मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

पार्टी एकताबारे विप्लव र जनार्दनबिच एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी

मङ्गलबार, २९ असोज २०८१, १७ : १०
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो । 

काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए । छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ ।

‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसबारे थोरै समीक्षा भयो । उहाँले बुझेको र हामीले बुझेको कुरा आपसमा छलफल गर्‍यौँ । दोस्रो कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध भएर अगाडी लैजाने भन्ने विषयमा छलफल भयो । तेस्रो माओवादीबिच एकता र मोर्चाको बारेमा छलफल भयो । पार्टी एकतालाई सकारात्मक ढङ्गले लैजाऔँ भन्ने कुरा भयो । चौथो आन्तरिक बैठक बस्दैछ । त्यसमा सबैले सकारात्मक ढङ्गले पहल गरौँ । एकता र मोर्चालाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भयो । छलफल राम्रो भयो,’ छलफलबारे विप्लवले भने ।

माओवादीभित्रको वैचारिक सङ्घर्षका विषय उनीहरूको आन्तरिक विषय भएकाले सकारात्मक ढङ्गले अगाडि बढोस् भन्ने आफूले शुभेच्छा व्यक्त गरेको उनले जानकारी दिए । 

‘माओवादीभित्र पछिल्लो समय जुन वैचारिक र सैद्धान्तिक बहस भइरहेको छ । त्यो उहाँहरूको आन्तरिक विषय हुन् । बहस सकारात्मक ढङ्गले अगाडि बढोस् भनेर मैले शुभेच्छा व्यक्त गरेको छु । अध्यक्ष प्रचण्डसँग कुराकानी हुँदा पनि भएको थियो । हामीबिच जति कुरा भएका छन्, ती सकारात्मक भएका छन् । हरेक पार्टीमा वैचारिक र सैद्धान्तिक बहस हुन्छ । यसलाई सकारात्मक रूपमा हल गर्नुपर्छ’, उनले भने, ‘आज पनि यस विषयमा छलफल भयो । उहाँ पनि गम्भीर हुनुहुन्छ । जुन छलफल चलिरहेको छ, त्यो व्यक्तिगत स्वार्थ नभई सिङ्गो माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा भएको हो । प्रभाकरले उठाउनुभएको विषय पनि आन्दोलनकै विषय हुन् । यी सबै छलफललाई सकारात्मक ढङ्गले अगाडि बढाउँदा एकता र मोर्चाबन्दीलाई सहयोग पुर्‍याउँछ । सँगसँगै नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नयाँ र खुला तरिकाले अगाडि बढाऊँ भन्ने कुराकानी भए ।’

पार्टी एकता, माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा शर्मा पनि गम्भीर रहेको आफूले पाएको उनले बताए । ‘विभिन्न विकल्प छन्, ती विकल्पबारे छलफल गरौँ भन्ने कुरा भएको छ । मिलेर कसरी अगाडि बढ्ने ? एकताका आधार कसरी निर्माण गर्ने ? माओवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उहाँका कुरा सकारात्मक पाएको छु’, उनले भने, ‘प्रभाकरसँगको कुराकानी त सकारात्मक नै भयो । हामी सहयोद्धा, सहपाठी भएकाले अन्तरङ्ग कुराकानी हुनु स्वाभाविक हो । तर एकताका लागि पहिला त माओवादीले संस्थागत निर्णय गर्नुपर्‍यो नि । माओवादीले अहिलेसम्म निर्णय नै छैन । ठ्याक्कै भोलि वा पर्सी नै भइहाल्छ भन्ने कुरा सही होइन । सायद छिट्टै माओवादी नेतृत्वसँग पनि छलफल हुन्छ ।’

माओवादीले कात्तिकको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठक अगाडि सबै प्रदेशमा परामर्श समिति बैठक बसको थियो । सबै प्रदेशमा भएको परामर्शका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेज लेख्दै छन् । केन्द्रीय समिति बैठकले विप्लवका पार्टी लगायत अन्य माओवादी घटकसँग एकताबारे औपचारिक निर्णय लिने माओवादी नेताहरूले दाबी गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?