सिलौटो बेचेरै मासिक ४० हजार कमाइ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए ।
लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनी भन्छन्, 'सिलौटा बनाउने हाम्रो पुर्ख्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।'
इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् ।
'विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ,' सन्तराजले भने ।
सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । 'कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन,' उनले भने । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन्। सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।
व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उहाँलाई साथ दिँदै आएका छन् । 'पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ,' उनले भने ।
सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ ।
उनले एउटा सिलौटो चार सयदेखि ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दै आएका छन्। पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
-
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
-
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
-
निसम बने एनर्जेटिक प्लेयर, विपिन एमर्जिङ प्लेयर