बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २९ असोज २०८१, २२ : ००
मङ्गलबार, २९ असोज २०८१

आज २०८१ असोज २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • दलहरुका पार्टी कार्यालय

व्यवसायी मीनबहादुर र सावित्री गुरुङले काठमाडौँको कीर्तिपुरमा दान गरेको जग्गामा नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएसँगै पार्टीभित्र र बाहिरसमेत आलोचना सुरु भएको छ । व्यवसायी गुरुङले दान गरेको जग्गामा एमालेले पार्टी कार्यालय भवन बनाउने कुरामा एमाले नेतृ बिन्दा पाण्डेले सार्वजनिक रूपमै असहमति जनाएकी छन् भने अन्य केही नेताहरूले समेत त्यसलाई ‘उचित’ मानेका छैनन् ।

  • राष्ट्र बैंकको रिपोर्ट

नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक  गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ ।  यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको बैंकले जनाएको छ । 

  • धर्मशाला विवाद

राजधानीको पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी पाएसँगै मारवाडी सेवा समिति विरोधमा उत्रिँदा तनाव उत्पन्न भएको हो । 

  • शिक्षकले पाएनन् तलब

देशभरका ३९ वटा स्थानीय तहले शिक्षकहरूलाई तलब तथा चाडपर्व भत्ता नदिएको पाइएको छ ।  मासिक रूपमा तलब भत्ता उपलब्ध गराउने सरकारको नाराको खिल्ली उडाउँदै ती पालिकाहरूले शिक्षकहरूलाई साउनदेखिको तलब भत्ता उपलब्ध नगराएका हुन् । 

  • बौद्धिक अपाङ्गता

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सम्हाल्न निकै कठिन हुन्छ । उनीहरूको इच्छा र चाहना बुझ्न तथा हेरचाह सहज कार्य होइन । सामान्य बालबालिकाभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाको खानपान, जीवनशैली र व्यवहारको प्रकृति अलग हुन्छ ।

  • सकिएन दसैँ

दसैँको सार्वजनिक बिदा सकिएसँगै मंगलबारदेखि सरकारी कार्यालय खुलेका छन् । कार्यालय खुलेसँगै सेवाग्राहीहरूको कामका लागि कार्यालय समेत जान थालेका छन् । तर, देशकै सबैभन्दा ठुलो प्रशासनिक निकाय सिंहदरबारको दसैँ अझै पनि सकिएको छैन । धेरैजसो मन्त्रालय तथा निकायका हाकिमहरू कार्यालयमा उपस्थित हुन सकेका छैनन् । अर्थ, गृह, परराष्ट्र, शिक्षा, पर्यटन लगायतका केही मन्त्रालयका मन्त्री तथा सचिवहरू कार्यालयमा उपस्थित भएका छन् । ती बाहेकका मन्त्रालयका मन्त्री, सचिव तथा अन्य कर्मचारीहरू भने  उपस्थित भएका छैनन् । 

  • फेरि ठेक्का सम्झौता

बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ ।

  • काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकाको विकासमा यहाँका प्राकृतिक स्रोतहरूको कुशल व्यवस्थापनको पनि गहिरो सम्बन्ध रहँदै आएको छ । समतल भूगोल, उर्वर भूमि र नदीहरूलाई उचित व्यवस्थापन गरेरै यहाँ सभ्यता र संस्कृतिको विकास भएको देखिन्छ । 

  • नेपाल प्रिमियर लिग

नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने तयारी अगाडि बढाएको छ । प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको छ । तर, अहिले आएर एनपीएल प्रतियोगितामा नयाँ विवाद सुरु भएको छ । 

  • ‘अन्तरङ्ग’ कुराकानी

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?