्यापार गर्ने ८६ साहु मध्ये ३४ देशी थिए । १८३०–३१ मा काठमाडौंबाट हुने आयात निर्यात निम्न अनुसार थियोः–
भारतबाट आयात भएको मध्ये ११ प्रतिशत मूल्य बराबरको भोट जान्थ्यो र भोटबाट आएका मध्ये ५७ प्रतिशत मूल्य बराबरको भारत निकासी हुने गथ्र्यो ।
काठमाडौं उपत्यकाका शहरहरूको बाह्रमासे बजारको तुलनामा अन्य प्रदेशमा अस्थायी बजारको चलन थियो । भोटसित व्यापार गर्न बर्षा याममा बजार लाग्ने ठाउँहरू थिए मजुलीपाटन (हुम्ला), मुगु, टुकुचे, लार्के, केरुङ, कुती, दोलखा, नाम्चे, हटिया र ओलाङचुङ । त्यस्तै हिउँदमा भित्री मधेश तराईका पायक पर्ने ठाउँमा बजार लाग्दथ्यो । माघे संक्रान्तिदेखि शुरू हुने सो हाटहरू मध्ये ब्रह्मदेवमण्डी, कोइलाबास, बुटबल, देवघाट, हेटौँडा, मेनी र विजयपुर (धरान) प्रमुख थिए । यस प्रकारको उत्तर – दक्षिण व्यापारिक सम्बन्धको तुलनामा पूर्व – पश्चिम सम्पर्क निकै कम थियो । नेपाल राज्यलाई महाकालीदेखि मेचीसम्म फैलाए पछि यो सम्बन्ध’ प्रशासकीय दृष्टिकोणले आवश्यक थियो । राजधानीबाट टाढा रहेका जिल्लाहरूसित सम्पर्क कायम गर्न हुलाकी बाटोको व्यवस्था भयो । पूर्व–पश्चिम हुलाकी बाटो पहाड प्रदेशको विकट भागबाट थियो ।
यातायातको कठिनाइको कारण जिल्ला प्रशासन प्रणाली विकेन्द्रित थियो । बडा हाकिमहरू आफ्नो सदर मुकामहरूमा गढी, टुँडीखेल र स्थानीय प्रशासन अड्डा साथै पसल घरेलु उद्योग स्थापना गराई खलङ्गाको रूप दिने गर्दथे । राणा शासनको बेला काठमाडौं उपत्यका बाहेक २५ माल गोश्वारा स्थापना भई सकेका थिए (पश्चिम पहाड १६, पूर्व पहाड ६, तराई ३५) ती मध्ये डोटी बजार, चौ घान (जुम्ला बजार) तानसेन बजार, पोखरा बजार र धनकुटा बजारमा रहने बडा हाकिमलाई विशेष क्षेत्रीय अधिकार हुन्थ्यो । हिमाली तथा तराईका जिल्लाहरूको प्रशासन यी क्षेत्रीयबडाहाकिमको मातहत थियो । त्यसैले केन्द्र र मोफसल बीचको संचार सम्बन्धमा क्षेत्रीय आधारले अघि नै केही रूप लिई सकेको थियो ।
घ. सामाजिक परिवेश
नेपाली जनसमुहको सामाजिक परिवेश व्यापकको प्रमुख विशेषता जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता हो । यो विविधता ऐतिहासिक स्रोत र भौगोलिक प्रभावको उपज हो । यस भू–भागमा विभिन्न जाति र भाषा समूहका समाज बसाइँसर्दै आए र आपसी संघर्ष र सम्पर्कबाट नयाँ सम्बन्धहरू कायम हुन गयो । त्यस्तै एकै जाति पनि फैलिएर जाँदा कालान्तरमा भौगोलिक कारणले आपसमा फरक पर्न गयो । त्यसैले सीमित क्षेत्रमा व्यापक विभिन्नता नेपालको सामाजिक बनोटको मौलिकता हुन गयो ।
१. जाति र भाषा
नेपाली जनसमूहको मूल जातीय आधार पूर्वी किराँती र पश्चिममा खस हुन् किराँतहरूको आदि समूह कोशी क्षेत्रबाट पश्चिम तर्फ तराई र भित्री मधेशको बाटो फैलिए । त्यसपछि विभिन्न डफ्फा पूर्वबाट आए र पछि भोटबाट ओलें । पुराना किराँतीहरूमा तराईका मेच, कोच, धिमाल तथा भित्री मधेशका थारू, दनुवार, राजी, दरई, माँझी, कुम्हाले र बोटेलाई लिन सकिन्छ । पहाडको बाटो पश्चिम लाग्ने किराँतीमा राई समूह, सुनुवार, थामी, हायू, पहरी हुन् । भोटबाट ओर्लेका किराँतीहरूमा लिम्बु, खम्बु, जिरेल, मगर, गुरूङ, थकाली, तमाङ, शेर्पा, र भोटेहरू पर्दछन् । भोटबाट आएका मध्ये मगरहरू विशेष पुरानो र हिमाली प्रदेशमा शेर्पा र अन्य भोटे पछिका हुन् । खुम्बुका शेर्पाहरू १५३३ ताका भोटबाट नेपाल आएको ऐतिहासिक प्रमाण पाइएको छ । व्यासका सौकहरू पनि भोटबाट पछि ओर्लेका हुन् ।
खसहरू गढवाल–कुमाउँबाट महाकाली पार गरी नेपाल भित्रिए । कर्नाली क्षेत्रमा यिनीहरूको बसाई मध्यकालदेखिनै भएको अनुमान छ । यिनीहरू पहाडको बाटो भई क्रमशः गण्डकी क्षेत्रमा फैलिए । बहुभाषी किराँतीहरूको तुलनामा खसहरू एकभाषी थिए र विभिन्न समूहका बीच संचार सजिलो थियो । पुराना खसहरूमा जाति–पातिको विशेष भेदभाव थिएन । रहन–सहन पहाडी किराँती सरह पाखे वाली र पशुपालनमा आधारित थियो । एघारौं शताब्दीपछि हिन्दुस्थानमा मुसलमानको बरोबर हमलाको कारण मैदानबाट पहाड उक्लेका क्षेत्रीय र बाहुन खसान क्षेत्रमा आएर यिनले ठूलो सांस्कृतिक प्रभाव पारे । खस जातिमा नयाँ सामाजिक ढाँचा बस्यो जस अनुसार क्षेत्रीय ठाल (ठकुरी) बाहुन, खस र अछुत जातको वर्गीकरण शुरू भयो । कालान्तरमा मगर तथा अन्य विधवा र पानी नचल्ने भन्ने बहुजातीय समाज कायम भयो ।
हिन्दूहरूको जात विभाजनको प्रभाव सर्वप्रथम काठमाडौं उपत्यकामा परेको देखिन्छ । बेला बखत मैदानबाट उक्लेका शासकहरूले भारतखण्डे संस्कार थोपर्न खोजे १४ औं शतानीमा जयस्थिति लिई नेवार समाजलाई ६४ जातमा विभाजन गरेको यस क्रमको परिष्कृत रूप थियो । १७ औं शताब्दीमा गोर्खाका राम शाहले यसको सिको गर्न खोजे । कर्नाली र गण्डकी प्रदेशबाट हिन्दू प्रभाव पूर्व फैलिदै गएपछि सामूहिक किराँतीहरूमा पनि जात विभाजनको छाप पर्न गयो । किराँती जातिमा यस प्रकारको सानो ठूलो सामाजिक विभाजनका उदाहरण हुन् तामाङको बाह्र जात र अठार जात, सुनवारको बाह्र थर दश थर, गुरूङको चार जात सोह्र जात, चेपाङको पुकुंथली र कछाडे, थारूमा प्रधान र अप्रधान, नेवारमा श्रेष्ठ र ज्यापू, मुस्ताङमा कृताक र रिघिन तथा शेर्पामा खादेव र खामेन्दू । ।
नेपाली जनसंख्याको मातृभाषा सम्बन्धी पहिलो गणना १९५२ । ५४ मा गरिएको थियो । सो तथ्यांकबाट जातीय वर्गको साथै बसाई सराइ कमको पनि अन्दाज मिल्दछ । खस कुरा वा पर्वते भाषा (पछि नेपाली) बोल्ने गोर्खालीहरूले काठमाडौं विजय गरेको १८५ वर्ष पछि यो भाषा–भाषी कुल जनसंख्याको ४८.७ प्रतिशत थियो (तालिका १) दोस्रो क्रममा तराईमा बोलिने १३ आर्य–भारतेली भाषीको जनसंख्या २८.६ प्रतिशत थियो । अधिकांश पहाड प्रदेशमा बोलिने २४ भोट–बर्मेली भाषीहरू २२.४ प्रतिशत थिए । यस बाहेक मुण्डाका २ भाषा र द्रविडका ३ भाषा पूर्व तराईमा केन्द्रित थिए । त्यस बेला गणना गरिएका ४४ भाषामध्ये भाषा संख्या भोट–बर्मेलीको बढी र भाषी चाहिं आर्य–भारतेली बढी थियो ।
नेपाली मातृभाषा हुनेहरू ९२ प्रतिशत पहाड प्रदेशमा थिए भने अन्य आर्य– भारतेलीभाषा बोल्ने ९४.२ प्रतिशत तराईमा थिए । भोट–बर्मेली भाषा बोल्नेहरू ८६.८ प्रतिशत पहाडमा र त्यस मध्ये ४५ प्रतिशत पूर्वी भेगमा थिए । भित्री मधेशमा ४४ प्रतिशत नेपाली, ३६.८ प्रतिशत भोट–बर्मेली र १८.९ प्रतिशत तराईका आर्य भारतेली भाषी जनसंख्या थियो । यसबाट पहाडबाट भित्री मधेशमा औलो उन्मूलन कार्यक्रम भन्दा अघि नै बसाई–सराइ शुरू भएको देखिन्छ । नेपाली र अन्य भोट–बर्मेली भाषा बोल्ने पहाडका बासिन्दाहरू तराईमा भने कम मात्र थिए । त्यसबेलाको तराईको कूल २३ लाख जनसंख्या मध्ये नेपाली बोल्ने २.९ प्रतिशत र भोट–बर्मेली बोल्ने २.२ प्रतिशत थियो ।
मातृभाषा वितरणमा विशेष प्रादेशिक ढाँचा थियो । नेपालीको प्रमुख थलो कर्नाली र गण्डकीको खसान क्षेत्र थियो । हिमाली प्रदेशमा भोटे–शेर्पा भाषा मात्र थियो । गण्डकी क्षेत्रको पहाडी भेगमा मगर र लेकाली भेगमा गुरूङ साथै तामाङ र थकाली भाषी थिए । काठमाडौं उपत्यकामा नेवारी र वरिपरीको पहाडमा तामाङ क्षेत्र थियो । पूर्व पहाडमा सुनुवार हाय, खम्बू, राई, लिम्बु, थामी, जिरेल र लेप्चा थिए । भित्री मधेशका भाषामा चेपाङ, दनुवार, माझी, दरै, कुमाले, राजी र बोटे थिए । थारू भाषा भित्री मधेश र तराई सबै प्रदेशमा फैलिएको थियो । पूर्व तराईमा वागमती पूर्व मैथिली र पश्चिममा भोजपुरी केन्द्रित थियो । अवधी मध्य तराई र पश्चिम तराईमा थियो । सतार सन्थाली र झांगर भाषीहरू कोशी पूर्वमा मात्र थिए । त्यस बेला दर्ता गरिएका ४४ मातृभाषा मध्ये ३१ पूर्व तराईमा प्रतिनिधित्व भएकोले पूर्व तराई विभिन्न जातिको संगम थलो थियो ।१९५२ । ५४ देखि १९८१ सम्म मातृभाषा समूहरूमा निक्कै परिवर्तन देखा परेको छ । १९५२ ।५४ मा कूल उपस्थित जनसंख्या मध्ये ७०.६ प्रतिशत पहाडका १० भाषी, २७.३ प्रतिशत तराईका ७ भाषी र २.२ प्रतिशत अन्य भाषी थिए । त्यसबेला नेपाली मातृभाषा हुने जम्मा जनसंख्याको ४८.७ प्रतिशत थियो भने २९ वर्ष पछि यो ५८.४ प्रतिशत पुग्यो र मातृभाषा समूह अनुसार सो तीन दशकमा छ आर्य–भारतेली भाषा ९९.० प्रतिशत २ मुण्डा भाषी ६३.४ प्रतिशत र ९ भोट–बर्मेली भाषी ०.८ प्रतिशतले बढ्यो । भाषी संख्या आर्य भारतेलीमध्ये अवधी मात्र र भोट–बर्मेलीमा गरी, राई – किराती लिम्बु र मध्ये घट्नु सुनुवार थियो । देशको जनसंख्याको वार्षिक वृद्धि दर २.९५ प्रतिशत रहेकोमा भोजपुरी (४.९०) र नेपाली (४.२३) अप्रत्याशित रूपले बढ्य राजवंशी, मैथली र थारू जस्ता तराई भाषी पनि निकै बढे ।
भाषीहरूको घटबढको कारण मध्ये फरक जन्मदर नभई नेपालीको व्यापक विस्तार र आप्रवासन लिन सकिन्छ । नेपाली भाषी दोव्वर भन्दा बढी बढ्नु भोट–बर्मेली भाषीहरूको आफ्नो मातृभाषा छोडी राष्ट्रिय भाषा नेपाली अपनाउनाले हो । अर्कातिर तराईका केही भाषीहरू धेरै बढ्नुमा भारतबाट आप्रवासनको कारणले हो । आन्तरिक बसाइँ सराइको कारण पनि मातृभाषा वितरणमा परिवर्तन भयो । १९५२ । ५४ मा तराईमा नेपाली भाषा २.३ प्रतिशत र पहाडका भोट–बर्मेली भाषी २.९ प्रतिशत थियो भने सो प्रतिशत १९८१ मा क्रमशः ३१.४ प्रतिशत र ४.४ प्रतिशत हुन गयो ।
२. धर्म र संस्कृति
नेपाली जनसंख्याको धर्म वा मत अनुसार पहिलो गणना १९२० मा लिइएको थियो तर सो आँकडा प्रकाशित रूपमा उपलब्ध छैन । १९५२ । ५४ को जनगणना अनुसार नेपालको उपस्थित जनसंख्या मध्ये ५८.९ प्रतिशत हिन्दू धर्मावलम्बी गनिएको पाइन्छ । त्यसबेलाको परिभाषा अनुसार “पाञ्चायन देवता ( गणेश, शिव, विष्णु, सूर्य तथा देवी) को पूजाआजा गर्नेहरूलाई “हिन्दू“ मानिएको थियो । हिन्दू राज्य व्यवस्था भएको देशमा यों फराकिलो परिभाषाबाट धेरै जाति समूह हिन्दू वर्गीकृत हुन्थे । पुरानो मुलुकी ऐन अनुसार तागाधारी बाहुन, ठकुरी र क्षेत्री जन्मजात हिन्दू मतवाली किराती मध्ये इच्छाधीन हिन्दू र पानी नचल्ने समूह मध्ये मसलमान बाहेक अन्यलाई पनि हिन्दू समूहमा गनिन्थ्यो । हिन्दूहरू पहाड र तराई सर्वत्र फैलिएका थिए । कर्नाली क्षेत्रमा बाहेक अन्य अन्य हिमाली प्रदेशमा हिन्दूहरू नगण्य थिए ।
जम्मा जनसंख्यामा बुद्धमार्गीहरू ८.९ प्रतिशत थिए । यिनीहरू अधिकांश हिमाली प्रदेश, मध्ये पहाड र काठमाडौं उपत्यकामा थिए । इस्लाम धर्म मान्नेहरू २.५ प्रतिशत मात्र थिए । यिनीहरू गण्डकी क्षेत्रका केही पहाडी बस्ती बाहेक अधिकांश तराईमा केन्द्रित थिए ।
१९८१ को जनगणना अनुसार झन्डै ९० प्रतिशत नेपालीहरूलाई हिन्दू दर्ता गरिएको छ । १९५२ । ५४ – १९८१ को तीन दशकमा ६१ लाख हिन्दूहरू थपिए । यो वृद्धि जन्मजात हिन्दूहरूको साथ–साथै बढी मतवालीहरूले हिन्दू धर्म अँगालेको परिणाम हो । मतवाली किराँतीहरू खास रूपमा आफ्नो कुलान धर्म वा बौद्धमार्गी थिए तर क्रमशः हिन्दूधर्मको प्रभावमा पर्दै गए । सोही तीन दशकमा बौद्धहरू ४१,९७७ वा ५.९ प्रतिशत मात्र बढे । कूल जनसंख्यामा उनीहरूको प्रतिशत ८.९ बाट ५प्रतिशतमा घट्यो । ईस्लाम धर्म मान्ने मुसलमानहरू ९२ प्रतिशतले बढे । यसमा भारत र बंगलादेशबाट भएको आप्रवासनको केही प्रभाव देखिन्छ ।
अन्य धर्मावलम्बीको संख्या १९५२ । ५४ को ६८४ बाट १९८१ मा ३,७८,७७४ गणना गरिएको छ । यसमध्ये १३, ३२९ जैन र इसाई छन् । जैनको संख्या १९७१–८१ को दशकमा २, ५४१ बाट ९,४३८ भई झन्डै तीन गुना बढेको कारण पनि आप्रवासन देखिन्छ । १९८१ को गणना अनुसार ३,८९१ ड्ड इसाई छन् तर अघिको जनगणनाहरूमा इसाई सम्बन्धी आँकडा नहुनाले वृद्धि अनुमान गर्न सकिन्न ।
प्रचलित परिभाषित धर्म अनुसार गरिएको वर्गीकरणले नेपाली समाजको धर्मबारेको अनुभूति मात्र दर्शाउँछ । यो अनुभूति हो हिन्दू राज्यमा सो धर्मको शक्तिमा आधारित प्रभाव । तर नेपालको धार्मिक परिवेश यस भन्दा फराकिलो छ । पान्चायन देउताहरूमा सूर्य र देवीको आराधना हिन्दूहरूको मात्र पेवाहोइन । प्रकृति पूजा र ७ वा ९ (विजोड) देवीको पूजा पश्चिममा खस र पूर्वीया किराँतीहरूको जातीय संस्कारमा पाइन्छ । जनै पूर्णेमा तामाङ झाँकीले मान्ने महादेव (ठूलो देउता) शिवको प्रारूप हुनु आवश्यक छैन ।
नेपालमा प्रचलित धार्मिक प्रथा केलाउन मन्त्र, तन्त्र र सूत्रको क्रमबद्ध विकासको दृष्टिकोण बढी उपयुक्त देखिन्छ । सो विकास कम छुट्टा छुट्टै नभई एक–अर्कामा तन्त्र–मन्त्र, तन्त्र–सूत्र भएर जेलिएको पाइन्छ । तर प्रारंभिभक स्थिति बने श्रुति परम्परामा आधारित मन्त्र विद्या नै हो । नेपालको भौगोलिक र सामाजिक स्थिति विचार गर्दा अधिकांश जनता अझ मन्त्र युगमा नै छ भन्न सकिन्छ । यसको प्रमाण विभिन्न जातिमा झाँकीको व्यापकता होसःधामी (खस), गुरूवा (थारू), पांडे (थकाली र चेपाङ), पच्यू (गुरुङ), बोम्पो(तामाङ), झाँकी (मगर), फोम्पो ( जिरेल), नसो (सुनवार), डोपा (राई) फेदाङमा (लिम्बु) आदि ।
तन्त्र अवस्था मन्त्र विद्या भन्दा बढी परिष्कृत रूप हो र यसमा आहुति तथा लिपि माध्यमको उपयोग गरिन्छ । तन्त्र विद्या बंगालबाट प्रभावित काठमाडौंमा र भोटको बोन्योबाट प्रभावित हिमाली प्रदेशमा बढी व्याप्त पाइन्छ । सूत्र वा धर्मको दार्शनिक पक्ष समेट्ने सबभन्दा विकसित स्थिति हो र यसमा लिपिवद्ध ग्रन्थ हुन्छ । हिन्दू शास्त्र, वौद्ध कङग्यूर तेङग्यूर, ईस्लामका कुरानहरू सूत्र विद्याका परिष्कृत रूप हुन् । मन्त्र, तन्त्र र सूत्र एउटै समाजमा हाराहारी अट्टाउनपनिसक्छन् । उदाहरणको लागि गुरूङहरूको पच्यूँ संस्कार केवल मन्त्रमा आधारित छ भने क्लिब्रोको संस्कार भोटको बोन्योको प्रारूप हो र साथै लामाले शास्त्र पढ्दछ । मर्दा पर्दा यी तीनै प्रकारका पुजारीहरूको प्रयोग गरिन्छ । अझ कछाड भेगमा पच्यू वाक्लिनीलाई उम्काए पछि कियामा बाहुनलाई पनि निम्त्याइन्छ । आखिर बौद्धहरूको मृत्यु संस्कार ‘बार्दो–ढोटोल’ हिन्दूहरूको ‘गरूड पुराण’ अनुवादित रूप हो । अर्को तर्फ एक जाति भित्र बहुधर्म अनुयायीको एउटा नमूना कोचमा पाइन्छ । परम्परागत कुलान धर्म मान्ने कोच, ईस्लाम धर्मका अनुयायी तजपूरिया र हिन्दू भएकालाई राजवंशी भनिन्छ । तर उनीहरू सूत्रयुक्त धर्म माने पनि आफ्नो कोच संस्कार कायम राख्दछन् । त्यसैले अधिकांश नेपालीहरू प्रचलित धार्मिक वर्गीकरण भन्दा वास्तविक संस्कारमा बढी विश्वास राख्दछन् । सूत्रीय धर्मलाई आदर गर्दछन् तर वन, जंगल, डाँडा, पहरा, ओडार, भीर, देउराली, हिउँचुलीको व्यापक वातावरणले गर्दा धामी–झाँक्रीमा विश्वास गर्दछन् ।
नेपाली संस्कृतिको सामूहिक बखान गर्न सजिलो छैन । भौगोलिक प्रदेश अनुसार सांस्कृतिक व्यक्तित्वको सबभन्दाप्रष्टबयान नेवारीशब्दावलीमा पाइन्छ । काठमाडौँका वासिन्दाहरूको लागि नेपाली संस्कृति छ प्रकारका छन्ः तीन आन्तरिक र तीन बाहिरिया । नेपाल खाल्डोको परिभाषा अनुसार नेवारहरू ये मी, ये–ला र र खोंपे सीमित क्षेत्रभित्र र खें (पर्वते), सें (भोटे) मस्र्या (मधेसे) व्यापक क्षेत्रमा पर्दछन् ।
प्रदेशगत सांस्कृतिक भिन्नताको साथै केही क्षेत्रगत पनि औँल्याउन सकिन्छ । कर्नाली क्षेत्रमा जिउला धान खेती निकै पुरानो पद्धति हो तर हिउँदे बाली र पशुपालनको ठूलो महत्व छ । व्यापार प्रथा हिउँदमा लामो बाटो गरी सिमान्त मण्डीहरूमा जाने चलन छ । खस मल्लहरूको पालादेखिनै हिन्दू र बौद्ध धर्मको सह–अस्तित्व थियो भने यहाँको मूल देउता मस्टो र देवी मलिका हुन् । गण्डकी क्षेत्रको आर्थिक आधार कृषि र लाहुरे आम्दानी रही आएको छ । यहाँको सामूहिक चाडमा चैते दशैँको विशेष महत्व छ । खस र किराँतीहरूको समागम थलो भएको हुनाले सांस्कृतिक आदान प्रदान बढी पाइन्छ । झ्याउरे लोकगीत गण्डकी क्षेत्रको देन हो । यस क्षेत्रमा स्थानीय बजारको पनि विकास भएको पाइन्छ ।
काठमाडौं उपत्यकाको विशेषता व्यापार सुसंस्कृत कला हो । यसको आधार भोट भारत बीच व्यापार र कोदाले सघन खेती हो । धर्म र दर्शन भारतखण्डे भए पनि अन्य खर्पन र मानिसको मलको प्रयोग गर्ने संस्कार पूर्व एसियाको प्रभाव हो । नेवारी समाजमा हाल पशुपालन छैन तर राँगोको विभिन्न परिकारको विचार गर्दा प्राचीन महिपाल सभ्यताको अवशेष भन्न सकिन्छ । कोशी क्षेत्रमा विशेष गरी जाति विभिन्न्ता र वर्षे खेती पाइन्छ । यहाँका विभिन्न जातिमा रैथाने, किराँती बाहेक पश्चिममा खस, बाहुन, मगर आदि पनि छन् । यस क्षेत्रको अर्को विशेषता साप्ताहिक हाट बजार हो । हाटमा बस्तु विनिमय मात्रै होइन विभिन्न जातिको सम्पर्क र सम्बन्ध हुन्छ ।
(दलविहीन पञ्चायती प्रजातन्त्र रजत जयन्ती महोत्सव, केन्द्रीय समन्वय समितिले २०४३ पुस १ गते प्रकाशन गरेको ‘पंचायत स्मारिका’बाट ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय दूतावासमा मनाइयो ध्यान दिवस
-
पोखरामा ९ पुसदेखि पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव
-
जाडो याममा कस्ता खाना खाने ?
-
नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला
-
महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते