मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

गोदावरी चापागाउँ क्षेत्रको बाढी प्रभावित क्षेत्रमा खानेपानी सेवा सूचारु गर्न मन्त्री यादवको निर्देशन

मङ्गलबार, २९ असोज २०८१, १८ : ५५
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले गोदावरी नगरपालिका अन्तर्गत चापा गाउँ स्थित बाढीले प्रभावित भएको क्षेत्रमा खानेपानी सेवा तत्काल सुचारु गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले आज ललितपुरको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा बाढीका कारण भएको खानेपानी मुहानको क्षतिको जानकारी लिन पुग्नु भई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरुलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री यादवले बाढी पहिरोका कारण गोदावरी नगरपालिका स्थित चापागाउँ क्षेत्रमा अवरुद्ध भएको खानेपानी सेवा आपूर्ति तत्काल सुचारु गर्न कुनै ढिलाइ नगर्न समेत निर्देशन दिए । उनले भने, “खानेपानी नागरिकको आधारभूत अधिकार हो । संघीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुर्नस्थापना कार्य सुरु गर्नु होला ।”

मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति संवेदनशील रहेको प्रस्ट पार्दै भने, “जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो, म व्यक्तिगत रुपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिँड्दिन ।”

यसैगरी उनले भविष्यमा यस्ता विपद्हरु दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो औँल्याउँदै भने, “अबको समय सङ्कट समाधान मात्र होइन, दीर्घकालीन सुधारको हो । हामी छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्दैछौँ ।” 

साथै, पुनःस्थापनामा स्थानीय समुदायको सहभागिता र सहयोग सुनिश्चित गर्न आग्रह गर्दै उनले भने, “पुनर्निर्माणमा सबैको हातेमालो आवश्यक छ । सङ्कट समाधानमा हामी सफल हुन्छौँ भन्ने विश्वास छ ।”

उनले पुनःस्थापना प्रयासमा स्थानीय बासिन्दाहरुको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भने, “तपाईहरुको सहकार्य बिना पुनःस्थापनाको प्रयास सफल हुँदैन । म विश्वास दिलाउन चाहन्छु कि पानी सेवा छिट्टै पुनः सञ्चालनमा आउँछ । यस्ता विपद्हरुमा अझ तयारीका साथ सामना गर्न हामी सक्षम हुँदैछौँ ।”

यही असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण क्षति पुर्‍याएको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रको जानकारी लिएर फर्किएका छन् । मन्त्री यादवले शुद्ध खानेपानी जनताको घर घरमा दिने सरकारको योजना र लक्ष भएकाले जनतालाई धमिलो र फोहर पानी रहित चाँडै नागरिकको घरमा सफा पानी दिन समेत मातहतका निकायहरुलाई आग्रह गरे । 

बाढी पहिरोका कारण क्षति भएको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा दीर्घकालीन रुपमा पानी सुचारुका लागि मन्त्रालय सहित सबै निकायहरु बसेर छलफल गरी नयाँ योजनाका साथ अगाडि बढ्ने मन्त्री यादवले जानकारी दिए ।

मन्त्री यादवले पानी सुचारुका लागि अविलम्ब सबै प्रक्रिया पुरा गरी पुर्नस्थापना र पुनः निर्माण कार्य सुरु गर्न निर्देशन दिएसँगै अहिले आफुहरुको प्राविधिक टोली सहित बाढीले भत्काएको मुहानको पुर्नस्थापना र पुनः निर्माणका लागि फिल्डमा खटिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक (सीईओ) अशोक पौडेलले जनकारी दिए ।

उनले भने, “मन्त्री ज्युको नर्देशन पछि अहिले हाम्रो प्राविधिक सहितको टोली फिल्डमा खटिएको छ, हामी जतिसक्दो चाडो क्षतिको ईष्टिमेट तयार गरी भत्काएको मुहानको पुर्नस्थापना र पुनः निर्माणको काम थाल्ने छौँ ।” 

उक्त क्रममा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उदयशमशेर जबरा, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुन्ना अधिकारी, केयुकेएलका प्रमुख कार्यकारी निर्देशक (सीईओ) अशोक पौडेल, खानेपानी तथा ढल निकास विभागका प्रमुख रामकुमार श्रेष्ठ लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बाढीका कारण ललितपुर जिल्लाको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा लाखौँको क्षती पुगेको छ भने बाढीले खानेपानीका पाइपहरु बगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?