मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

आमरण अनसन बस्ने रुबी खान लगायतका आन्दोलनकर्मीहरूको चेतावनी

मङ्गलबार, २९ असोज २०८१, १६ : ३२
मङ्गलबार, २९ असोज २०८१

काठमाडौँ । बाँकेकी निर्मला कुर्मी लगायतको न्यायका लागि काठमाडौँमा आन्दोलन गर्दै आएका आन्दोलनकर्मीहरूले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । रुबी खान लगायतका आन्दोलनकर्मीहरूले आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

निर्मला कुर्मीको न्यायिक आन्दोलन अन्तर्गत पाँचौँ चरणको आन्दोलनको आज ६८ दिन पुरा भएको छ । तर, आजसम्म पनि पीडकलाई पक्राउ नगरेको भन्दै उनीहरूले जतिबेला पनि कडा रूपमा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

माइतीघर मण्डलामा धर्ना दिँदै आएका उनीहरूमा कतिपय डेंगु लागेर सिकिस्त बनेका छन् । कतिपयको नाकबाट रगत बग्ने, ज्वरो, टाइफाइड, रुघाखोकी जस्ता समस्याबाट ग्रसित भएर समेत आन्दोलन गर्दै आएका हुन् ।

सरकार र सत्तारुढ दलले निरन्तर अभियुक्तलाई संरक्षण गर्दै आएकाले यसले थप पीडा र चिन्तित बनाएको खानले बताइन् । आफूहरू निर्मला कुर्मीले न्याय नपाउँदासम्म लडिरहने बताउँदै यसमा राज्य गम्भीर बन्न नसकेको बताइन् ।

‘हामीलाई तीज र दसैँ जस्तो महत्त्वपूर्ण चाडपर्वमा समेत न्याय नदिई हामीलाई माइतीघरमा रोकेर हाम्रो मुद्दालाई र हामीलाई कमजोर बनाउन लागेको छ । यसले सरकारको महिलाप्रतिको असंवेदनशीलता र हलुका मानसिकता देखिएको छ,’ खानले भनिन् । 

आउँदो शुक्रबारसम्म सरकारले आफ्ना माग पुरा नगरेको खण्डमा जुनसुकै समयमा पनि आमरण अनसन बस्ने उनको चेतावनी छ ।

कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका थिए । उनी मन्त्री बनेपछि उनीहरूले थप आक्रोशित बन्दै आन्दोलनमा होमिएका थिए ।

उनीहरूले चर्को विरोध गरेपछि शाहले पदबाट राजीनामा दिएका थिए । बाँकेको नेपालगन्ज–१७ की निर्मला २०७५ सालमा बेपत्ता भएकी थिइन् । त्यसपछि उनको नाममा रहेको घरजग्गा समेत अरूको नाममा सारिएको थियो । 

अपहरणपछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरी परेको छ । अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित २०७८ सालदेखि आन्दोलन गर्दै आएका छन् । २०७८ को असोजमा नेपालगञ्जदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका थिए । त्यसपछि माइतीघर मण्डलामा धर्नामा बसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?