मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चाको बैठक बोलाउने तयारीमा विप्लव, किन बनेन दस्ताबेज ?

मङ्गलबार, २९ असोज २०८१, १७ : ४५
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले केही दिनमै बैठक बोलाउने बताएका छन् । लामो समय बैठक बस्न नसक्दा मोर्चाको गतिविधि ठप्प भएको स्वीकार गर्दै उनले छिट्टै बैठक बस्नेबारे नेताहरूसँग छलफल भइरहेको जानकारी दिए ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भएको छलफलमा पनि मोर्चालाई क्रियाशील बनाएर लैजाने विषयमा छलफल भएको उनले बताए । विप्लवका अनुसार केही दिनअघि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग पनि छलफल भएको थियो । मोर्चालाई प्रभावकारी बनाएर लैजाने विषयमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका गरिसकेका छन् ।

‘समाजवादी मोर्चालाई क्रियाशील बनाएर लैजाने विषयमा प्रभाकरसहित अन्य नेताहरूसँग पनि कुराकानी भएको छ’, रातोपाटीसँग उनले भने, ‘केही दिनअघि घनश्याम भुसाल पनि आउनुभएको थियो । नेताहरूसँग पनि कुराकानी भइराखेका छन् । बिचमा एकपटक बैठक बस्छौँ ।’

प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते मोर्चाको बैठक बसेको थियो । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै भावी योजना बनाउने गरी मोर्चाको कार्यदललाई दस्ताबेज लेखनका लागि १५ दिनको समयसीमा दिएको थियो । तर माओवादी केन्द्रको लगातार बैठकका कारण अहिलेसम्म दस्ताबेज लेखन पुरा नभएको नेपाल समाजवादी पार्टी महिन्द्र राय यादव समूहका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

‘माओवादी केन्द्रको लगातार बैठकका कारण कार्यदलको बैठक बस्न सकेको छैन । कोही दिन कुन नेताको कोही दिनु कुन नेताको फुर्सद नहुँदा दस्ताबेज लेखनले पूर्णता पाएको छैन । तिहार अगाडि माओवादीको केन्द्रीय समिति बैठक बस्न लागिएकाले कार्यदलको बैठक बस्ने सम्भावना देखिँदैन’, कार्यदल सदस्य समेत रहेका श्रेष्ठले भने ।

साउन र भदौ महिनाभर माओवादीको पदाधिकारी, स्थायी समिति, परामर्श समिति बैठक बसेकाले मोर्चाको बैठक प्रभावित हुँदै आएको छ । मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेसपा यादव समूह र नेकपा सहभागी छन् । कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपा यादव समूहका सह-अध्यक्ष श्रेष्ठ रहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?